३१ वैशाख २०८१ सोमबार
image/svg+xml
राजनीति

कांग्रेसमा मनोमानी उम्मेदवार सिफारिसले विवाद

घोराही उपमहानगरपालिका–१५ को वडाध्यक्षका लागि ६ जना आकांक्षी देखिए। उम्मेदवारीमा आफ्नो दाबी गरेका ६ मध्ये २ जना बलिया दाबेदार थिए। तर यो वडा एकाइ समितिले अन्य आकांक्षीसँग सहमतिका लागि प्रयास नै गरेन। एकलौटी रूपमा एक जनालाई मात्रै वडा अध्यक्षको उम्मेदवार सिफारिस गरिदियो। त्यसो त वडाले गरेको यो निर्णय कांग्रेसको विधानविपरीतको कदम थियो।

नेपाली कांग्रेसको विधान २०१७ नवौं संशोधन २०७५ को परिच्छेद ८ को ३२ को १ (क) अनुसार गाउँ, नगर वडाको अध्यक्ष र सदस्यको उम्मेदवारीका लागि वडा कार्य समितिले योग्यता पुगेका व्यक्ति मध्यबाट अध्यक्षमा एक महिलासहित बढीमा ३ जना र सदस्यमा प्रत्येक एक सिटका लागि एक महिलासहित बढीमा ३ जनाको नाम सिफारिस गरी पठाउनुपर्ने व्यवस्था छ।

वडाको विधानविपरीतको कदमविरुद्ध वडाध्यक्ष पदका उम्मेदवार आकांक्षी सुदीप गौतमले उजुरी हालेका छन्। ‘उम्मेदवार चयनका विषयमा एकलौटी ढंगबाट वडा एकाइले निर्णय गर्‍यो, जबकी म आकांक्षीसँग कुनै छलफल समेत गरिएन,’ गौतमले भने, ‘पार्टीको विधान मिचेर गुटगत विचारका आधारमा गरिएको निर्णय मलाई मान्य छैन, मैले कांग्रेसको नगर समितिदेखि केन्द्रीय समितिसम्म नै उजुरी हालेको छु।’

यो वडाले अहिलेकै वडा अध्यक्ष रमेशकुमार पाण्डेलाई एकल उम्मेदवारका रूपमा सिफारिस गरेको छ। कांग्रेसको संस्थापन इतर समूहलाई पेलेरै जाने मनस्थितिमा रहेको संस्थापन पक्षले उम्मेदवार सिफारिसका सम्बन्धमा विधान मिचेरै निर्णय गरेको कांग्रेस वृत्तमा चर्चा चलिरहेको छ। यसैगरी, यही वडाकै सदस्यको उम्मेदवार आकांक्षी गुरु गौतम पनि अहिले वडा समितिदेखि रुष्ट छन्।

नेविसंघको राजनीतिमा सक्रिय उनी अहिले वडा सदस्यको आकांक्षी थिए। तर उनी पनि गुटगत निर्णयको मारमा पिल्सिए। उनको पनि नाम सिफारिस नै भएन। ‘मैले वडा सदस्यको आकांक्षीका रूपमा आफ्नो आकांंक्षा राखेको थिएँ, पहिलो दिन नाम टिपियो पनि,’ गौतमले भने, ‘तर पछि मेरो नाम काटिएछ, मेरो नामै सिफारिस गरिएनछ।’

उनीसँग पनि वडा समितिले कुनै छलफल नै गरेन। ‘कि त सहमतिका लागि हामीलाई छलफल गराउनुपथ्र्यो, त्यो पनि गराइएन,’ गौतमले भने, ‘यसरी आफूलाई मन लाग्यो भन्दैमा वा आफ्नो गुटको हैन भन्दैमा नाम काट्ने अधिकार पार्टीको बिधानको कुन बुँदाले दिएको छ ?’ वडा समितिले दुई खुला सदस्यका लायि अन्य आकांक्षीको नाम काटेर दुई जनाको नाम मात्रै सिफारिस गरेको छ।

