१ पुस २०८१ सोमबार
image/svg+xml
राजनीति

दाङका दुई उपमहानगरः गठबन्धन र एमालेबीच टक्कर

सत्तारुढ गठबन्धनले भागबण्डा मिलाएसंगै जिल्लाका दुई उपमहानगरपालिकामा ५ दलीय गठबन्धन र नेकपा एमालेकाबीचमा प्रतिष्पर्धा हुने निश्चित भएको छ। बुधबार गठबन्धनका शिर्ष नेताहरुले यहाँका घोराही र तुलसीपुर उपमहानगरपालिकामा तालमेल गरेर चुनावमा जाने र उपमहानगरको नेतृत्वको भागबण्डा समेत गरिसकेका छन्। 

जिल्लाको घोराही उपमहानगरको नेतृत्व माओवादी केन्द्रले पाउने र तुलसीपुर उपमहानगरको नेतृत्व नेपाली कांग्रेसले पाउने गरि सहमती भएको छ। यी दुबै उपमहानगरमा गत स्थानीय तहको निर्वाचनमा नेकपा एमाले मेयर र उपमेयर दुबै पदमा निर्वाचित भएको थियो।

गठबन्धनमा रहेका दलहरुबीच भएको सहमती अन्तर्गत घोराही उपमहानगरपालिकामा माओवादीका हेमराज शर्मा र एमालेका नरुलाल चौधरीबीच मेयरका लागि प्रतिष्पर्धा हुने देखिएको छ। माओवादीले शर्मालाई बुधबार मेयरको उम्मेदवारकारुपमा सिंगल नाम सिफारिस गरेको छ। 

‘घोराही उपमहानगरको नेतृत्व माओवादीले पाउने सहमति बमोजिम माओवादी केन्द्रको घोराही नगर कमिटिले हेमराज शर्माको नाम मेयरका लागि सिफारीस गरेको छ,’ नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य निर्मल आचार्यले नागरिकसंग भने, ‘उहाँको नाममा सबैको सहमति भएपछि उहाँको नाम सिंगल सिफारिस भएको छ।’

यसैगरि यो उपमहानगरको मेयरका लागि एमालेबाट पुनः अहिलेकै मेयर नरुलाल चौधरी दोहोरिन खोज्ने सम्भावना उच्च देखिएको छ। एमाले स्रोतका अनुसार चौधरी नै पुनः मेयरको उम्मेदवार बन्न सक्ने सम्भावना उच्च छ। अहिलेकै मेयरलाई पुनः निर्वाचनमा सहभागी गराएर मतदाताको भोट तान्न सकिने रणनीतिमा एमाले छ। गठबन्धनसंग जुध्नुपर्ने भएकाले पनि मेयरको एक कार्यकाल पूरा गरिसकेका व्यक्ति सफल हुन सक्ने भन्दै एमालेको जोडबल नरुलाल चौधरीमाथि नै रहने एमाले स्रोत बताउँछ।  

उता गठबन्धनकातर्फबाट कांग्रेसले नेतृत्व पाएको तुलसीपुर उपमहानगरपालिकामा भने कांग्रेसका तर्फबाट गेहेन्द्र गिरी र एमालेबाट टिकाराम खड्काकाबीचमा प्रतिष्पर्धा हुने उच्च सम्भावना देखिएको छ। कांग्रेसका गिरी पूर्व सांसद तथा नेपाली कांग्रेसका अहिलेका केन्द्रीय सदस्य हुन्। उनी गत महाधिवेशनबाट कांग्रेस केन्द्रीय सदस्यमा निर्वाचित भएका हुन्। गिरी यसअघिको स्थानीय तहको निर्वाचनमा पनि तुलसीपुर उपमहानगरको मेयरका उम्मेदवार बनेका थिए। 

तर उनलाई एमालेका घनश्याम पाण्डेले पराजित गरेका थिए। ‘कांग्रेसबाट मेयरका उम्मेदवार गेहेन्द्र गिरी नै हुने पक्का पक्की जस्तै हो,’ कांग्रेसका एक नेताले भने, ‘उहाँले पनि मेयरमा आफ्नो आकांक्षा देखाई सक्नु भएको छ।’ यता एमालेबाट यसअघि निर्वाचित घनश्याम पाण्डे भने अहिले मेयरको रेसबाट बाहिरिएका छन्। उनको स्थानमा अहिले टिकाराम खड्का मेयरका प्रतिष्पर्धीका रुपमाअघि सरेका छन्। उनी उमालेका पूर्व जिल्ला अध्यक्ष हुन्।  

दुबै उपमहागरमा गठबन्धन बिरुद्ध एमालेको एकल लडाईँ सामान्य भने देखिन्न। गत स्थानीय तहको मत परिणामलाई हेर्ने हो भने एमालेका लागि आगमी स्थानीय तहको निर्वाचन कठिनपूर्ण हुने देखिन्छ। अघिल्लो स्थानीय तहको निर्वाचनमा एमालेका नरुलाल चौधरीले २२ हजार ३० मत प्राप्त गर्दै मेयरमा निर्वाचित भए। दोस्रो दल बनेको कांग्रेसले १७ हजार ४ सय ८४ र तेस्रो दल बनेको माओवादी केन्द्रले १२ हजार ८२ मत प्राप्त गरेको थियो। 

गठबन्धनमा रहेका दुई दल कांग्रेस र माओवादीको त्यो बेलाको मतलाई जोड्दा २९ हजार ५ सय ५६ हुन आउँछ। यो मत एमालेको भन्दा ७ हजार ५ सय २६ ले बढि हो। तर अहिले यो उपमहानगरमा थपिएको  मत नै निर्णायक हुन्छ। अहिले कुल १ लाख १२ हजार ९ सय २७ मतदाता रहेको यो उपमहानगरमा गत स्थानीय तहको निर्वाचन यता मात्रै ३५ हजार ४ सय ८५ मतदाता थपिएका छन्।  

यसैगरि २२ हजार ८ सय ५७ मत प्राप्त गर्दै तुलसीपुर उपमहानगरमा बाजी मारेको एमाले भन्दा झण्डै चार हजार कम १९ हजार ९ सय ३ मत प्राप्त गर्‍याे। माओवादीले ८ हजार ६ सय ९३ मत प्राप्त गर्यो। गठबन्धनमा आवद्ध कांग्रेस र माओवादीको मतलाई जोड्ने हो भने २८ हजार ५ सय ९६ मत पुग्छ। यो गत चुनावमा एमालेले प्राप्त गरेको भन्दा ५ हजार ७ सय ३९ बढि मत हो। तर यो उपमहानगरमा अहिले थपिएको मतदाता संख्या ३० हजार बढि छ।

प्रकाशित: ७ वैशाख २०७९ १४:०७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App