१९ असार २०८१ बुधबार
image/svg+xml
राजनीति

कास्की कांग्रेस भन्छः गठबन्धनको निर्णय मान्दैनौ, पोखरामा आफ्नै उम्मेदवार उठाउँछौ

जिल्लास्तरका नेतामाथि अन्याय

एकीकृत समाजवादीले पोखरा महानगर पाउने निश्चित जस्तै भएको भन्दै कास्की कांग्रेसमा ब्यापक असन्तुष्टि चुलिएको छ। सत्तारुढ गठबन्धनको शीर्ष नेताको बैठकले छ वटा महानगर बाँडफाँड गर्दै एकीकृत समाजवादीलाई पोखरा दिनेबारे सहमति नजिक पुगेको नेताहरुले बताएका छन।  

पार्टीका शीर्ष नेताको निर्णयले जिल्लास्तरमा भने असन्तुष्टि चुलिएको छ। गठबन्धनका शीर्ष नेताको बैठक र पार्र्टीको केन्द्रले गरेको निर्णय समेत मान्य नहुने कास्की कांग्रेसले बताएको छ। गठबन्धनका शीर्ष नेताहरुको सोमबारको बैठकले छ वटा महानगरमध्ये तीनवटा महानगर कांग्रेसले राखेर बाँकी तीनवटा माओवादी, एकीकृत समाजवादी र जसपालाई एकएकवटा दिनेबारे छलफल गरेका थिए।

तर, पोखरामा कांग्रेसले दावी गर्दै आएको थियो। पोखरामा कांग्रेसको उपस्थिति बलियो रहेको भन्दै दावी गरेपनी शीर्ष नेताका कारण अवसर गुम्न खोजेको भन्दै नेताहरुले असन्तुष्टि जनाएका छन्। सत्ता गठबन्धनका दलहरुबीचको भागबण्डाका आधारमा एकीकृत समाजवादीले पोखरा महानगर पाउने अवस्था आएको खण्डमा भिन्दै उम्मेदवार उठाउने चेतावनी कांग्रेस कास्कीले दिएको छ। कांग्रेस कास्कीले सोमबार विज्ञप्ती प्रकाशित गर्दै एकीकृत समाजवादीले पोखरामा अस्वभाविक दावी गरेकोले त्यसमा सहमति हुन नसकेको कांग्रेसले बताएको छ।  

कांग्रेस कास्कीका सचिव भानुभक्त ढकाल र देवेन्द्र रानाभाटले विज्ञप्ती जारी गर्दै जिल्ला संयन्त्रबाट निर्वाचन तालमेल गर्ने क्रममा एकीकृत समाजवादीसँग छलफल हुँदा पनि एकीकृत समाजवादीको अस्वभाविक दवावका कारण निष्कर्षमा पुग्न नसकेको उल्लेख गरिएको छ। ‘जनमत र मतभारका आधारमा पोखराको मेयरको उम्मेदवार कांग्रेसले पाउनुपर्छ भन्ने हाम्रो दावी हो। तर, एकीकृत समाजवादीले अस्वभाविक दावी गरेपछि हामीले  आफ्नै तरिकाले अघि बढ्ने निष्कर्षमा पुगेका हौ,’ सचिव ढकालले भने, ‘गठबन्धनबाट एकीकृत समाजवादीलाई छाडेर अघि बढ्छौ।’  

सत्ता साझेदारका शीर्ष नेताहरुले पोखरा बारेमा गरेको निर्णय पनि जिल्लास्तरमा मान्य नहुने ढकालले बताए। ‘भकारीको धान डालोमा हाल्ने होईन, डालोको धान भकारीमा हाल्ने हो,’ उनले भने, ‘अब पोखरा महानगरमा कांग्रेसले विधिवत रुपमा उम्मेदवार तय गरेर अघि बढ्छ।’ एकीकृत समाजवादीसँग स्थानीय निर्वाचनमा मैत्रीपूर्ण र स्वच्छ प्रतिश्पर्धा सहित जाने निर्णय भएको पनि विज्ञप्तीमा उल्लेख छ।  

