coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

मतदाताको मन जितेर उम्मेदवार छान्न घरदैलो

स्थानीय तहको निर्वाचन नजिकिँदै आउँदा जिल्लाको विकट हिमाली बस्ती तिप्लिङका नेता जीवन तामाङ र मेन घले कार्यकर्तासहित शुक्रबार सेर्तुङ पुगे। रुविभ्याली–१ र २ का नेकपा एकीकृत समाजवादीका नेता–कार्यकर्ता, मतदाता करिब ४ घण्टा पैदल हिँडेर ३ नम्बर वडामा पर्ने सेर्तुङमा चुनावी प्रचार र सभा गर्न पुगेका हुन्।

दलहरूको चुनावी प्रचार अघिल्लो पटकभन्दा अहिले अलि फरक देखिएको छ। पहिला चुनाव लड्ने टुंगो लागिसकेपछि केही कार्यकर्ताका साथ उम्मेदवार गाउँबस्ती डुल्थे।

त्यस्तै एउटा वडाका नेता, कार्यकर्ता र मतदाता अर्काे वडामा प्रचारका लागि पुगेको खासै देखिँदैनथ्यो। तर यसपटक हिमाली बस्ती रुविभ्यालीका नेता कार्यकर्ता र आफू निकट मतदातासहित एक वडाबाट अर्काे वडा र घरघरमा प्रचारका लागि हिँडिरहेका छन्।

रुविभ्याली गाउँपालिका–१, तिप्लिङबाट रुविभ्याली–३, सेर्तुङमा कार्यकर्ता र मतदातासहित पुगेका तामाङ भन्छन्, ‘अब उम्मेदवार पार्टी नेतृत्वले होइन, मतदाताले छान्ने हो। त्यसैले हामी पार्टीमा आस्था राख्नेहरू सबैजना गाउँगाउँ डुलिरहेका छौं। मतदातासँग नै उम्मेदवार मागिरहेका छौं।’ रुविभ्यालीका गाउँगाउँमा नेता–कार्यकर्ता हिँडेको देख्दा लाग्छ मतदान हुने दिन आउन केही दिनमात्रै बाँकी छ। एउटा चुचुरो काटेर अर्काे बस्ती पुगेका नेता–कार्यकर्तालाई स्थानीयले पनि राम्रै आश्वासन दिने रहेछन्।

काँधमा झन्डा बोकेर चुनावी प्रचारमा पुगेका घलेलाई रुविभ्याली–३, अल्यानटोलका एक मतदाताले भने, ‘जे छ मनमा छ, काका चिन्ता नगर्नुस्। हामी आउँछौं, ढुक्क साथ हिँड्नुस्।’  गाउँमा महिला, पुरुष, युवकयुवतीको उत्साहपूर्ण लस्कर देख्दा लाग्छ– कसैलाई पनि रुविभ्यालीमा चुनाव जित्न त्यति सहज छैन।’  

एमाले केन्द्रीय सदस्य खेम लोहनी, संविधानसभा सदस्य धनबहादुर घलेसहितका नेताहरू तीन दिनदेखि हिमाली बस्तीहरूमै प्रचारका लागि घुमिरहेका छन्। खनियाबास हुँदै शुक्रबार रुविभ्याली पुगेका लोहनीसहितका नेता पनि यसपटक रुविभ्यालीमा आफ्नो जित सुनिश्चित गर्न लागिपरेका छन्। ‘जिल्लाभरि नै कार्यक्रम अघि बढिरहेकै छन्’, एमाले धादिङ उपसचिव राधिका सापकोटा भन्छिन्, ‘यति बेला सहरभन्दा विकट बस्तीहरूमै धेरै कार्यक्रम गरिरहेका छौं।’

माओवादी केन्द्रका रामसिंह तामाङसहितका नेता–कार्यकर्ताले पनि रुविभ्यालीका बस्तीहरूमा आफ्नो प्रभाव जमाउन विभिन्न गतिविधि गरिरहेका छन्। उनीहरूले मतदाताको घरघरमा पुगेर पार्टीको चुनावचिह्नमा मतदान गर्न भनिरहेका छन्।

नेकपा एकीकृत समाजवादीका केन्द्रीय उपाध्यक्ष एवं वाग्मती प्रदेशका मुख्यमन्त्री  राजेन्द्रप्रसाद पाण्डे पनि चुनावी प्रचारकै लागि शुक्रबार सेर्तुङको सदाचेत पुगे। दिनभर खनियाबास र रुविभ्यालीका ठाउँठाउँमा चुनावी सभा गरेर उनी फर्किए।

नेपाली कांग्रेसले ‘घरघर जाऔं, कांग्रेस जिताऔं’ अभियानलाई ग्रामीण बस्तीहरूतिरै लक्षित गरेको छ। कांग्रेसका जिल्ला नेता भक्त लामा र वासु तिमल्सिना पनि उत्तरी बस्तीहरूमै व्यस्त छन्। चैत २१ गतेभित्र उम्मेदवारको नाम माथिल्लो तहमा सिफारिस गरिसक्नुपर्ने भएकाले नेताहरूले कार्यकर्ता र मतदाताको मन बुझिरहेका छन्। नेता लामाका अनुसार मतदाताको मन बुझेर उम्मेदवार टुंगो लगाउन पार्टीका नेता–कार्यकर्ता गाउँबस्ती पुगेका हुन्।

राप्रपाका नेता–कार्यकर्ता पनि रुविभ्यालीमा पार्टीको पकड  कायमै राख्न चुनावी अभियानमा छन्। २०७४ सालको स्थानीय चुनावमा रुविभ्यालीबाटै आफ्नो साख जोगाएको राप्रपा यसपटक पनि त्यहाँ विजय दोहोर्‍याउन चाहन्छ।  

प्रमुख पार्टीका प्रभावशाली नेता–कार्यकर्ताको गाउँ प्रवेशसँगै सम्भावित चुनावी परिदृष्यको चर्चा चोक, चौतारा, चियापसल र मेलापातमा हुन थालेको छ। धादिङमा नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, राष्ट्रिय प्रजातन्त्र पार्टी सक्रिय छन्।

निर्वाचन कार्याय धादिङको तथ्यांकअनुसार जिल्लामा २ लाख ७३ हजार १ सय ९३ मतदाता छन्। त्यसमध्ये तामाङ समुदायको बाहुल्यता रहेको रुविभ्यालीमा जिल्लाका १३ पालिकामध्ये सबैभन्दा थोरै ८ हजार ८ सय ७८ मतदाता छन्।

प्रकाशित: १९ चैत्र २०७८ ००:४८ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App