२४ वैशाख २०८१ सोमबार
image/svg+xml
राजनीति

सांसद गुरुङको तलबभत्ता समाजसेवामा

सांसद भएपछि गरेका कामहरु सार्वजनिक गर्न आयोजित कार्यक्रममा अतिथिहरु।

आम राजनीतिककर्मीको चाहना हुन्छ पदमा पुगेपछि तलबभत्ता खाने। मौका पाउने वित्तिकै भ्रष्टाचार गर्ने। तर गण्डकी प्रदेश सभा सदस्य मीना गुरुङ भने अरु भन्दा फरक छिन्। समानुपातिकबाट सांसद बनेकी उनले भ्रष्टाचार त परको कुरा, आफूले पाएको तलबभत्तापनि सामाजिक काममा खर्चेर उदाहरणीय बनेकी छन्।

प्रदेश सांसद गुरुङले आफू सांसद भएर आएपछिको पछिल्लो ४ वर्षमा झण्डै ११ लाख रुपैयाँ सामाजिक कार्यमा खर्च गरेको एक कार्यक्रम आयोजना गरेर सार्वजनिक गरेकी छन्। ‘मैले मेरो तलबभत्ता सामाजिक कार्यमा खर्च गरेकी हुँ,’ उनले भनिन्। सामाजिक कार्य अन्तर्गत उनले संस्कार, संस्कृति संरक्षण, महिला, बालबालिका, बेटी बचाऔं अभियान, वृद्धाश्रम, मानवसेवा आश्रम, शिक्षा, खेलकुद, गरीब, दुःखी तथा असहायःलाई सहयोग, भवन निर्माण, विद्यालयमा न्यानो कपडा वितरणलगायतमा खर्च गरेकी हुन्।

सांसद गुरुङले विश्वव्यापी रुपमा फैलिएको कोभिड–१९ को महामारीका बेलापनि सामाजिक कार्यलाई निरन्तरता दिईन्। उनले विभिन्न ठाउँमा राहत वितरण गर्नेदेखि स्वास्थ्य सामग्री वितरण, मजदुरलगायतलाई आर्थिक राहत वितरण गरिन्।

एमाले गण्डकी प्रदेश सदस्य, नेपाल ट्रेड युनियन महासंघ (जिफण्ट)की केन्द्रीय उपाध्यक्ष तथा नेपाल ट्रेड युनियन महासंघ (जिफण्ट)को राष्ट्रिय महिला कमिटीकी निवर्तमान अध्यक्षसमेतरहेकी उनले आफ्नो पहलमा कास्की निर्वाचन क्षेत्र नम्बर २ (क)मा विकास निर्माणले फड्को मारेको दाबी गरिन्। उनले बाटो, खानेपानी, कालिखोला–काहुँ धरहरा लिफ्टिङ आयोजना, नाला निर्माणलगायत काम आफ्नो पहलमा भएको बताईन्।

सांसद गुरुङले आफू सँधै ईमान्दार राजनीति गर्ने प्रतिबद्धता जनाएकी छन्। आफूले सांसद भएपछि पछिल्लो चार वर्षमा गरेका कामहरुको फेहरिस्त रहेको बुकलेटमा उनले भनेकी छन्,‘मेरो लागि राजनीति सिधा रेखा हो, सबैले यसलाई बक्ररेखा भन्छन्। म बक्ररेखा देख्दिन। म सिधा र ईमान्दार राजनीति गर्न चाहन्छु।’

कार्यक्रममा एमाले सचिव पदमा अर्यालले सांसद गुरुङको मुक्तकण्ठले प्रशंसा गरिन्। सांसद गुरुङले गरेका सामाजिक काम र उनको विगत सुनेर प्रसन्न बनेकी उनले भनिन्,‘नेतृ भनेको त मीना गुरुङजस्तो पो हुनुपर्छ।’

प्रकाशित: २० चैत्र २०७८ ०९:१० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App