१९ असार २०८१ बुधबार
image/svg+xml
राजनीति

स्थानीय तह निर्वाचन–२०७९: उम्मेदवार बन्न धमाधम राजीनामा दिँदै जनप्रतिनिधि

इलामको माई नगरपालिकाका मेयर दीपककुमार थेबेलाई पदबाट राजीनामा दिएपछि बिदाइ गर्दै नगरका कर्मचारी। तस्बिरः भीम/नागरिक

वैशाख ३० मा हुने स्थानीय तह निर्वाचनमा उम्मेदवारी दिन इलामका पालिका प्रमुख–उपप्रमुखले धमाधम राजीनामा दिएका छन्। शनिबारसम्ममा माई, सूर्याेदय, देउमाई नगरपालिकाका मेयर–उपमेर तथा माईजोगमाई गाउँपालिकाका अध्यक्ष–उपाध्यक्ष र सन्दकपुर गाउँपालिका अध्यक्षले पदबाट राजीनामा दिइसकेका छन्।

सूर्याेदय नगरपालिका प्रमुख रणबहादुर राई, उपप्रमुख दुर्गादेवी भट्टराई, माई नगर प्रमुख दीपककुमार थेबे, उपप्रमुख विष्णुमाया रिमाल र देउमाई नगरपालिका प्रमुख सूर्य पोख्रेल र उपप्रमुख पविमाया राईले पदबाट राजीनामा दिएका छन्।  

सन्दकपुर गाउँपालिका अध्यक्ष उदयबहादुर राईले पनि पदबाट राजीनामा दिएका छन्। उनी एमालेबाट पुनः अध्यक्षमा उठ्ने चर्चा छ तर आकाङ्क्षीहरू अरू पनि भएकाले टुंगो लागिसकेको छैन। माईजोगमाई गाउँपालिका अध्यक्ष जितबहादुर राई र उपाध्यक्ष सावित्रा भट्टराईले पनि पदबाट राजीनामा दिएका छन्। राई गठबन्धनको तर्फबाट पुनः अध्यक्ष र भट्टराई नेकपा (एमाले)को तर्फबाट उपाध्यक्षमै चर्चामा छन्।

पालिकाहरूका कतिपय वडाध्यक्ष, कार्यपालिका सदस्य र वडा सदस्यसमेतले पदबाट राजीनामा दिएका छन्। माईमा मेयरसहित १७ जनप्रतिनिधिले राजीनामा दिएको प्रमुख प्रशासकीय अधिकृत गणेश अधिकारीले जानकारी दिए। राजीनामा दिने जनप्रतिनिधिलाई कर्मचारीले अबिर र खादा लगाइ बिदाइ गरेका छन्।  

माईका मेयर दीपक थेबे र उपमेयर रिमालले नेकपा (एमाले)बाट माईको मेयरमा उम्मेदवारी दिने चर्चा छ। यद्यपि, थेबे, रिमाल वा अरू आकाङ्क्षीमध्ये मेयरको उम्मेदवार को बन्ने भन्ने निर्णय भइसकेको छैन। माईका वडा २ का अध्यक्ष खम्बासिंह लिम्बू, वडा ६ अध्यक्ष मुखराज आङ्देम्बे, वडा ७ का अध्यक्ष राम सदेम्बा, ९ का वडाध्यक्ष लीलाकुमार बान्तवा राई र १० वडाध्यक्ष मनबहादुर बस्नेतले राजीनामा दिएका छन्। कार्यपालिका र वडाका ५/५ सदस्यले पनि राजीनामा दिएको अधिकारीले जानकारी दिए।  

मेयर थेबेले आउँदो निर्वाचनका लागि पार्टीबाट चुनावी अभियानमा लाग्न आफूले पदबाट राजीनामा दिएको बताए। ‘निर्वाचन आचारसंहिता पालना गरी पार्टीबाट चुनावको तयारी गर्न राजीनामा दिएको हुँ,’ उनले भने, ‘मेयरको पदमा बसेर दलको चुनावी अभियानमा होमिनुभन्दा जिम्मेवारीमुक्त भएर लाग्न राजीनामा दिएको हुँ।’

सूर्याेदय नगरका मेयर राईले सत्ता गठबन्धनबाट मेयरमा उम्मेदवारी दिने चर्चा छ। उनको उम्मेदवारीको पनि निर्णय भने भइसकेको छैन। उपप्रमुख भट्टराईले नेकपा (एमाले)बाट पुनः उपाध्यक्ष पदमै उम्मेदवारी दिने निर्णय पार्टीले गरिसकेको छ। सूर्याेदय १ का वडाध्यक्ष राजकुमार सेरेङ, वडा ३ अध्यक्ष होमबहादुर कार्की, ६ का वडाध्यक्ष शिवबहादुर बस्नेत, १० का वडाध्यक्ष पेमा उग्येन लामा, ११ का अध्यक्ष टेकबहादुर राई र वडा १२ अध्यक्ष डोलेन्द्र भारद्वाजले राजीनामा दिएका छन्। सूर्याेदयका २ कार्यपालिका सदस्यले पनि राजीनामा दिएको ३ नम्बर वडाध्यक्ष कार्कीले जानकारी दिए। देउमाईका मेयर पोख्रेलले पुनः मेयरमै र उपमेयर राईले पुनः उपमेयरमै उम्मेदवारी दिने एमालेले निर्णय गरिसकेको छ।

इलाम नगरपालिका–१ का वडाध्यक्ष अम्बिका गौतम र वडा १० का अध्यक्ष रोम लुंगेलीले पनि पदबाट राजीनामा दिएका छन्। फाकफोकथुम गाउँपालिका वडा ४ का वडाध्यक्ष हरि दंगाली र वडा ७ का अध्यक्ष लोकबहादुर गोदारले पनि राजीनामा दिएका छन्। माङ्सेबुङ गाउँपालिका–५ का वडाध्यक्ष नरेन्द्रकुमार राई र वडा –६ अध्यक्ष प्रदीप साम्पाङले पनि पदबाट राजीनामा दिएको प्रमुख प्रशासकीय अधिकृत डिल्लीराम सुवेदीले जानकारी दिए।  

सन्दकपुर वडा २ अध्यक्ष गिरिराज खनाल र वडा ३ अध्यक्ष कृष्ण पाठकले पनि पदबाट राजीनामा दिएका छन्। चुलाचुली गाउँपालिका वडा ५ का अध्यक्ष चन्द थापाले पनि पदबाट राजीनामा दिएको गाउँपालिका अध्यक्ष प्रदीपचन्द्र राईले जानकारी दिए।

प्रकाशित: १० वैशाख २०७९ १३:४७ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App