६ जेष्ठ २०८१ आइतबार
image/svg+xml
राजनीति

गोरखामा दोहोरिनेलाई नै प्राथमिकता

गोरखाका अधिकांशं स्थानीय तहमा जनप्रतिनिधि भएर पाँच वर्ष काम गरेकाहरु नै उम्मेदवार बनेका छन्। ११ मध्ये ९ वटा पालिकामा प्रमुख जितेको कांग्रेसले पाँच वटा पालिका प्रमुखमा पुरानै अनुहार दोहोर्‍याएको छ। ७ वटा पालिकामा उपप्रमुख जितेको कांग्रेसले चारवटा पालिकामा उपप्रमुख पनि पुरानैलाई दिएको छ।

दुईवटा गाउँपालिकामा प्रमुख जितेको माओवादी केन्द्रले दुवै गाउँपालिका प्रमुखलाई निरन्तरता दिएको छ भने चारवटा उपप्रमुख मध्ये दुईवटा पुरानै प्रतिनिधिलाई टिकट दिएको छ। शहीदलखन गाउँपालिका अध्यक्ष रमेशबाबु थापा, उपाध्यक्ष इन्दिरा तिवारी, बारपाक सुलिकोट गाउँपालिका अध्यक्ष बिष्णु भट्ट, उपाध्यक्ष सनमाया गुरुङलाई माओवादीले निरन्तता दिएको हो।

नेपाली कांग्रेसले गोरखा नगरपालिकामा मेयर जितेको राजनराज पन्त, पालुङटार नगरपालिकामा मेयर जितेको कांग्रेसले अहिले पनि दिपकबाबु कंडेललाई नै उम्मेदवार बनाएको छ। चुमनुब्री गाउँपालिकामा धनबहादुर गुरुङ, गण्डकी गाउँपालिका अध्यक्षमा होमबहादुर राना, धार्चे गाउँपालिका अध्यक्षमा सन्तोष गुरुङलाई कांग्रेसले यो पटक पनि अध्यक्षको उम्मेदवार बनाएको छ।

यस्तै गण्डकी गाउँपालिकामा उपप्रमुख ललिता अधिकारी, धार्चे गाउँपालिका उपप्रमुख फुलमाया गुरुङ, आरुघाट गाउँपालिका उपप्रमुख कल्पना नेपाली, सिरानचोक गाउँपालिका उपप्रमुख रिता देवकोटालाई कांग्रेसले फेरी उम्मेदवार बनाएको छ।

अधिकांश वडामा पनि पुरानै अनुहारलाई राजनीतिक पार्टीले उम्मेदवार बनाएका छन्। पाँच वर्ष काम गरेकाहरुले जनतमत पुन पाउने आशमा राजनीतिक दलले पुरानैलाई निरन्तरता दिएको नेताहरु बताउँछन्।

आफूले सुरु गरेका धेरै अधुरा काम पूरा गर्न पुन उम्मेदवारी दिएको दोहोरिएका सबैजसो भन्ने गरेका छन्। नयाँ अनुहारका उम्मेदवार भने केही नयाँ गरेर देखाउने बाचा गर्ने गर्छन्।  

पालुङटार नगरपालिकाबाट पुन मेयरको उम्मेदवार बनेका दिपकबाबु कंडेलले पाँचवर्षको अवधीमा हुन बाँकी काम अबको थप पाँच वर्षमा गर्ने योजना रहेको बताए। ‘कोभिडले यो बिचमा काम गर्न सकिएन, केही नीति निर्माण भएका छन्, जग बसेको छ, अब थप काम गर्न सजिलो हुन्छ’ उनले भने।

शहीदलखन गाउँपालिकामा पुन अध्यक्षका उम्मेदवार बनेका रमेशबाबु थापाले पाँचवर्षको अवधिमा धेरै काम भएको र योजना बनाउने तहमा काम सकिएकाले कार्यन्वयन गर्न आफ्नो उम्मेदवारी रहेको बताए।

प्रकाशित: १३ वैशाख २०७९ ०६:४८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App