यता पार्टीको विधान मिचेर आफूपक्षीय व्यक्तिलाई मात्रै उम्मेदवारका रूपमा सिफारिस गरेका वडा सभापति सुनिल कुमार देवकोटाले यसबारेमा मुख खोल्नै मानेनन्। तर अहिलेको सिफारिस बदर हुन सक्ने पनि उनले बताए। ‘सिफारिस भएको मात्रै त हो नि,’ उनले भने, ‘उम्मेदवार चयन नै भइसकेको त हैन, यो बदर पनि हुन सक्छ।’

एकलौटी ढंगबाट गुटगत स्वार्थ बमोजिम कांग्रेसको विधान नै मिचेर गरिएका यस्ता निर्णयले चुनावको मुखैमा कांग्रेसीमा थप चिसो बढाएको छ। त्यसो त, कांग्रेसको महाधिवेशनले कैयन असन्तुष्ट मनहरू ऋहिले सम्म माझिईसकेका छैनन्। लगत्तै स्थानीय तहको निर्वाचनको मुखैमा इतर पक्षलाई थप असन्तुष्ट बनाउने कांग्रेसी स्वार्थले चुनावमा थप तिक्तता निम्तने हो कि भन्ने खतरा देखिन्छ।

घोराही उपमहानगरको १५ नम्बर वडामा मात्रै हैन, जिल्लाका थुप्रै वडामा कांग्रेसका निर्णय एकपक्षीय भएका छन्। घोराही उपमहानगरकै वडा नम्बर १७ मा वडा अध्यक्षका आकांक्षी १४ जना थिए। यी १४ जनामध्ये कसैसँग पनि छलफल गरिएन। यो वडामा पनि एकलौटी ढंगबाट कांग्रेस वडा सभापति बुझाउना चौधरीले वडाध्यक्षको उम्मेदवारका रूपमा आफ्नो नाम मात्रै सिफारिस गरे।

अन्य आकांक्षी अहिले वडा कांग्रेसको एकल निर्णयप्रति रुष्ट बनेका छन्। यो वडाको वडाध्यक्षका आकांक्षी सन्तोष योगी पनि थिए। यो वडाका कांग्रेस निवर्तमान सहसभापति योगीले आफ्नो नाम सिफारिस नगरिएको बाहिरी हल्लाबाट मात्रै थाहा पाए।

‘म पनि वडा अध्यक्षको आकांक्षी थिएँ, तर मसँग वडाध्यक्षको एकल उम्मेदवार चयन गर्ने विषयमा कुनै छलफल नै गरिएन,’ उनले भने, ‘तानाशाही ढंगबाट सभापतिले आफ्नो नाम मात्रै वडाध्यक्षको रूपमा सिफारिस गरे, यो सरासर कांग्रेसको विधानविपरितको कदम हो।’

घोराही–९ का अमरराज भण्डारी पनि यो वडाको वडाध्यक्षका आकांक्षी थिए। उनीसहित आकांक्षी धेरै भएपछि भण्डारीले आफू सदस्यमै भए पनि बस्न तयार रहेको कांग्रेस वडा समितिको छलफलमै बताए। तर वडा सदस्यका लागि ८ जनाको नाम सिफारीस गर्दा पनि उनको नाम यो सूचीमा परेन।

भण्डारीका अनुसार वडा अध्यक्ष तथा वडा सदस्यहरूको नाम सिफारिस गत कांग्रेसको महाधिवेशनका बेला बनेको पार्टीको गुटअनुसार मात्रै चयन भए। ‘महाधिवेशनका बेला आफ्नो समूहमा रहेकाहरूको मात्रै नाम सिफारिस भए,’ भण्डारीले भने, ‘तर त्यो समूहको इतर रहेका हामीहरू कसैको पनि नाम सिफारिस भएन, आफ्नो गुटका मान्छेको नाम मात्रै एकलौटी ढंगबाट सिफारिस गरियो।’

