६ वैशाख २०८१ बिहीबार
राजनीति

विवेकशील साझाबाट कामनपाको मेयर/उपमेयरमा महिला उम्मेदवार

रविन्द्र मिश्र नेतृत्वको विवेकशील साझा पार्टीले काठमाडौं महानगरपालिकाको मेयर र उपमेयर दुवै पदमा महिला उम्मेदवार उठाएको छ।

शनिबार ललितपुरमा पत्रकार सम्मेलन गरी विवेकशील साझा पार्टीको तर्फबाट मेयरमा समिक्षा बास्कोटा र उपमेयरमा कीर्ति तुलाधरलाई उम्मेदवार बनाइएको जानकारी गराएको हो। पत्रकार सम्मेलनमा दुवै उम्मेदवारको तर्फबाट काठमाडौं महानगरपालिकाको निर्वाचनका लागि प्रतिज्ञा पत्र पनि सार्वजनिक गरिएको छ। काठमाडौं महानगरभित्र समस्याको चाङ रहेको र विज्ञहरुको सुझाव लिएर ती सबै समस्याहरुको समाधान गर्दै लैजाने गरी प्रतिज्ञा पत्र सार्वजनिक गरिएको मेयरका उम्मेदवार बास्कोटाले बताइन्। उनले आफूहरु विजयी भएमा काठमाडौं महानगरपालिकामा विकास, निर्माणको कामले उचाई लिने पनि बताइन्।

पार्टीका संयोजक मिश्रले प्रदुषित, अव्यवस्थित र कंक्रिटको जंगलको रुपमा रुपान्तरित भएको काठमाडौं महानगरपालिकाको स्वरुपमा परिवर्तन ल्याउने गरी आफ्नो पार्टीले मेयर र उपमेयरको उम्मेदवार बनाएको दावी गरे।

प्रतिज्ञा पत्रमा भ्रष्टाचार नियन्त्रण, सुशासन र सेवा प्रवाहमा जोड दिने, शिक्षा, स्वास्थ्य र सामाजिक सुरक्षाको प्रबन्ध गर्ने तथा नेवाः कला संस्कृतिको संरक्षण, विद्युतीय यातायातको व्यवस्था, नदी, कुवा, तलाऊ, खोलानालाहरुको सफाई गर्ने उल्लेख गरिएको छ।

प्रकाशित: ३ वैशाख २०७९ ११:१० शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App