स्थानीय स्थिति र आवश्यकतालाई हेरेर मात्र स्थानीय तहको चुनावमा तालमेल गर्न सक्ने नेपाली कांग्रेसको स्पष्ट निर्णय छ। भावना प्रतिकूल नभइ स्थानीय स्थिति अनुकूल चुनावी तालमेल गर्ने यही निर्णयले कांग्रेसको तल्लो तहसम्म अलमल पारेको छ। कस्तो अवस्थामा आफू अनुकूल सम्झने र प्रतिकूल।
केन्द्रबाट गठबन्धन नथोपर्ने र स्थानीयस्तरमा तालमेल गर्न सकिने दोधारे कांग्रेस रणनीतिले कांग्रेसभित्रै थप किचलो पैदा भएको छ। २०७४ सालमा भारी मतान्तरले हारेको स्थानीय तहमा पनि स्थानीय नेताले आफू अनुकूल वातावरण देखिरहेका छन्। तालमेल नहुँदा हार्ने निश्चित क्षेत्रमा पनि टिकट पाउनलाई उनीहरुले स्थिति प्रतिकूल देखेका छैनन्। पहिलाभन्दा अहिले संगठन विस्तार भएको, अन्य पार्टीप्रति मतदाता सन्तुष्ट नभइ आफ्नो पार्टीमा प्रवेश गरिरहेका र स्थानीय नेताले जनता नभड्काउने गरी काम गरिरहेकाले स्थिति अनुकूल देखिराखेका छन्।
लुम्बिनीका प्रायः जिल्लामा गठबन्धनबारे सकारात्मक साझा दृष्टिकोण निर्माण भइसकेको अवस्था छैन। कांग्रेसभित्रकै नेता तथा कार्यकर्ता चुनावी तालमेलमा विभाजित हुँदा नेकपा एमालेलाई बल पुग्ने निश्चित देखिन्छ। तालमेल गर्नुअघि पार्टीको आवश्कयता र अवस्था हेर्नु पर्ने नेपाली कांग्रेस लुम्बिनी प्रदेशका सभापति अमरबहादुर पुनले जनाए। ‘पार्टीभित्र चुनावी तालमेलको पक्ष विपक्ष समूह छैन,’ उनी भन्छन्, ‘तर, आम मतदाता, पार्टीमा लामो समयदेखि लगनशील भएर लागेका, पार्टीप्रति आस्था राख्नेहरुले कांग्रेस एक्लै चुनावमा जान सक्ने सक्षम हुँदाहुँदै तालमेलको आवश्यक किन भयो भन्ने प्रश्न गरिरहेका छन्।’ संगठनको अवस्था र आवश्यकता हेरेर चुनावी तालमेल गर्ने वा नगर्ने विषय महत्वपूर्ण हुने उनको भनाइ छ।
यता दाङ पुगेका नेपाली कांग्रेस लुम्बिनी प्रदेशका उपसभापति राजु खनालले केन्द्रको निर्णयलाई इमान्दारीताका साथ पालना गर्नुपर्ने बताए। प्रेस युनियनमा आबद्ध पत्रकारहरुसँग उनले कांग्रेसलाई बलियो बनाउन अहिले गठबन्धनबीच चुनावी तालमेल हुनुपर्ने बताए। अहिले कांग्रेस चुनावी अभियान लिएर जनताको घरदैलोमा छ। चुनावी तालमलेका विषयमा पनि स्पष्टसँग मतदातालाई कांग्रेस जवाफ दिन सकेको छैन। मत साटफेट हुने पनि शंका गर्न थालिएको छ। यसभन्दा अघिल्ला निर्वाचनहरुमा पनि कांग्रेसकै नेता तथा कार्यकर्ताबाट अन्तरघात हुँदा कांग्रेस उम्मेदवारले उदाहरणहरु छन्। कांग्रेसको गुटगत धारणाले मतदातामा अन्योल छाएको छ। ‘एउटा नेताले तालमेल गर्नुपर्छ भन्छन्,’ नेपालगन्जका सकील अहमद अन्सारीले भने, ‘कसको कुरा पत्याउने। कसरी चुनावमा जाने अलमलमा छुँ।’ उनीजस्तै कविराम केसीले पनि चुनावी तालमेलका विषयमा स्पष्ट हुन सकेका छैनन्।
नेताहरु विभाजित हुँदा उनलाई पनि चुनावी तालमेलका विषयमा अन्योलता छ। उनले व्यक्तिभन्दा पार्टी र पार्टीभन्दा देश बलियो हुने गरी चुनावी मैदानमा उत्रिनु पर्ने बताए। ‘कोही व्यक्तिले हारुनु वा जितुन त्यो ठूलो भएन,’ उनले भने, ‘तर, पार्टी र देशले हार्नु भएन।’ व्यवस्था परिवर्तन हुँदा पनि व्यवहारिकरुपमा जनता बदलिन नसकेको भन्दै उनले नीति र योजनासहितको नेतालाई सघाउनु पर्ने बताए।
प्रकाशित: २२ चैत्र २०७८ १३:३९ मंगलबार