६ आश्विन २०८१ आइतबार
image/svg+xml
राजनीति

चुनाव जसरी पनि जित्ने भन्नेहरुलाई जनताले हराउनुपर्छ: अध्यक्ष तिमिल्सीना

बागलुङमा चैत्राष्टी मेलाको उद्घाटन गर्दै राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सीना। तस्बिरः संगम/नागरिक

राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सीनाले जसरी पनि चुनाव जित्न चाहानेहरुलाई जनताले नै हराउनुपुर्ने बताएका छन्। शनिबार बागलुङमा चैत्राष्टमी मेलाको उद्घाटन गर्दै अध्यक्ष तिमिल्सीनाले निर्वाचन स्वच्छ र धाँधली रहित हुनुपर्ने बताए। ‘जरी पनि निर्वाचन जित्ने भन्ने गरेको सुनिन्छ, जसरी पनि निर्वाचन जित्ने भनेको पावर पैसा प्रयोग गरेर जित्ने भन्ने हो,’ उनले भने,‘यस्तो दललाई जनताले नै हराउनुपर्छ। निर्वाचन स्वच्छ र धाँधली रहित भएर जनताको मन जितेर जनताले चाहेको व्यक्तिलाई मतदान गर्न पाउने अवस्था हुनुपर्छ।’  

उनले चुनावकै दलहरु सरकारमा जानुपर्ने विडम्बनापूर्ण अवस्था रहेको बताए। ‘हामी देख्छौं, चुनाव आयो कि दलहरु सरकारमा जाने, चुनावमै जानको लागि फेरी गृहमन्त्रालय लिनुपर्ने, अनि जिल्लाका प्रशासन कार्यालय र सुरक्षा निकायहरुमा सेटिङ मिलाउने र त्यो आधारमा चुनाव जित्ने,’ तिमिल्सीनाले भने,’त्यो अधारमा होईन, प्रहरी प्रशासनलाई प्रयोग गरेर होईन, निस्पक्ष र स्वतन्त्र भएर मनले चाहेको व्यक्तिलाई मत हाल्ने अवस्था सिर्जना गर्न सरकार, दल र कार्यकर्ता तथा उम्मेदवारहर लाग्न जरुरी छ।’ जनताले लडेर बलिदान गरेको ल्याएको लोकतन्त्रमा जनताले खुसीका साथ इच्छाएको व्यक्तिलाई मत हाल्न पाउनुपर्ने उनको तर्क छ।

‘जसरी पनि चुनाव जित्ने चुनाव जित्नका लागि कुनै विचार र दृष्टिकोण नभएको दलहरुको बीचमा गठजोड गरेर जाने र चुनाव जितेपछि केही पनि नगर्ने। भागवण्डा आलोपालो, मन्त्री बन्ने नियुक्ती गर्ने खाने जनताको अवस्था त्यही रहने हुनु हुँदैन,’ उनले भने। अबका निर्वाचनहरु नेपाली जनताहरुलाई सर्वोपरी राखेर आर्थिक समृद्धिमा लाग्ने खालको हुनुपर्ने उनले बताए। तिमिल्सीनाले नेपाल जातिय, भाषिक, सांस्कृतिक विविधताको अध्ययनका लागि खुला विश्वविद्यालय भएको समेत बताए।  

‘नेपाल प्राकृतिक, सामाजिक, भौगोलिक साँस्कृति विविधताले भरिएको छ। प्राकृतिक स्रोत उपयोग गर्न सके नेपाल दुनियाँको गरिब राष्ट्र हुने अवस्था छैन,’ उनले भने,‘नेपाली जनताले चाहेको संविधान जनताको प्रतिनिधिले बनाएका छन्, अब आर्थिक भौतिक र सामाजिक विकासमा फड्को मार्ने अवस्थामा ऐन कानुन बाधक छैन र राजनीतिक प्रणाली पनि बाधक छैन।’ तिमिल्सीनले राजनीतिक मूल्य मान्यता र सरकार सञ्चालकहरुको दृष्टिकोण नहुँदा अहिले समस्या भएको बताए। ‘सरकारले ठिक दृष्टिकोण लिनु जरुरी छ, विविधतालाई पर्यटनसंग जोड्ने सके नेपालले कल्पना गरे भन्दा बढि पर्यटक ल्याउन सकिन्छ,’ तिमिल्सीनाले भने।

विश्वमा एक दुई जात भएका देशहरुमा काटमारको अवस्था भए पनि नेपालमा १२५ जात हुँदा पनि जातिय सद्भाव र सांस्कृतिक एकता कायम हुनु दुनियाँका लागि ठूलो सिकाई भएको उनको दाबी छ। ‘विश्वमा लाखौं मानिसहरु जातिय द्वन्द्वमा मारिएका छन्,’ उनी भन्छन्,‘नेपालमा १२५ जाति हुँदा पनि जातिय सद्भाव कायम छ। सांस्कृतिक एकता कायम छ। यो नेपालको आफ्नो पुँजी हो।’ उनले दुनियाँको अध्ययन गर्ने विद्यार्थीका लागि खुला विश्वविद्यालय भएको उल्लेख गरे।

दुनियाँका पढ्ने विद्यार्थीका लागि विद्यावारिधि गर्नेका लागि यहाँको भूगोलको अध्ययन गर्नका लागि, जातिय विविधताको अध्यनका लागि, सांस्कृति विविधताको अध्ययन गर्नका लागि यो एउटा खुला विश्वविद्यालय हो,’तिमिल्सीनाले भने,‘यसलाई हामीले दुनियाँका सामु प्रकट गर्ने र स्थापित गर्नुपर्ने जरुरी छ।’ धार्मिक पर्यटन, प्राकृतिक पर्यटन र शैक्षिक पर्यटनको रुपमा विश्वका पर्यटकलाई ल्याउन सक्नुपर्ने उनको भनाई छ। ‘पर्यटनका विकास लागि, समितिहरुले, मठमन्दिर संघ संस्थाहरुले, राजनीतिक दलहरुले एक ध्यान भएर लाग्ने हो यो हुनसक्छ,’ उनले भने।  

बागलुङ कालिका मन्दिर र संसारको सिंगल स्पानका सबैभन्दा लामो झोलुङ्गे पुलको जिल्लाको नामबाट पनि परिचित हुन थालेको उनको भनाई छ। कार्यक्रममा बागलुङ पूर्व राज्यमन्त्री चम्पादेवी खड्का, बागलुङ नगरपालिकाका मेयर जनकराज पौडेल लगायतले बोलेका थिए। मेलाको अवसरमा भबिल प्रतियोगिता, लोकदोहोरी प्रतियोगिता, भजन प्रतियोगिता, छेलो फाल्ने प्रतियोगिता लगायत प्रतियोगितात्मक कार्यक्रम आयोजना गरिएको छ। साथमा राष्ट्रिय स्तरमा ख्याती कमाएका कलाकारहरुको पनि दैनिक सांगितिक प्रस्तुती रहेको छ। मेला चैत्र २८ गतेसम्म चल्नेछ।

प्रकाशित: २६ चैत्र २०७८ ०९:०४ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App