५ जेष्ठ २०८१ शनिबार
image/svg+xml
राजनीति

चुनावी गठबन्धनमा जुटेको सत्तारुढ दलभित्रै पहिरो जान सुरुः प्रदिप ज्ञवाली

प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का उपमहासचिव प्रदिप ज्ञवालीले स्थानीय तहको चुनावी गठबन्धनमा जुटेको सत्तारुढ दलहरु भित्रै पहिरो जान सुरु गरेको दावी गरेका छन्।

भित्रभित्रै पहिरो जाने अवस्था भएपछि निर्वाचनबाट पराजित हुने डरले सत्तारुढ दलहरु आफैं अत्तालिएको अवस्थामा रहेको उपमहासचिव ज्ञवालीको भनाइ छ। नेकपा (एमाले) चितवन–काठमाडौं सम्पर्क मञ्चले शनिबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले स्थानीय तहको निर्वाचनमा सत्तारुढ दलहरु तलसम्मै एकताबद्ध भएर जाने अवस्था नरहेको पटकपटक दोहोर्‍याए।

गठबन्धनका लागि नेपालगंजमा जसपाले नमानेको, पर्साका काँग्रेसहरु आफै असहमत रहेको, रोल्पामा हुँदैन भनेर वक्तव्य आउनेवाला रहेको उल्लेख गर्दै उपमहासचिव ज्ञवालीले यस्तो अवस्थामा सत्तारुढ दलहरुलाई बलियो शक्ति मान्ने कुरा भ्रममात्रै हुने बताए। उनले सत्तारुढ दलहरु कमजोर रहेकाले नै अरु दलको सहारा लिन गठबन्धनमा गर्न बाध्य हुनुपरेको तर्क समेत गरे।

उपमहासचिव ज्ञवालीले सबै तहको निर्वाचनमा आफ्नो पार्टीले राजनीतिक, नैतिक तथा गणितीय रुपमा पनि जित हासिल गर्ने निश्चित भएको भन्दै सोही अनुसारको तयारीमा जुट्न पार्टीका नेता, कार्यकर्तालाई निर्देशन दिए। कार्यक्रममा बोल्दै नेकपा (एमाले) सम्पर्क समन्वय कमिटीका संयोजक श्याम बस्नेतले मुलुकको समृद्धिका लागि आगामी निर्वाचनमा आफ्नो पार्टी विजयी हुनुको विकल्प नरहेको बताएका थिए।

प्रकाशित: ३ वैशाख २०७९ ११:४७ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App