४ पुस २०८१ बिहीबार
image/svg+xml
राजनीति

उम्मेदवार छान्दै एमाले, अन्यौलमा गठबन्धन

चुनावी छलफलमा सहभागी काँग्रेस दुधौली नगरपालिका नेता तथा कार्यकर्ताहरु।

स्थानीय तहको निर्वाचन मिति नजिकिँदै जाँदा सिन्धुलीमा पाँच दलीय गठबन्धनमा उम्मेदवार टुंग्याउने विषयमा छलफल हुन सकेको छैन। सरकारमा सहभागी पाँच दलीय गठबन्धन गरेरै निर्वाचनमा जाने दलहरुको निर्णयले सिन्धुलीमा अन्यौलता बढाएको छ।  

गठबन्धन हुने भएपछि कुन वडा वा कुन स्थानीय तह कुन पार्टीको भागमा पर्छ भन्ने विषयकै टुङगो हालसम्म नलाग्दा उम्मेदवार टुंग्याउने र गाउँगाउँ जाने गतिविधि काँग्रेस माओवादी लगायतका दलहरुमा अन्यौल देखिएको छ। नेकपा एमालेले धेरै वडा सर्वसम्मत गरी पालिकाका उम्मेदवार टुंग्याउन छलफल सुरु गरिसकेको भएपनि पाँच दलीय गठबन्धनको आधिकारिक निर्णय भइनसकेकाले काँग्रेस माओवादी जसपा नेकपा एस लगायतका दलमा अन्यौल देखिएको छ।

गठबन्धनको बैठक शुक्रबार बस्ने भनिएपनि विविध कारणले बैठक बस्न नसकेको र शनिबार बैठक बसेर पारम्भिक छलफल हुने नेपाली काँग्रेसले जनाएको छ। 'हामीले आन्तरिक रुपमा सबै वडामा उम्मेदवारको विषयमा छलफल गरिरहेका छौं, तर गठबन्धन गर्ने भएकाले कसरी जाने भन्ने टुंगो लागिनसकेको छैन,' नेपाली काँग्रेस पार्टीका सचिव इश्वर बस्नेतले भने। 'गठबन्धन गरेर जाने सबै दलको मनसाय देखिएको छ, तर कसरी जाने भन्ने विषयमा छलफल हुँदै छ,' उनले भने, '२८ गतेसम्म हामी गठबन्धन कसरी हुन्छ भन्ने टुंग्याएर जान्छौ।'  

यता नेकपा एमालले भने धेरै वडाको उम्मेदवार टुंग्याइसकिएको र पालिकाको उम्मेदवार टुंग्याउन छलफल चलिरहेको बताएको छ। 'निर्वाचन लक्षित गतिविधि गाउँगाउँमा चलिरहेको छ,' नेकपा एमालेका प्रचार विभाग प्रमुख सञ्जय दाहालले भने, 'अहिले हामी पालिकाको उम्मेदवारको विषयमा छलफल गर्दैछौ।' उनले वडास्तरका उम्मेदवारको नामावली पालिका कमिटीहरुले जिल्लामा बुझाउन बाकी रहेको र सर्वसम्मत नभएका वडामा जिल्लाले नै टुंग्याउने बताए।

'सबै पालिकाबाट नामावली आएको छैन, हामी पालिका स्तरको छलफलमा छौ,' उनले भने, पालिकामा आकांक्षीहरु धेरै देखिएका छन्।' गठबन्धनको विषय नटुंगिँदा गाउँगाउँबाट सिफारिस भई पालिका र क्षेत्रसम्म आइपुगेका वडाध्यक्षका नामावली हालसम्म काँग्रेसले टुग्याएको छैन। पहिले गठबन्धनको विषय टुंग्याएरमात्रै उम्मेदवारी घोषणा गर्ने काँग्रेसले जनाएको छ।

'गठबन्धनको बैठक बोलाउने जिम्मा काँग्रेसलाई छ, काँग्रेसले बैठक बोलाएपछि मात्रै छलफल हुन्छ,' नेकपा माओावदी केन्द्रका जिल्ला अध्यक्ष राजन दाहालले भने, 'गठबन्धनको विषय टुंगो नलाग्दा हामीलाई अन्यौलनै भएको छ।' उनले अहिले उम्मेदवारी घोषणा गरेपनि गठबन्धनमा भागबन्डा हुँदा कुन कसलाई पर्छ एकीन नभएकाले पछि उम्मेदवारी फिर्ता गर्नुपर्ने हुन्छ की भन्ने अन्यौल रहेको बताए। अन्यौल भएकै कारण उम्मेदवार टुङगो नलागेको बताए।

निर्वाचन लक्षित पार्टीका कार्यक्रम र गतिविधि भइरहेपनि उम्मेदवारको विषयमा अन्यौल रहेको उनले जनाए। जिल्ला पार्टी कार्यालयले गठबन्धनको विषयमा आधिकारी जानकारी केही नपठाएकाले कुन वडामा कसरी निर्वाचनमा जाने भन्ने विषयमा अन्यौल रहेको सुनकोसी गाउँपालिका काँग्रेस सभापति चन्द्र श्रेष्ठले बताए। गठबन्धन गर्ने वा नगर्ने भन्ने विषयमा जिल्लास्थित नेताहरुको मत समेत विभाजित छ।

प्रकाशित: २५ चैत्र २०७८ १५:३९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App