१४ असार २०८१ शुक्रबार
image/svg+xml
राजनीति

गोरखामा गठबन्धन टुट्यो, कांग्रेस एक्लै चुनाव लड्ने

स्थानीय निर्वाचनको विषयमा पत्रकार सम्मेलन गर्दै नेपाली कांग्रेस गोरखा। तस्विर: नागरिक

गोरखामा कांग्रेस एक्लै चुनाव लड्ने भएको छ। कांग्रेस जिल्ला कार्य समितिको आज बसेको बैठकले स्थानीय निर्वाचनमा कांग्रेसले एक्लै चुनावी प्रतिषपर्धा गर्ने निर्णय गरेको सभापति नन्दप्रसाद न्यौपानेले बताए।

‘गठबन्धनलाई जिवित राख्न चाहान्थ्यौँ, दुःखको साथ भन्नुपर्छ केही साथीहरुको महत्वकांक्षा, राजनीतिक अपरिपक्वताका कारण गठबन्धन गरेर निर्वाचनमा जान सकेनौँ’ सभापति न्यौपानेले आज आयोजित पत्रकार सम्मेलनमा भने। कांग्रेस आफ्नो तयारीमा अघि बढेको उनले बताए। केन्द्रिय संयन्त्रले गठबन्धनका दलबिच चुनावी तालमेल हुन नसकेको खण्डमा मित्रवत प्रतिषपर्धा गर्न सक्ने भनेकाले यो निर्णयमा पुगेको उनले बताए।

‘यसअघि गठबन्धनका दलहरु बिच ८ वटा बैठक बस्यो’ गठबन्धन संयन्त्रका संयोजक समेत रहेको सभापति न्यौपानेले भने ‘चारवटै बिच सहमती नहुने भएपछि त्यसभित्र पनि सहमती खोज्यौँ, अन्ततः हामीले मित्रवत प्रतिषपर्धा गर्ने निर्णयमा पुगेका हौँ।’

शनिवार दिउँसो कांग्रेस र माओवादी बिच चुनावी तालमेल गर्ने सहमती भएको थियो। उक्त सहमती भएको विषय बाहिर आएपछि जनता समाजवादीले गठबन्धनभित्रका सबै दलबिच सहमती हुनुपर्ने दवाव दियो। केन्द्रिय नेताहरुबाट सबै दलबिच तालमेल गर्न दवाब आएपछि अन्ततः कांग्रेस एक्ला एक्लै लड्ने निश्कर्षमा पुगेको हो।

बैशाख ३० गतेको स्थानीय निर्वाचनमा ११ वटै पालिका ९४ वटै वडामा कांग्रेसको उम्मेदवार रहने नेपाली कांग्रेसका जिल्ला सभापति न्यौपानेले बताए। आजबेलुकी सम्म वडा र पालिकाको उम्मेदवारको टुङ्गो लगाउने बताउँदै उनले सोमवार सबै तहमा मनोनयन दर्ता हुने दावी गरे। ‘कांग्रेसले पार्टीको संगठनको ताकत, साथीहरुको मनोभावनालाई कदर गर्दै एक्लै जाने कार्यकर्ताको भावना अनुसार निर्णयमा पुगेका हौँ’ सभापति न्यौपानेले भने।

प्रकाशित: ११ वैशाख २०७९ ०९:३० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App