नेकपा एकीकृत समाजवादी पार्टीका बरिष्ठ नेता झलनाथ खनालले स्थानीय तहमा बचेको एमालेको साख पनि समाप्त हुने चेतावनी दिएका छन्।
संघ र प्रदेश सरकारबाट एमाले बढारिईसकेको भन्दै खनालले अब स्थानीय तहमा बचेको साख पनि आगामी वैशाख ३० गतेबाट समाप्त हुने बताए। ‘संघीय सरकारबाट बाहिरिए, प्रदेश सरकारबाट बाहिरिए,’ नेकपा एसले सोमबार घोराहीमा गरेको कार्यकर्ता प्रशिक्षण कार्यक्रममा बोल्दै खनालले भने, ‘अब केपीका पुच्छरहरु बचेको भने स्थानीय तहहरुमा मात्रै हो, उनीहरु पनि वैशाख ३० गते पछि बढारिँदैछन्।’
दुई/दुई पटक प्रतिनिधिसभा भंग गरेका केपी ओली साजयको भागेदार बन्नु पर्ने भन्दै खनालले आगामी निर्वाचनमा उनलाई सजाय दिलाउनै पर्ने बताए। आगामी निर्वाचन प्रतिगमन र लोकतन्त्रबादी शक्तिबीचको लडाईका रुपमा आउने भन्दै खनालले भने, ‘मुलुकममा फेरि प्रतिगमनकारीहरुलाई शक्ति भित्र्याएर मुलुकलाई अप्ठ्यारोमा पार्ने काम गरिनु हुन्न।’
एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री बनेदेखिनै नेकपा कमजोर बन्दै गएको भन्दै खनालले त्यसको असर अहिले एमालेमा देखिएको बताए। अहिले एमाले निकै कमजोर बनिसकेको दाबी गर्दै खनालले उमालेलाई अझै कमजोर पारिने दाबी गरे। ‘प्रधामन्त्री बनेदेखि केपी ओली एकल रुपमा चल्दै गए, पार्टीलाई कमजोर बनाउँदै लगे,’ खनालले भने, ‘नेकपा खारेज भयो, एमाले घट्दै गयो, अँझै घट्छ।’
एमाले अध्यक्ष ओलीमा दम्भ कम बन्दै गईसकेको भन्दै यथार्थता बुझ्न थालेको खनालले बताए। केही दिन अघि एमाले एक्लै निर्वाचनमा लड्ने भनेर ओलीले दिएको अभिव्यक्ति प्रति खनालले अहिले दक्षीणपन्थी पार्टी तथा शक्तिहरुसंग तालमेलको प्रयास गरिरहेको बताए। ‘हिजो गठबन्धनविरुद्ध एक्लै लड्छ, जित्छ भन्ने उनै खड्गप्रसाद ओली हैनन्?,’ खनालले भने, ‘अहिले दक्षिणपन्थीहरुसंग साँठगाँठ गर्ने प्रयत्न गरिरहेका छन्, यसले पनि के देखाउँछ भने खड्गप्रसाद ओली दक्षिणपन्थी पार्टीको अध्यक्ष हुन्।’
प्रकाशित: २१ चैत्र २०७८ १३:०८ सोमबार