२२ जेष्ठ २०८१ मंगलबार
image/svg+xml
राजनीति

गठबन्धनलाई भागबण्डा मिलाउन सकस

सत्तारुढ गठबन्धनमा आबद्ध दलहरुबीच कैलालीमा भागबण्डा मिलाउन सकस भएको छ। सुदूरपश्चिम भरीमै एक उपमहानगरपालिका र सबैभन्दा बढी स्थानीय तह रहेको कैलालीमा नेपाली कांग्रेस, माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीबीच भागबण्डामा सहमति जुट्न नसकेको हो। जिल्ला स्तरमा पटक पटक बसेको गठबन्धनको बैठकले सहमति जुटाउन नसकेपछि कैलालीका स्थानीय तहको भागबण्डाका लागि गठबन्धनको प्रदेश समितिलाई जिम्मा लगाइएको छ।

सत्तारुढ गठबन्धनले केन्द्रमा सैद्धान्तिक सहमति गरेर बनाएको भागबण्डाको मापदण्डका आधारमा सिट बाँडफाँडमा सहमति जुट्न नसकेको नेपाली कांग्रेस कैलालीका महामन्त्री केशव मिश्रले बताए। जुन स्थानीय तहको अध्यक्ष वा प्रमुखमा जस्ले जितेको छ, त्यहाँ उसै राजनीतिक दललाई प्राथमिकता दिने‘गाईड लाईन’ मा उल्लेख रहेको उनले बताए। एमालेसँग नेतृत्व रहेको पालिकामा जस्ले दोश्रो बढी मत ल्याएको छ उसलाई प्राथमिकता दिएर भागबण्डा गर्ने भनिएको उनको भनाई छ। 

माओवादी केन्द्रले र नेकपा एकीकृत समाजवादीले ५, ५ स्थानीय तहको नेतृत्वमा दावी गरेका छन्। सुदूरपश्चिमको एक मात्र उपमहानगरपालिका धनगढीको मेयर नेपाली कांग्रेसलाई दिनेमा भने सहमति जुटेको छ। गत निर्वाचन नेपाली कांग्रेसले धनगढी उपमहानगरपालिका मेयर, जोशीपुर गाउँपालिका, बर्दगोरिया गाउँपालिका र जानकी गाउँपालिकाको अध्यक्षमा चुनाव जितेको थियो। भने, १३ स्थानीय तह मध्य ७ स्थानीय तहको नेतृत्वमा नेकपा एमाले विजयी भएको थियो। गोदावरी नगरपालिका, गौरिगंगा नगरपालिका, घोडाघोडी नगरपालिका, लम्की चुहा नगरपालिका, टीकापुर नगरपालिकाको प्रमुख, मोहन्याल गाउँपालिका र चुरे गाउँपालिकाको अध्यक्षमा एमालेले जितेको थियो।

माओवादी केन्द्रले भजनी नगरपालिकाको प्रमुख र कैलारी गाउँपालिकाको अध्यक्षमा जितेको थियो। एमालेबाट चुनाव जितेका ७ स्थानीय तहको प्रमुख र अध्यक्ष मध्य एक जना पनि नेकपा एकीकृत समाजवादीमा छैनन्।  

नेपाली कांग्रेसले १० स्थानीय तह, माओवादी केन्द्रले ६ र नेकपा एकीकृत समाजवादीले ५ स्थानीय तहको नेतृत्वमा दावी गरेको नेपाली कांग्रेस कैलालीका महामन्त्री मिश्रले बताए। सहमतिका लागि मंगलबार गठबन्धनको प्रदेश समितिमा छलफल चलिरहेको छ। नेपाली कांग्रेसको नेतृत्व रहेको ४ स्थानीय तह र माओवादी केन्द्रको नेतृत्व रहेको २ स्थानीय तहमा उनीहरुलाई छोडेर एमालेको नेतृत्व रहेको ७ स्थानीय तहको नेतृत्वमा तीन दलबीच भागबण्डा लगाएर सहमति खोज्ने गरी छलफल भैरहेको छलफलमा सहभागी एक नेताले बताए।

नेपाली कांग्रेसको केही स्थानीय तह स्तरको कमिटीले गठबन्धन नगरी एक्लै चुनाव लड्ने निर्णय गरेर उम्मेदवारका नाम माथिल्लो कमिटीमा सिफारिस गरेका छन्। 

प्रकाशित: ६ वैशाख २०७९ १३:१६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App