१७ असार २०८१ सोमबार
image/svg+xml
राजनीति

गठबन्धनमा सकसः कतै विद्रोह कतै एक्लाएक्लै

सत्तारुढ पाँच राजनीतिक दलले वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा तालमेल गरेर जाने सहमति गरेका थिए। तर सहमतिअनुसार अधिकांश ठाउँमा साझा उम्मेदवार खडा गर्न गठबन्धनका दलहरू असफल भएका छन्।

कतिपय जिल्लाका पालिकाहरूमा गठबन्धनबीच भागबन्डा नमिल्दा दलहरूले एक्लाएक्लै उम्मेदवारी दर्ता राएका छन्। गठबन्धनका दलहरूबीचमै कतिपय स्थानमा सबैलाई सँगै लैजान नसक्दा तीव्र असन्तुष्टि उत्पन्न भएको छ भने अर्कोतर्फ भागबन्डा मिलेका केही जिल्लामा आन्तरिक व्यवस्थापन नहुँदा बढेको असन्तुष्टिले बागी उम्मेदवार खडा भएका छन्।

उनीहरूलाई व्यवस्थापन गरेर निर्वाचन परिणाम आफ्ना पक्षमा ल्याउन गठबन्धनका नेताहरूसामु थप चुनौती खडा हुने देखिएको छ। गठबन्धनका दलहरूबीच सहमति जुट्न नसके मित्रवत् प्रतिस्पर्धा गर्ने तर अन्य दलहरूसँग तालमेल नगर्ने निर्देशन शीर्ष नेताहरूले दिए पनि केही जिल्लामा गठबन्धनमा रहेका दल विपक्षी एमालेसँग मिलेर निर्वाचन प्रतिस्पर्धामा उत्रिएका छन्।

त्यतिमात्र होइन, पार्टीका शीर्ष नेताहरूले नै भागबन्डा मिलाएका ६ महानगर र ११ उपमहानगरमै नेता तथा कार्यकर्ताले त्यसलाई उल्लङ्घन गरेका छन्। केन्द्रीय नीतिविपरीत भारतपुर,पोखरासहितका महानगरपालिकामा कांग्रेसका स्थानीय नेता तथा कार्यकर्ताले बागी उम्मेदवारी दर्ता गराएका छन्। आफ्नै पार्टीभित्रको आन्तरिक विवाद व्यवस्थापन गर्न नसक्दा गठबन्धनको नेतृत्व गरेको कांग्रेसले सोमबारमात्र उम्मेदवार टुंगो लगाएको थियो। त्यसले गर्दा सत्ता गठबन्धनभित्रको विवाद व्यवस्थापन थप चुनौतीपूर्ण बन्न पुगेको छ।

उम्मेदवारी मनोनयनको अन्तिम दिन सोमबार बिहान बसेको सत्ता गठबन्धनका शीर्ष नेताहरूको बैठकले चुनावी तालमेल गरेर जान अधिकतम प्रयास गर्ने निर्णय गरेको थियो। गठबन्धनको भावनाअनुसार नै अघि बढ्न शीर्ष नेताहरूले पार्टीका नेता तथा कार्यकर्तालाई आग्रह गरेका थिए। उम्मेदवारी मनोनयन दर्तापछि पनि चुनावी तालमेल गरेर अघि बढ्न सकिने नेताहरूले जनाउँदै आए पनि सत्ता साझेदार नेकपा एकीकृत समाजवादीले गठबन्धन नै कायम नरहेको भन्दै असन्तुष्टि जनाएको छ।

सत्ता साझेदार दलहरूले कतिपय जिल्लामा आफूहरूलाई अलग्याएको भन्दै सो दलका नेताहरूले असन्तुष्टि जनाएका छन्। यद्यपि शीर्ष नेताहरूले मनोनयन दर्ता भए पनि उम्मेदवारी फिर्ताको समयसम्म गठबन्धनको भावनाअनुसार अघि बढ्न सकिने जनाएका छन्। त्यसअनुसारको गृहकार्यमा नेताहरू जुटेका छन्। ‘पाँच दलको भावना र मर्मअनुसार अगाडि बढ्ने र कतै आन्तरिक असमझदारी छन् भने तिनीहरूलाई समझदारीमा परिणत गर्ने निर्णय भएको छ,’ सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले भने, ‘जनमतलाई ध्यानमा राखी आफ्ना गतिविधि अगाडि बढाएर पाँच दलको जुन निर्णय छ, त्यही निर्णयअनुसार मनोनयन फिर्ता गर्न निर्देशन दिने कुरा भएको छ।’ केही असमझदारी रहेको स्वीकार गर्दै मन्त्री कार्कीले थपे, ‘सिट थोरै छ। योगदान गरेका धेरै साथीहरू हुनुहुन्छ। स्वाभाविक रुपले उहाँहरूको आकांक्षा हुनुलाई अन्यथा ठह¥याउन सकिन्न। तर पार्टीको जुन मर्यादा छ, अनुशासन छ र अहिलेको जुन आवश्यकता छ, त्यसलाई हृदयंगम गरेर पार्टीले जुन निर्णय गर्छ, त्यसलाई पालना गरेर अगाडि बढ्नुको विकल्प छैन ।’

गठबन्धनको निर्णयविपरीत उम्मेदवारी दर्ता गराए पनि त्यस्ता असमझदारीलाई सम्बोधन गरेर सहमतिमा ल्याउने उनले दाबी गरे। ‘केही छुटपुट उम्मेदवारी दर्ता भए तिनीहरूलाई सहमति गरेर एउटै गराइनेछ ।  गठबन्धनको निर्णयविपरीत उम्मेदवारी दर्ता गराएको भए फिर्ता हुन्छ ,’ उनले भने । माओवादीले पनि सत्ता गठबन्धनका दलहरूमा उम्मेदवारी दर्ताका क्रममा केही ठाउँमा समस्या उत्पन्न भएको स्वीकार गरेको छ। ६० प्रतिशत ठाउँमा मात्र गठबन्धनका दलहरूबीच सहमति जुटेको जनाउँदै बाँकी ठाउँमा तालमेल हुन नसकेको उसले स्पष्ट पारेको छ। पार्टी केन्द्रीय कार्यालय पेरिस डाँडामा सोमबार पत्रकार सम्मेलन गर्दै नेता कृष्णबहादुर महराले भने, ‘हामीले उम्मेदवारी फिर्ता लिने दिन वैशाख १६ सम्म सहमतिको प्रयास गर्छौं ।’

निर्वाचनको अघिल्लो दिनसम्म पनि गठबन्धन दलहरूबीचमा सहमतिको प्रयास जारी राख्ने उनले बताए।  गठबन्धन प्रतिगमनविरुद्ध भएकाले लक्ष्यमा सफल भइरहेको दाबी गर्दै उनले राजनीति सीधा हिसाबले नचल्ने हुँदा परिस्थितिअनुसार फरकफरक दलसँग सहकार्य गर्नुपर्ने अवस्था आउने बताए ।

प्रकाशित: १३ वैशाख २०७९ ०१:१४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App