१२ असार २०८१ बुधबार
image/svg+xml
राजनीति

गठबन्धनका लागि काँग्रेसले बनायो लुम्बिनीमा वार्ता समिति

स्थानीय तहको निर्वाचन नजिकिदै गर्दा नेपाली काँग्रेस लुम्बिनी प्रदेशले गठबन्धनका दलहरुसंग तालमेलका लागि वार्ता समिति बनाएको छ। गठबन्धनका दलहरुबीच उचित र न्यायिक चुनावी तालमेल र सिट बाँडफाँडका लागि वार्ता र संवाद अगाडि बढाउन समिति गठन गरिएको हो।

नेपाली काँग्रेस लुम्बिनी प्रदेश कार्यसमितिको मंगलबार बसेको बैठकले प्रदेश सभापती अमरसिंह पुनको संयोजकत्वमा ५ सदस्यीय वार्ता समिति गठन गरेको हो। समितिको सदस्यमा प्रतिनिधि सांसद तथा नेता भरतकुमार शाह,उपसभापतीद्धय भुवनप्रसाद श्रेष्ठ, राजु खनाल र कोषाध्यक्ष  प्रकाश राना छन्। समितिले सत्ता गठबन्धनका दलहरुसंग चुनावी तालमेलका आधारहरु पहिल्याइ सिट बाँडफाड लगायतका विषयमा छलफल गर्ने प्रदेश सभापती पुनले जानकारी दिए।

पार्टीको मतभारका आधारमा न्यायिक ढंगबाट टिकट बाँडफाड गरिने उनले बताए। १०९ वटा स्थानीय तह रहेको लुम्बिनीमा दुई तिहाई बढी स्थानीय तहमा काँग्रेसको दावी रहने पनी बताए। प्रदेश समितिले निर्वाचन तयारीका थप कार्यक्रमहरुलाइ पनि तीब्रता दिएको छ। 

बैठकले प्रदेश कार्य समितिका प्रवक्ता प्रचण्ड बिक्रम न्यौपानेको संयोजकत्वमा १ हजार १०१ सदस्यीय निर्वाचन प्रचार प्रसार समिति गठन गरेको छ। त्यस्तै  सभापति पुनकै संयोजकत्वमा नेता भरतकुमार शाहसहित कार्यसमितिका पदाधिकारी, प्रदेशका १६ वटै जिल्लाका सभापती सम्मिलित ५५ सदस्यीय निर्वाचन परिचालन समिति गठन गरेको छ।  

महामन्त्री बिक्रम खनालको संयोजकत्वमा ५ सदस्यीय घोषणा पत्र लेखन समिति गठन गरीएको छ। समितिका सदस्य मनोनयनकालागि संयोजकलाई नै जिम्मेवारी दिइएको छ। माधव खरेलको संयोजकत्वमाा ४ सदस्यीय अनुशासन समिति गठन गरीएको छ। समितिको सदस्यहरुमा महेन्द्र पाण्डे, प्रेमलता भट्ट र कृष्णप्रसाद अधिकारी छन्। 

बैठकले प्रतिनिधि सभा क्षेत्रीय समितिमा प्रतिनिधित्वका लागि २६ जना प्रतिनिधि खटाउने निर्णय गरेको छ। बिधानको व्यवस्था अनुरुप २७ सदस्यीय कार्यसम्पादन समिति गठन गरिएको छ। समितिका लागि प्रस्तावित २३ जनाको नाम बैठकले अनुमोदन गर्नुका साथै बाँकी चार जना थप गर्ने जिम्मेवारी सभापती पुनलाई नै दिएको छ।

प्रकाशित: २३ चैत्र २०७८ ०६:३४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App