१२ असार २०८१ बुधबार
image/svg+xml
राजनीति

धरानको मेयरमा कांग्रेसबाट ९ जना र उपमेयरमा १० जना सिफारिस

वैशाख ३० गतेको स्थानीय तह निर्वाचनको लागि नेपाली कांग्रेस धरान उपमहानगर समितिले मेयरमा ९ जना र उपमेयरमा १० जना उम्मेदवारका आकांक्षीहरुको नाम सिफारिस गरेको छ।

कांग्रेस धरानको आज (मंगलबार) बसेको बैठकले मेयर र उपमेयरमा आकांक्षी उम्मेदवारहरुको नाम जिल्ला कार्यसमितिलाई सिफारिस गरेको हो। मेयरमा २ महिलासहित ९ जना आकांक्षी छन्। यस्तै, धरानका बहालवाला मेयर तिलक राईसमेत आकांक्षी छन्। उनले कम्युनिष्ट गढ धरानमा २०७६ को उपनिर्वाचनमा तत्कालीन नेकपा उम्मेदवारलाई हराउँदै कांग्रेसलाई ऐतिहासिक जित दिलाएका थिए।

कांग्रेस उपमहानगर सभापति श्याम पोखरेलका अनुसार मेयरको उम्मेदवारका आकांक्षीहरु तिलक राई, कांग्रेस प्रदेश १ का महामन्त्री उमेश थापा, कांग्रेस सुनसरी क्षेत्र नं १ का सभापति सुजेन्द्र तामाङ, कांग्रसको महासमिति सदस्य पर्वत राई, जिल्ला सदस्य किसोर राई, महासमिति सदस्य श्यामा रेग्मी, कांग्रेस सुनसरी क्षेत्र १ (२) का सदस्य अजय राई, दलित संघका प्रदेश १ सभापति गोविन्द्र दर्नाल र पूर्वमहाधिवेशन प्रतिनिधि मिना पुलामी सिफारिस भएका छन्।

यसैगरी, उपमेयरमा उर्मिला प्रधान, शिला ब्रजाचार्य, निलकुमारी थापा गिरी, कुसुम ओली आचार्य, निर्मला शाक्य, मनिता घिमिरे, हिमाल राई, झुमा राई, सन्तोष बिक र कोपिला भट्टराई सिफारिस गरिएको धरान सभापति पोखरेलले जानकारी दिए। मेयर र उपमेयरका आकांक्षीहरुको नाम जिल्ला कार्यसमितिलाई पठाइएको पोखरेलले बताए। उनले भने, ‘सिफारिस गर्नुपर्ने अन्तिम दिन भएकोले नगर कार्यसम्पादन समितिको बैठक बसेर सबैको राय, सल्लाह अनुसार निर्णय गरेका छौं। सिफारिस भएका जो सुकै नेताले उम्मेदवारको टिकट ल्याएर आएपनि इमान्दारिताका साथ जिताउन लाग्ने बैठकले निर्णय गरेको छ।’

मेयर र उपमेयरका आकांक्षीहरुको नाम सिफारिस गरेपनि चुनावी गठबन्धन गर्दा धरानमा कांग्रेसको भागमा मेयर मात्र पर्ने सम्भावना छ। धरानमा गठबन्धनको नगरस्तरीय संयन्त्रको बैठकले मेयर कांग्रेस र उपमेयर माओवादी केन्द्रलाई दिने लगभग सहमति गरिसकेको छ।

प्रकाशित: ६ वैशाख २०७९ १०:१५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App