६ चैत्र २०८० मंगलबार
राजनीति

स्थानीय तह निर्वाचन: मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृत तोकिए

निर्वाचन आयोगले आउँदो वैशाख ३० मा हुने स्थानीय तह निर्वाचनका लागि जिल्लामा रहने मुख्य निर्वाचन अधिकृत र पालिकामा खटिने निर्वाचन अधिकृत तोकेको छ। आयोगले आउँदो २९ गतेदेखि लागू हुनेगरी मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृत तोकिएको सूचना प्रकाशित गरेको हो।  

२०७४ सालको स्थानीय तह निर्वाचनमा सम्बन्धित पालिकाकै प्रमुख प्रशासकीय अधिकृतलाई निर्वाचन अधिकृत तोकिएको थियो। यो पटक भने आयोगले पालिकाहरूमा बाहिरबाट निर्वाचन अधिकृत तोकेर पठाएको छ। इलामको मुख्य निर्वाचन अधिकृतमा जिल्ला अदालतका न्यायाधीश हरिशचन्द्र इङ्नाम तोकिएका छन्। उनले जिल्ला सदरमुकाम रहेको इलाम नगरपालिकाको निर्वाचन अधिकृतको जिम्मेवारी पनि सम्हाल्ने छन्।

आयोगको सूचनाअनुसार चुलाचुली गाउँपालिकामा भूमिव्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका उपसचिव तेजप्रसाद प्रसाईं, देउमाई नगरपालिकामा जिल्ला समन्वय अधिकारी हरि दाहाल र फाकफोकथुम गाउँपालिकामा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका उपसचिव पुष्पराज पुष्पराज कटवाल निर्वाचन अधिकृत तोकिएका छन्। माई नगरपालिकामा इलाम जिल्ला अदालतका स्रेस्तेदार फणीन्द्रराज भट्टराई, माईजोगमाई गाउँपालिकामा इलाममा प्रमुख मालपोत अधिकृत प्रेमकुमार काफ्ले, माङ्सेबुङ गाउँपालिकामा प्रशासकीय अदातलका उपरजिस्टार घनेन्द्र अधिकारी तोकिएका छन्।  

रोङ गाउँपालिकामा सर्वाेच्च अदालतकी इजलाश अधिकृत उषा श्रेष्ठ, सन्दकपुर गाउँपालिकामा जिल्ला न्यायाधीवक्ता राजेन्द्रबहादुर बस्नेत तथा सूर्याेदय नगरपालिकामा उच्च अदालत इलाम इजलाशका रजिस्टार लोकबहादुर हमाल निर्वाचन अधिकृतका रूपमा खटाइएको आयोगले जनाएको छ।

जिल्लामा रहने मुख्य निर्वाचन अधिकृतले मतदान केन्द्रमा रहने मतदान अधिकृत र सहायक मतदान अधिकृतलगायत कर्मचारी खटाउने जिल्ला निर्वाचन कार्यालयले जनाएको छ। आयोगले आउदो ३० गते इलाम, पाँचथर, ताप्लेजुङ, झापा, संखुवासभा, तेह्रथुम, धनकुटा, भोजपुर, उदयपुर, मोरङ र सुनसरी जिल्लाका लागि विराटनगरमा निर्वाचन अभिमुखीकरण कार्यक्रमसमेत तय गरेको छ।

प्रकाशित: १३ चैत्र २०७८ ०६:४७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App