घोराही उपमहानगरका विभिन्न वडामा देखिएको उम्मेदवार सिफारिसको कचिंगलको समाधानका लागि वडा भन्दा माथिल्ला एकाइ सहजीकरणमा लाग्ने बताउँछन्। कांग्रेस क्षेत्र नम्बर २ (क) का सभापति प्रकाश श्रेष्ठले केही वडामा असन्तुष्टि देखिएको बताए। १५ नम्बर वडाको उम्मेदवार सिफारीस प्रकरणका विरुद्ध परेको उजुरीउपर आफूहरूले छलफल गरिरहेको उनले बताए।

‘पहिला यो वडामा एकलौटी ढंगबाट सिफारिस गरिएको हो कि भन्ने मलाई पनि लागेको थियो, हामीले वडालाई सोध्दा वडाको कार्य समितिको निर्णय अनुसार गरिएको हो भन्ने कुरा आएको छ,’श्रेष्ठले भने, ‘हामीहरूले त्यो बेला वडाले गरेको निर्णयको प्रतिलिपी मागेका छौँ, के निर्णय भएको रहेछ, त्यो हेरेपछि थाहा हुन्छ।’

घोराही उपमहानगरका वडामा देखिएको एकलौटी उम्मेदवार सिफारिस विधानविपरीत भएको कांग्रेसका नगरस्तरीय नेताहरू बताउँछन्। तानाशाही ढंगबाट विधान मिचेरै गरिएका यस्ता निर्णयले कांग्रेसीमा दुरी बढ्ने खतरा रहेको र यसले आगामी स्थानीय तहको निर्वाचनमा गलत प्रभाव पर्न सक्ने खतरा रहेको तत्कालीन घोराही नगरको सभापति पदमा उम्मेदवार बनेका निरज गिरीले बताए।

‘कांग्रेसको विधान अनुसार जानुपर्नेमा विधान नै मिचेर शक्तिको आडमा तानाशाही ढंगले उम्मेदवार सिफारिस गर्नु हामी कांग्रेसका लागि निकै लाजमर्दो कुरा हो,’ गिरी भन्छन्, ‘आफ्ना र आफ्नो गुटका मान्छे मात्रै च्याप्ने पवृत्ति अहिले उम्मेदवार सिफारिसका क्रममा देखियो, यसले कांग्रेसीबीच नै बेमेल पैदा गरेको छ, जुन निर्वाचनका लागि घातक बन्न सक्छ।’

उनले अहिले देखिएको उम्मेदवार सिफारिसको गलत कदम सच्याएर सबैलाई अपनत्व हुने खालको निर्णय गरिनुपर्नेमा समेत जोड दिए। वडाध्यक्ष वा वडा सदस्यको आकांक्षा गरिरहेकाहरूका लागि उम्मेदवारका रूपमा सिफारिस हुनुलाई पनि राजनीतिक यात्राको ठूलो खुड्किलोका रूपमा गिरीले लिन्छन्।

उम्मेदवारकारूपमा सिफारिस भए मात्रै पनि जनप्रतिनिधि बन्ने प्रक्रियामा प्रवेश हुने तर एकलौटी ढंगबाट उम्मेदवार चयन नै नगरिँदा जनप्रतिनिधि बन्न्ने बाटो नै बन्द हुने गत कांग्रेस महाधिवेशनमा दाङ क्षेत्र नम्बर २ का सचिव पदका उम्मेदवार बनेका सन्तोष योगी बताउँछन्।

‘उम्मेदवारका रूपमा सिफारिस भए मात्रै पनि पार्टीमा आफूले गरेको लगानीको मूल्यांकन गर्ने अवसर आकांक्षीलाई हुन्छ,’ योगी भन्छन्, ‘तर एकलौटी ढंगबाट आफ्नो निहित स्वार्थका लागि जसरी सिफारिस नै गरिन्न, सिफारिसबाट वञ्चित हुनेहरूका लागि मनोबल, उत्साह स्वतः शिथिल भएर जान्छ।’

प्रकाशित: ४ वैशाख २०७९ ०२:३० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App