ओमानको राजधानी मस्कट नजिकैको क्वान्टाब समुद्र तटमा दुर्लभ गुलाबी रंगका डल्फिन देखिएका छन्।
गत साता खिचिएका भिडियोमा डल्फिनहरू अन्य डल्फिनसँगै समुद्रको सतहमा पौडिरहेको देखिन्छ। यो दृश्यले समुद्री जीवप्रति चासो राख्नेहरूको ध्यान खिचेको छ।
विज्ञहरूका अनुसार यी डल्फिन इन्डो-प्यासिफिक हम्पब्याक वा रिसो प्रजातिका हुन सक्छन्। यद्यपि, तिनको प्रजाति र गुलाबी रंग देखिनुको वास्तविक कारण पुष्टि भइसकेको छैन।
केही डल्फिनमा गुलाबी रंग प्राकृतिक रूपमा देखिन्छ भने केहीमा शरीरमा रङ उत्पादन गर्ने तत्वको कमीका कारण यस्तो देखिन सक्छ।
अमेजन नदीमा पाइने बोटो डल्फिन प्राकृतिक रूपमा गुलाबी रंगका हुन्छन्। त्यस्तै, इन्डो-प्यासिफिक हम्पब्याक डल्फिन जन्मँदा खैरो हुन्छन् र उमेर बढ्दै जाँदा फिक्का गुलाबी वा सेतो देखिन सक्छन्। शरीरको सतह नजिकका रक्तनलीका कारण पनि तिनको छाला गुलाबी देखिन सक्छ।
बोतलनोज डल्फिनलगायत अन्य प्रजातिमा भने अल्बिनिज्म वा ल्युसिज्मका कारण छालाको रङ असामान्य रूपमा फिक्का हुन सक्छ। त्यसैले वैज्ञानिक पुष्टि नभएसम्म ओमानमा देखिएका डल्फिनको प्रजाति निश्चित गर्न नसकिने विज्ञहरूको भनाइ छ।
ओमानको अरब सागर र ओमानको खाडी क्षेत्रमा विभिन्न प्रजातिका डल्फिन र अन्य समुद्री जीव पाइन्छन्। विज्ञहरूले यस्ता दुर्लभ दृश्यको अध्ययन गर्न स्थानीय वन्यजन्तु अधिकारीलाई जानकारी दिन सुझाव दिएका छन्।
उनीहरूले डल्फिनबाट कम्तीमा ५० मिटर टाढा रहन, तिनलाई पछ्याउन वा छुन नखोज्न र खाना नदिन आग्रह गरेका छन्।
प्रकाशित: ५ कार्तिक २०८३ १५:०६ बिहीबार



-600x400.jpg)

