४ जेष्ठ २०८१ शुक्रबार
image/svg+xml
राजनीति

सम्पूर्ण ताकतका साथ स्थानीय निर्वाचन परिणाम आफ्नो पक्षमा पार्न लाग्नुस्ः अध्यक्ष दाहाल

नेपालगन्जमा बिहीबार कार्यकर्तालाई सम्बोधन गर्दै माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल। तस्बिरः नागरिक

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले सम्पूर्ण ताकतका साथ स्थानीय निर्वाचन परिणाम आफ्नो पक्षमा पार्न लाग्नुपर्ने निर्देशन दिएका छन्। निर्वाचन आफूहरुका लागि अवसर र चुनौती रहेको उनको भनाइ छ।  

नेपालगन्जमा बिहीबार पार्टीका कार्यकर्तालाई सम्बोधन गर्दै उनले  गठबन्धनलाई कसरी सफल पार्ने भन्नेतिर ध्यान दिन निर्देशन दिए। अध्यक्ष दाहालले भने, ‘यो हाम्रो लागि राम्रो अवसर भएर पनि आउँदैछ र चुनौती पनि छ।’ काठमाडौंमा बिहीबार बसेको बैठकले आसन्न निर्वाचनमा गठबन्धन बनाएर जाने निस्कर्ष निकालेको उल्लेख गर्दै केन्द्र, प्रदेश, जिल्ला र पालिका स्तरसम्म संयन्त्र बनाउने सहमति भएको बताए। संविधान, राष्ट्रियता र लोकतन्त्र रक्षाका निम्ती गठबन्धन बनाइएको उनले प्रष्ट्याए।  

अध्यक्ष दाहालले आ–आफ्नो ठाउँको स्थितीका बारेमा पनि राम्रो मूल्यांकन गर्नुपर्ने कार्यकर्तालाई बताए। ‘कहाँ कस्तो स्थिती छ, कस्तो समिकरण बनाउँदा हाम्रो राम्रो परिणाम निकाल्न सक्छौं, त्यो कुराको हाम्रो पार्टीको तर्फबाट तथ्यांक संकलन गर्नतिर लाग्नुपर्यो, साथ साथै अन्य पार्टीका स्थानीय नेतासँग समन्वय गर्ने, सम्भव त भोली (शुक्रबार) सम्म सर्कुलर आउँछ,’ उनले भने।

गठबन्धनलाई बचाउने आफूहरुको जिम्मेवारी रहेको दाहालले बताए। नेपालमा कम्युनिष्ट आन्दोलनको मुल धार को हुने भन्ने लडाई एमाले र माओवादीबीच चलेको बताए। २०६४ को निर्वाचनमा प्राप्त गरेको उपलब्धिलाई बचाउन नसकेकोमा दुःख ब्यक्त गर्दै पूर्वप्रधानमन्त्री समेत रहेका अध्यक्ष दाहालले भने, ‘२०७९ मा हुन लागेको चुनावमा हामीलाई ठूलो अवसर आएको छ, जनताले हामीलाई टेस्ट गर्न खोजेको देखिन्छ, माओवादीलाई एकचोटी हेर्ने हो भन्ने जनमत बन्दै गएको छ।’

‘प्रतिक्रियावादी’ ले माओवादीलाई जसरी भएपनि कमजोर बनाउनुपर्छ भनेर लागिरहेको आरोप लगाए। सबै समुदायको पहिचान र अधिकारका लागि माओवादीमाथी जनताले विश्वास गरेको दाबी गरे।

यसपटक माओवादीले जित्नै पर्ने र अब देशको बागडोर माओवादी केन्द्रले लिने जिकिर पनि गरे। उनले थपे, ‘राजनीतिक रुपमा हामीले लिइरहेका छौं, अब ब्यवहाररिक रुपमा पनि लनेछौं, त्यसका लागि सबै समर्पित भएर लाग्न, एकताबद्ध भएर लाग्न अनुरोध गर्दछु।’  

पार्टीले जितेपछि इज्जत, सम्मान, प्रतिष्ठा, सहिदको सपना, बेपत्ताको सपना पूरा हुने बताए। विगतमा भएका कमी कमजोरीलाई सच्याएर सहिद परिवार, बेपत्ता परिवार, घाइते परिवारका माझमा आत्मालोचना गर्न तयार रहेको अध्यक्ष दाहालले बताए। पार्टीको सम्पन्न महाधिवेशनमा गल्ती कमजोरीलाई सच्याएर आत्म समिक्षा गरिसकेको पनि उनको भनाई छ।

नेपालगन्जस्थित माओवादी नेता स्वर्गीय दामोदर आचार्यको १३ औं दिनको पुण्यतिथीमा सहभागी हुन अध्यक्ष दाहाल नेपालगन्ज आईपुगेका हुन्।

प्रकाशित: १७ चैत्र २०७८ १५:२० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App