८ वैशाख २०८१ शनिबार
राजनीति

नेपाली–अमेरिकी सेनाबीच ‘ब्यालेन्स नेल’ अभ्यास सुरु

नेपाली सेना र अमेरिकी सेनाबीच आइतबार संयुक्त सैन्य अभ्यास सुरु भएको छ। ‘ब्यालेन्स नेल’ नामक सैन्य अभ्यास सुरु भएको हो।

‘नेपाली सेना र अमेरिकी सेनाबीच नियमित यस्ता सैन्य अभ्यास हुँदै आएका छन्। यसपटक मात्र भएको होइन,’ नेपाली सेनाका प्रवक्ता नारायण सिलवालले नागरिकसँग भने, ‘नेपाली सेनाको रेञ्जर फोर्स र अमेरिकी सेनाको स्पेसल फोर्सबीच नियमित हुन्छ।’ यसमा हालसम्म नेपालका ४ हजार सैनिकले सहभागिता जनाइसकेको उनले बताए।

यसपटकको अभ्यासमा नेपाली सेनाका ९० जना र अमेरिकी सेनाका २० जनाले सहभागिता जनाउँदैछन्। यसपटक आइतबारबाट सुरु हुने यो अभ्यास वैशाख १३ गतेसम्म चल्ने प्रवक्ता सिलवालले बताए। उनका अनुसार अभ्यास जंगल, जमिन र टेबलमा सञ्चालन  गरिनेछ। यसका लागि रेन्जर गणको सिंह महावीर योजना तथा समन्वय महाशाखा छाउनी र रेञ्जर तालिम केन्द्र नगरकोटमा सञ्चालन हुने कार्यक्रम छ।

यो अभ्यासका माध्यमबाट दुई देशका सेनाकाबीचमा आधुनिक सैन्य गतिविधि, दक्षता अभिवृद्धि, प्रविधिको ज्ञानको आदानप्रदान र अनुभव साटासाट गर्ने परम्परा छ। ‘यसमा मूलतः अनुभव साटासाट नै हो,’ प्रवक्ता सिलवालले भने, ‘यसबाहेक द्वन्द्व वा युद्धका बेला अन्तर्राष्ट्रिय मानवीय कानुनको ज्ञान र पालना, जंगल तथा अनफिल्ड वारफेयर अपरेसन ट्याक्टिस, सैन्य रणनीति तथा चातुर्यताको ज्ञान आदानप्रदानलगायत पनि हुन्छ।’ यसले दुई देशका सेनाहरूमा आपसी क्षमता अभिवृद्धिमा योगदान हुने गरेको समेत उनले बताए।

नेपाली र अमेरिकी सैनिकहरूबीच हुन लागेको यो अभ्यास सुरु हुन लागेको १९ वर्ष भइसकेको छ। सन् २००३ अगस्तमा पहिलोपल्ट यो ब्यालेन्स नेल अभ्यास भएको थियो। यसअघि ३९ पटकसम्म यो अभ्यास दुई देशका सैनिकहरूबीच भइसकेको नेपाली सेनाले जनाएको छ। यसपटक सुरु भएको अभ्यास ४०औं चरणको अभ्यास हो।

अघिल्लोपटक गत कात्तिक १५ गतेबाट सुरु भएर मंसिर १४ गतेसम्म नेपाली र अमेरिकी सेनाबीचमा ‘एक्स–टेक नेल २२’ नामक अभ्यास चलेको थियो। जसमा खोज तथा उद्धार कार्यमा सहभागी हुने ५० जना नेपाली सेना र २० जना अमेरिकी सेना सहभागी थिए। नेपाल र अमेरिकी सेनाकाबीच यी मात्रै अभ्यास होइनन्। केही साता अघिमात्रै अमेरिकी सेना र नेपाली सेनाको मेडिकल समूहबीचमा पनि संयुक्त अभ्यास गरिएको थियो। नेपाली सेनाले अमेरिकी सेनासँगमात्र नभई अन्य देशका सेनाहरूसँग पनि यस्ता सैन्य अभ्यासहरू गर्दै आएको छ। जसमा दुई छिमेकी देश भारत र चीनको सेनाहरू पनि पर्छन्। भारतीय सेनासँग ‘सूर्यकिरण’ नामक सैन्य अभ्यास हुने गरेको नेपाली सेनाका प्रवक्ता सिलवालले  जानकारी दिए।

यसबाहेक पछिल्ला केही वर्षयता उत्तरी छिमेकी चीनको जनमुक्ति सेनासँग पनि नेपाली सेनाको संयुक्त सैन्य अभ्यास हुनेक्रम सुरु भइरसकेको छ। केही समयअघि नेपाली सेना दिवसका अवसरमा संयुक्त अधिराज्य बेलायतको सेनाको ब्यान्ड टुकुडीले टुँडिखेलमा आफ्नो कौशल प्रदर्शन गरेको थियो।

‘नेपालको मित्र देशका सैनिक संगठनहरू मिलिटरी टु मिलिटरी यस्ता अभ्यास हुन्छन्। हामीकहाँ पनि वर्षौंदेखि हुँदै आएका छन्,’ प्रवक्ता सिलवालले भने,‘विश्वका सबैजसो सेनाहरूले मित्रसेनाहरूसँग यस्ता अभ्यासहरू गर्छन्।’  यस्ता अभ्यासहरूले मित्र देशका सेनाहरूबीच मित्रता कायम हुने र नवीन सैन्य प्रविधि, ज्ञान, सीप र दक्षता अभिवृद्धिमा मद्दत गर्ने उनी बताउँछन्।

प्रकाशित: २१ चैत्र २०७८ ०३:५१ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App