२ जेष्ठ २०८१ बुधबार
image/svg+xml
राजनीति

गठबन्धन दलबीच मिलेन भागबण्डा

स्थानीय तहको निर्वाचन नजिकिँदै गर्दा पनि सत्ता साझेदार दलहरुले वडादेखि पालिकासम्मका उम्मेदवार टुंगाउन सकेका छैनन्। नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीबीच भागबण्डा नमिल्दा सत्ता गठबन्धनलाई उम्मेदवार टुंग्याउन सकस भएको हो।

नेकपा एमालेले भने केही स्थानीय तहमा उम्मेदवारको विषय टुंग्याइसकेको छ। अन्य पालिकामा पनि उम्मेदवार टुंग्याउन अन्तिम तयारी एमालेको छ। यता सत्ता साझेदार दलहरुबीच भागबण्डा नै मिल्न सकेको छैन, जसले गर्दा उम्मेदवार छनोटमा समस्या भएको छ। बाँकेका आठ पालिकामध्ये कुन पालिका कुन दलले लिने भन्ने विषयमा अहिले सत्ता गठबन्धन दलहरु सहमतिमा आउन सकेका छैनन्।

नेपाली कांग्रेसले पहिला जितेको राप्तीसोनारी र डुडुवासहित थप नेपालगन्ज उपमहानगरपालिका र कोहलपुरमा बलियो दाबी गरेको स्रोतले जनायो। यसमा सत्ता गठबन्धन दलहरुसँगको सहमति र सहकार्यमा टुंग्याउने कांग्रेसले जनाएको छ। यद्यपि चुनावी तालमलेका विषयमा कांग्रेस बाँकेमा एक मत छैन। यसका लागि आन्तरिक छलफल भएको नेपाली कांग्रेसका पार्टी सभापति नारायणप्रसाद गौडेलले बताए।

यता नेकपा माओवादी केन्द्रले नेपालगन्ज उपमहानगरपालिका र कोहलपुरमध्ये एक, खजुरा र राप्तीसोनारीमा सशक्तरुपमा दाबी गरेको छ। नेकपा एसले पनि दाबी कायमै राखेको छ। नेकपा एमालेले जितेका सबै स्थानीय तहमा एसले पहिलो दाबी गरेको छ। त्यसमा सहमति हुन नसकेमा बैजनाथ, नरैनापुर र जानकी गाउँपालिका आफूले पाउनु पर्ने नेकपा एसको माग छ। एकै पालिकामा दलहरुबीच मतभेद हुँदा पनि सत्ता गठबन्धन दलहरुलाई भागबण्डा मिलाउन हम्मेहम्मे भएको छ।

भागबण्डाकै गाँठो नफुक्दा दलहरु उम्मेदवारबिनै जनताको घरदैलोमा पुग्ने गरेका छन्। नेपाली कांग्रेसले अन्तरिक छलफलमा भएको बताए पनि बाँकेको महत्वपूर्ण पालिका नेपालगन्जमा सशक्त दाबी छ। गत निर्वाचनमा नेपाली कांग्रेस दोस्रो स्थानमा थियो। यद्यपि उपप्रमुख भने नेपाली कांग्रेस नै जितेको थियो।  

माओवादी केन्द्र बाँकेका निवर्तमान अध्यक्ष तथा प्रदेशसभा सदस्य इन्द्रप्रसाद (आइपी) खरेल गठबन्धनको मूल्य, मान्यता र सहमतिका आधारमा थप एक पालिकामा दाबी हुने बताउँछन्। नेपालगन्ज, कोहलपुर, राप्तीसोनारी र पछिल्लो समय नरैनापुरमा आफ्नो दलको राम्रो उपस्थिति रहेको अध्यक्ष कोइरालाको भनाइ छ। नेकपा एस बाँकेका आठ पालिकामध्ये डुडुवा गाउँपालिकामा कमजोर देखिएको छ।

क्षेत्र नम्बर ३ अन्तर्गत रहेका खजुरा, जानकी र बैजनाथ गाउँपालिकामा दाबी रहने बताइएको छ। ‘बाँकेमा दुई तीन चरणमा छलफल भइसकेको छ। चुनावी गठबन्धन हुन्छ,’ उनले भने, ‘केन्द्रीय निर्णयअनुसार नै बाँकेमा पनि तालमेल गर्छौं। सबैले जित्नेखालको गठबन्धनको पक्षमा हामी छौं।’

प्रकाशित: २ वैशाख २०७९ १४:२१ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App