६ आश्विन २०८१ आइतबार
image/svg+xml
राजनीति

एमालेको ‘काउन्टर’

नेकपा एमालेले सत्तारुढ गठबन्धनलाई काउन्टर दिन पार्टी प्रवेश कार्यक्रमलाई प्राथमिकतामा राखेको छ। अध्यक्ष केपी शर्मा ओली दिनहुँ पार्टी प्रवेश गराउन देश दौडाहा गरिरहेका छन्। बिहीबार पनि ओली दैलेख, कालीकोट र जुम्ला पुगेका थिए। त्यहाँ पार्टी प्रवेश कार्यक्रममा सहभागी भई उनी काठमाडौं फर्किएका छन्।

सत्तारुढ गठबन्धन स्थानीय तहको निर्वाचन आफ्नाविरुद्ध लाग्ने निश्चितजस्तै भएपछि त्यसलाई काउन्टर दिन र शक्ति आर्जन गर्न एमालेले वैशाख ९ गतेसम्म पार्टी प्रवेश गराउने कार्यक्रम अख्तियार गरेको छ। प्रचार विभाग उपप्रमुख विष्णु रिजालका अनुसार एमालेले माओवादी केन्द्र र नेकपा एस, साना वाम पार्टीका साथै नेपाली कांग्रेस र मधेसवादी दलका नेता कार्यकर्तालाई प्रवेश गराउने नीति अख्तियार गरेको छ। ‘पार्टी प्रवेश अभियान देशव्यापी रूपमा सञ्चालन भैरहेको छ’, रिजालले भने।

एमाले अध्यक्ष ओलीसहितका केन्द्रीय नेताहरू पार्टी प्रवेश अभियानकै लागि देश दौडाहामा छन् भने केन्द्रीय सदस्यहरू आआफ्नो जिल्लामा सक्रिय छन्।

रिजालका अनुसार १२ चैतमा सम्पन्न केन्द्रीय कमिटी बैठकबाट आवश्यकताअनुसार अन्य दलसँग तालमेल गर्ने नीति लिइए पनि मूलतः एमाले स्थानीय तहको निर्वाचनमा एक्लै अघि बढेको छ। ‘कोही मिलौं भनेर आउँछन् भने पनि ठीकै छ तर एमाले कमजोर शक्ति हुँदैहोइन, अहिलेको उत्साहले पनि देशव्यापीरूपमा एमालेको जनलहर छ भन्ने पुष्टि भैसकेको छ’, रिजालले दाबी गरे। एमालेविरुद्ध ०७४ को निर्वाचनमा कांग्रेस र माओवादी केन्द्रले देशैभर गठबन्धन बनाए पनि एमाले एक्लैले ४० प्रतिशतभन्दा बढी स्थानीय तहमा निर्वाचन जितेर सबैभन्दा ठूलो दल भएको थियो।

एमालेको केन्द्रीय कमिटी बैठकबाट पारित राजनीतिक प्रतिवेदनमा पनि गठबन्धनमा आबद्ध पार्टीका असन्तुष्ट नेता कार्यकर्तासँग पहुँच र संवाद अगाडि बढाउनुपर्ने उल्लेख छ। सो प्रतिवेदनमा व्यवस्थित रूपमा प्रवेश अभियान सञ्चालन गर्नुपर्ने उल्लेख गरिएको छ।

पार्टीमा आबद्ध नेता कार्यकर्तालाई पार्टी सदस्यता दिने प्रक्रिया आरम्भ गर्ने र वैचारिक–राजनीतिक प्रशिक्षणको उचित व्यवस्था गर्नुपर्ने भन्दै अध्यक्ष ओली आफैं सक्रिय भएका छन्। ‘संकीर्ण राजनीतिक स्वार्थका आफ्नाे कार्यकर्तालाई बारम्बार दुरूपयोग गर्ने नेतृत्वबाट सचेत रहँदै राष्ट्रिय भावना र संकल्प भएका कार्यकर्तालाई भ्रममुक्त गरेर बलियो राष्ट्रिय शक्ति निर्माण, राजनीतिक स्थायित्वको सुनिश्चितता र मुलुकको समृद्धिको अभियानमा गोलबन्द गर्न जरुरी छ,’ ओलीको प्रतिवेदनमा छ, ‘यसका लागि हाम्रो ध्यान अवसरवादी र सत्तास्वार्थमा लिप्त नेतृत्वतिर होइन, निष्ठावान् र इमानदार कार्यकर्तामा केन्द्रित हुनुपर्छ।’

ओलीले एमालेबाट नेकपा एसमा गएका र माओवादीका नेता कार्यकर्तामाथि बढी नजर लगाएका छन्। पार्टी विभाजनबाट भएको क्षति तत्कालीन माओवादीको समूहमाथि नजर लगाउँदा पूर्ति हुने एमाले नेताहरूको बुझाइ रहेको छ। केन्द्रीय कमिटीको पछिल्लो बैठकमा प्रदेश अध्यक्षहरूले साढे दुई महिनामा अन्य पार्टीबाट एक लाखभन्दा बढी नेता–कार्यकर्ता एमाले प्रवेश गरेको रिपोर्टिङ गरेका छन्। त्यसयता पनि एमालेले लगातार पार्टी प्रवेश गराइरहेको छ।

