१२ असार २०८१ बुधबार
image/svg+xml
राजनीति

स्थानीय तह निर्वाचनः सुनसान रोल्पा

राजनैतिक दलहरू जनताप्रति उत्तरदायी नभएका कारण ५ वर्षमा हुन थालेको स्थानीय तह निर्वाचन सुनसान छ। मतदान गर्ने दिन आउन १९ दिन मात्र बाँकी रहँदासम्म पनि जिल्लामा चुनावको माहोल तातिन सकेको छैन। लोकतन्त्रको सौन्दर्य निर्वाचन हो तर रोल्पामा मतदाता आजसम्म पनि अन्योलमा छन्। मतदाता शिक्षा त छैन नै, उम्मेदवारहरू घरदैलोसम्म पनि पुगेका छैनन्।

उम्मेदवारी मनोनयन गर्ने अघिल्लो दिनसम्म पनि टिकट कसले पाउने टुंगो नहुँदा जिल्लामा चुनावी माहोल नतातेको हो। दलहरू अनेक झमेलामा फस्नु र गठबन्धनका कारण पनि कसले टिकट पाउछ भन्नेमै सबैको नजर परेको छ।

लोकतन्त्रको चुनावमा व्यक्तिभन्दा पाटी हावी हुनुपर्ने भए पनि रोल्पामा सबै ठूला दलका नेता र कार्यकर्ता टिकटकै मुख हेरेर बसिरहेका छन्। पछिल्लो समय चुनावमा दलभन्दा व्यक्ति हेर्न थालिएको छ। नेता र कार्यकर्ताहरू व्यक्तिवादी बनेका छन्। पाटीभित्र रहेका अनेक गुटका कारण आफूले उम्मेदवारी नपाएपछि अर्कालाई खासै सहयोग नगर्ने मनसाय बोकेका पाटी कार्यकर्ताहरू आजसम्म पनि मौन प्राय छन्।

माओवादी केन्द्रले आइतबार बिहानसम्म उम्मेदवार सार्वजनिक गरेको छैन। जिल्ला अध्यक्ष सुरेन्द्र थापा घर्ती गठबन्धनका कारण माहोल नतातिएको बताउँछन्। उनी भन्छन्, ‘टिकट फिक्स नभएपछि पनि माहोल नतातिएको हो।’

एमाले रोल्पा अध्यक्ष बालाराम बुढा उम्मेदवार छनौट हुन नसक्दा चुनावी माहोल तातिन नसकेको बताउँदै राजनीतिप्रति वितृष्णाले पनि जनतामा रहर नजागेको बताउँछन्। रोल्पा कांगे्रस सभापति किशोरकुमार आचार्य पनि टिकट फिक्स नहुँदा चुनावको माहोल नतातिएको बताउँदै गठबन्धनका कारण अन्योल भएको बताउँछन्।

पत्रकार महासंघ रोल्पा अध्यक्ष नविनलोचन मगर यसो हुनु लोकतन्त्रको उपहास भएको बताउँछन्। ‘यस्तो हुँदा निर्वाचन पवित्र हुँदैन। चुनावी परिणाम गतिलो नआउन सक्छ।’ लोचन भन्छन्, ‘यसपटक निर्वाचन व्यक्तिवादी देखिएको छ।’

ठूला दल भनिएका कांग्रेस, माओवादी र एमालेभित्रको आन्तरिक कलह र गुट अनि गठबन्धनका नाममा देखिएको अन्योल सबै कुराले यो पटकको निर्वाचन सुनसान बनेको जानकारहरू बताउँछन्।

प्रकाशित: ११ वैशाख २०७९ ०४:०६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App