८ वैशाख २०८१ शनिबार
राजनीति

नेपाल–चीन सम्बन्ध:नौ सम्झौतापत्रमा हस्ताक्षर

नेपाल र चीनबीच दुई पक्षीय सहयोग र सहकार्यसम्बन्धी विभिन्न नौवटा सम्झौतापत्रमा हस्ताक्षर भएको छ।

नेपाल भ्रमणमा रहेका चिनियाँ विदेशमन्त्री वाङ यी र परराष्ट्रमन्त्री नारायण खड्काबीच प्रतिनिधिमण्डलस्तरीय वार्तापछि शनिबार सिंहदरबारमा ती सम्झौतापत्रमा हस्ताक्षर भएको हो। दुई मुलुकबीच आर्थिक तथा प्राविधिक सहयोग र चिनियाँ सहयोगमा बन्ने अन्तरदेशीय रेलवे परियोजनाको सम्भाव्यता अध्ययन सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको छ।

सम्झौतापत्रमा नेपालका तर्फबाट अर्थ सचिव मधु मरासिनी र चीनका तर्फबाट नेपालका लागि चिनियाँ राजदूत होउ याङ्छीले हस्ताक्षर गरेका छन्। त्यस्तै दुई देशका बीचमा चीन–नेपाल प्रसारण लाइन सम्भाव्यता अध्ययनसम्बन्धी सम्झौता भएको छ।

नेपालका तर्फबाट ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालय र चीनका तर्फबाट स्टेट ग्रिड कर्पाेरेसन अफ चाइनाका बीचमा भएको उक्त सम्झौतापत्रमा ऊर्जा सचिव देवेन्द्र कार्की र चिनियाँ राजदूत याङ्छीले हस्ताक्षर गरेका छन्। दुई देशका बीचमा नेपालबाट निर्यात हुने घाँसको स्वास्थ्य र सुरक्षा मापदण्ड प्रोटोकलमा हस्ताक्षर भएको छ।

उक्त हस्ताक्षरमा पशुपन्छी विकास सचिव निरु दाहाल र चिनियाँ राजदूत याङ्छीले हस्ताक्षर गरे। दुई देशका बीचमा चिनियाँ सहयोगमा मर्मतसम्भार तथा स्तरोन्नति गरिएको अरनिको राजमार्गको हस्तान्तरण, नेपालमा उत्पादित सामग्रीलाई ९८ प्रतिशतसम्म भन्सार छुट दिने, चिनियाँ स्वास्थ्यकर्मीद्वारा बिपी कोइराला मेमोलियल क्यान्सर अस्पतालमा सेवा दिने, नेपाललाई चिनियाँ सहयोगअन्तर्गत थप ४० लाख खोप हस्तान्तरण गर्नेलगायत विषयमा पनि सम्झौता भएका छन्।

यसैबीच चिनियाँ विदेशमन्त्री वाङले शनिबार प्रधानमन्त्री शेरबहादुर देउवासँग शिष्टाचार भेट गरेका छन्। भेटमा दुईपक्षीय सम्बन्ध र सहयोगका विविध आयाममा छलफल भएको थियो। उक्त अवसरमा विदेशमन्त्री वाङले चिनियाँ सहयोगमा बनिरहेको पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको भर्चुअल उद्घाटन गर्दै साँचो समकक्षी खड्कालाई हस्ताक्षर गरेका छन्।

प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री देउवाको उपस्थितिमा विदेशमन्त्री वाङले नेपाली समकक्षी खड्कालाई साँचो हस्तान्तरण गरेका हुन्। विमानस्थलको काम ९३ प्रतिशत भइसकेको छ। तीन दिने नेपाल भ्रमणमा आएका वाङले शनिबार केही अनौपचारिक कार्यक्रममा पनि सहभागिता जनाए।

उनले आइतबार राष्ट्रपति विद्यादेवी भण्डारी, एमाले अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालसँग भेट गर्ने कार्यक्रम छ। उच्चस्तरीय भेटघाटपछि वाङ आइतबार नै स्वदेश फर्किने छन्।

प्रकाशित: १३ चैत्र २०७८ ००:१६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App