अघिल्लो स्थानीय तह तथा प्रदेश र संघको निर्वाचनमा जस्तो यसपाली मधेश ‘सेन्टिमेट’ चुनावी नारा बन्ने सम्भावना घटेको बेला त्यसलाई सकेसम्म आफूतिर तान्ने रणनीतिमा ‘लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपाल’ लागिपरेको छ। यसै क्रममा पार्टीका चार जना प्रमुख नेताहरुलाई सामेल गरेर सो पार्टीले शनिबार वीरगन्जमा स्वाभिमान यात्रा निकाल्दै शक्ति प्रदर्शनको प्रयास गरेको छ।
मधेशको नारा जोडिएका गीतसंगीत बजाउँदै बाजागाजासहित निकालिएको र्यालीमा पार्टीका राष्ट्रिय अध्यक्ष महन्थ ठाकुर, वरिष्ठ नेता राजेन्द्र महतो, अनिलकुमार झा र सर्वेन्द्रनाथ शुक्लाले खुल्ला गाडीमा सवार भई हाथ हल्लाउँदै सहभगी भए। वीरगन्जको पिपरा लिंकरोडबाट सुरु भएको र्याली नगरमा प्रदर्शन गर्दै नगरसभा गृहमा दिउँसो करिब साढे २ बजे पुगेको छ। उमेरले पाको भइसकेका अध्यक्ष महन्थ ठाकुरलाई अगाडि राखेर महतो, शुक्ला र झा पछिपछि बेग्लै गाडीमा थिए।
आम जनताभन्दा कार्यकर्ताहरुले नेताले हात हल्लाएर गरेको सम्बोधन त्यसै गरी फर्काए। पैदल जुलुसको अगुवाई लोसपा नेपालका पर्सा अध्यक्ष पुरुषोत्तम झा, प्रदेश सांसद रमेश पटेल लगायतले गरेका थिए। सय वटा चारचक्के गाडी र डेढ हजार बढी मोटरसाइकल र्यालीमा सहभागी रहेको पार्टीका जिल्ला नेता शशिकपुर मियाँले बताए। र्याली लगतै लोसपा नेपालले नगरसभागृहमा ‘स्वभिमान सभा’ आयोजन गरेको छ।
प्रकाशित: १९ चैत्र २०७८ ११:३५ शनिबार