बलिको बोको बर्नाइयो

एकीकृत समाजवादीलाई भागबण्डाको आधारमा पोखरा सुम्पदा कांग्रेसका जिल्लास्तरका नेतामाथि अन्याय भएको नेताहरुले बताएका छन। केही नेताको स्वार्थपूर्ति र सत्ता टिकाउनका लागि कास्कीलाई बलिको बोको बनाएको भन्दै जिल्लास्तरका नेताले असन्तुष्टि पोखेका छन्। ‘निहीत नेताको सत्ता टिकाउन हामीलाई बलिको बोको बनाइएको छ। तर हामीले त्यो चुनौती चिर्न कठिन भयो,’ कांग्रेसका एकजना जिल्लास्तरका नेताले भने, ‘कांग्रेसले अहिले गतिलो अवसर गुमाउँदैछ भन्ने थाहा पाएर पनि बाध्यात्मक अवस्था सिर्जना गरिएको छ।’

पोखराको मेयरको उम्मेदवार बन्न चाहेका नेताहरु गठबन्धनको नाममा अहिले एकीकृत समाजवादीलाई दिन खोज्दा अवसर गुमेको भन्ने उनीहरुको गुनासो छ। ‘अहिले गठबन्धनका नाममा हाम्रो अवसर गुमेको छ। मेयरका आकांक्षीको चित्त दुखाई छ। राजनीतिमा होमिएको ठुलो तप्काका क्रियाशिल नेताहरुले मेयरको उम्मेदवार बन्न आकांक्षा राखेपनि अहिलेका लागि अवसर गुमेको ती नेताले बताए।

‘पोखरा महानगरमा अघिल्लो पटक एमालेले जितेको र अहिले फुटको असर पर्दा कांग्रेसलाई अवसर थियो। तर, राष्ट्रिय राजनीतिमा गठबन्धने गर्दा अवसर गुमाउनुपर्ने अवस्था आाएको उनले बताए। ‘लामो समय कांग्रेसमा रहेर निष्ठाको राजनीति गरेका आकांक्षीहरु खुसी छैनन,’ ती नेताले भने, ‘गठबन्धनले गर्दा अवसर गुमेको छ। चुनाव भन्ने कुरा हरेक महिना वा वर्ष आउने नभई पाँचवर्षको अन्तरालमा आउने भएकोले यो बेला आकांक्ष राख्नु स्वभाविक हो । तर, उम्मेदवार बन्ने अवसर समेत गुमाउनुपरेको छ।’

‘सानो आकारको मतदातालाई ठुलो आकारको मतदानले जिताउनुपर्ने बाध्यात्मक अवस्था आउन थालेको छ। यदी पोखरामा कांग्रेस कमजोर भएको भए चित्त बुझ्थ्यो। तर, गठबन्धनका दलहरुमध्ये सबैभन्दा ठुला हिस्सा कांग्रेसले ओगट्ने हुँदा असन्तुष्टि चुलिनु स्वभाविक हो,’ उनले भने।  

कांग्रेस कास्कीका सचिव देवेन्द्र रानाभाटले केन्द्रको खटपटमा अल्झिनुपरेको बताए। ‘गठबन्धनका दलहरु बारम्बार वार्तामा बस्यौ। दशौंपटक बैठक बस्यौ। तर केन्द्रको खटपटमा अल्झियो,’ उनले भने। कांग्रेसले पोखरा महानगर गुमाउनुपर्दा नेताहरु खुसी नभएको उनले बताए। ‘लामो समयदेखि राजनीतिमा होमिएका, निष्ठाको राजनीति गरेका  नेताहरुले उम्मेदवार बन्न नपाएर अवसर गुमाउने अवस्था आयो,’ रानाभाटले भने।  

प्रकाशित: ५ वैशाख २०७९ १०:४२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App