सोमबार कपिलवस्तुमा प्रतिनिधिसभा सदस्य तथा पूर्वमन्त्री बृजेशकुमार गुप्ता, प्रदेश सांसद धर्मबहादुर श्रीवास्तव, कपिलवस्तु नगपालिका–१ का वडाध्यक्ष सुदीप पौडेल, ४ का वडाध्यक्ष रविन्द्र त्रिपाठी, १२ का वडाध्यक्ष ओमप्रकाश पाण्डेय, बुद्धभूमि नगरपालिका–६ का वडाध्यक्ष नन्दलाल यादव, यशोधरा गाउँपालिका–८ का वडाध्यक्ष शहबुद्दिन मुसलमान, कपिलवस्तु नगरपालिकाका पूर्वमेयर रामदास गुप्ता, पूर्वउपमेयर वासुदेव कसौधन, कृष्णनगरका नेता कुनालप्रताप शाहलगायतका थुप्रै नेता कार्यकर्तालाई अध्यक्ष ओलीले पार्टी प्रवेश गराएका थिए।

त्यसअघि सोमबार बिहान पनि बालकोटस्थित निवासमा महोत्तरीका दुई पालिकाका प्रमुख र उपप्रमुखलाई ओलीले पार्टी प्रवेश गराएका थिए। सम्सी गाउँपालिकाका अध्यक्ष शेख फारुख, जलेश्वर नगरपालिकाकी उपप्रमुख मञ्चनुदेवी, सोही नगरपालिका–३ का वडाध्यक्ष जयनारायण मण्डल, ४ का वडाध्यक्ष करिकमाख्या महत्तो, ८ का वडाध्यक्ष रामबिलास महतो, लोहारपट्टी नगरपालिकाका वडाध्यक्ष रामबाबु यादवलाई ओलीले पार्टी प्रवेश गराएका थिए।

मंगलवार दोलखामा पनि माओवादीको एउटा ठूलो समूह एमाले प्रवेश गरेको छ। माओवादीका १ नम्बर निर्वाचन क्षेत्रका अध्यक्ष तथा अघिल्लो निर्वाचनमा गौरीशंकर गाउँपालिका अध्यक्षका उम्मेदवार निमा लामा, माओवादी केन्द्र दोलखाका सचिवालय सदस्य शंखङिमा शेर्पा, अखिल कान्तिकारीका केन्द्रीय सचिवालय सदस्य तथा वाग्मती प्रदेश उपाध्यक्ष मिङगुर शेर्पा, माओवादी केन्द्र गौरीशंकर गाउँपालिका उपसचिव अशोक तामाङलगायत एमाले प्रवेश गरेका छन्।

अघिल्लो हप्ता ओलीले जनता समाजवादी पार्टीका अध्यक्ष एवं पूर्वमन्त्री प्रेमबहादुर सिंह, कलाकार करिश्मा मानन्धरलगायतलाई पार्टी प्रवेश गराएका थिए। सिंह नेतृत्वको पार्टी नै एमालेमा विलय भएको छ। मंगलबारै ओखलढुंगामा माओवादीको युवा संगठन वाइसिएलका जिल्ला अध्यक्ष सुभाष खड्का एमाले प्रवेश गरेका थिए। पर्सा, महोत्तरी, सोलुखुम्बू, बाग्लुङ, प्यूठान लगायतका जिल्लाबाट पनि ठूलो संख्यामा पार्टी प्रवेश गरेको एमालेको रेकर्डमा उल्लेख छ।

कार्यकर्ताबाट वार्षिक ३० करोड उठाउने  

एमालेले कार्यकर्ताबाट वार्षिक ३० करोड रूपैयाँ उठाउने भएको छ। हरेक महिना पार्टीलाई ५ हजार दिने ५ हजार पार्टी सदस्यको अभियान चलाउँदै सो रकम उठाउने भएको हो। पार्टीको दिगो आर्थिक स्रोतका लागि एमालेले त्यस्तो अभियान चलाउने निर्णय गरेको हो।

कोष व्यवस्थापन तथा नियन्त्रण गर्न बनेको केन्द्रीय विभागले पार्टीभित्रै यस्तो अभियान सञ्चालन गर्न लागेको हो। चैत १५ गते जारी भएको अन्तरपार्टी निर्देशनमा उल्लेख भएअनुसार कोष व्यवस्थापन तथा नियन्त्रण विभागका प्रमुखले यससम्बन्धी प्रस्ताव गरेका थिए, जसलाई पार्टीले स्वीकृत गरेको थियो। 

एमालेले त्यसरी अभियानमा जोडिन चाहनेको नाम संकलन गरी चैत अन्त्यसम्म केन्द्रीय कार्यालयमा उपलब्ध गराउन मातहतका संगठनलाई निर्देशन गरेको छ। एमालेले यसरी पैसा उठाएमा २ करोड ५ लाख रूपैयाँ मासिक रूपमा उठ्नेछ। यसरी वार्षिक ३० करोड रूपैयाँ उठाउने योजना एमालेले बनाएको छ।

प्रकाशित: १८ चैत्र २०७८ ०१:५२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App