१९ असार २०८१ बुधबार
image/svg+xml
राजनीति

जातीय विभेद अन्त्यका लागि शिक्षाको आवश्यकता

मुख्यमन्त्री जीवनबहादुर शाहीले जातीय विभेद अन्त्यका लागि शिक्षाको खाँचो रहेको औल्याएका छन्। उनले व्यवहारमै जातीय विभेदको अन्त्य गर्नुपर्ने भन्दै शिक्षा र चेतनाले यस्ता विभेद अन्त्यमा सघाउ पुर्‍याउने बताए।  

‘शिक्षानै परिवर्तनको संभावक हो,’ शुक्रबार नेपाल दलित संघ कर्णाली प्रदेशको पहिलो अधिवेशनलाई सम्बोधन गर्दै मुख्यमन्त्री शाहीले भने, ‘कर्णालीमा व्याप्त जातीय छुवाछुतको अन्त्यका लागि चेतनासँगै कानुनको पनि प्रभावकारी कार्यान्वयन गरिनु आवश्यक छ।’ उनले दलित समुदायको सीपलाई व्यवहारिक कार्यान्वयनमा ल्याइनुपर्ने आवश्यकता पनि औल्याए। ‘दलित समुदाय शिल्पीकार हो,’ उनले भने, ‘यो समुदायको सीपको व्यवहारिक कार्यान्वयन गरिनुपर्छ।’

मुख्यमन्त्री शाहीले समयको महत्व नबुझ्दा कर्णाली पछाडि पारेको बताए। ‘समयनै जीवन हो, समयनै पैसा हो,’ उनले भने, ‘हामीले त्यहीँ महत्व बुझ्न नसक्दा कर्णाली पछाडि परेको छ।’

नेपाली कांग्रेस कर्णाली प्रदेश सभापति ललितजंग शाहीले नेपालको परिवर्तनको आन्दोलनमा दलित समुदायको भूमिका महत्वपूर्ण रहेको बताए। उनले कांग्रेसले दलित समुदायलाई उच्च स्थानमा राखेको बताए। ‘नेपालका अरु प्रदेशको तुलनामा कर्णालीमा दलित समुदायको जनसंख्या धेरै छ,’ उनले भने, ‘आसन्न स्थानीय तहको निर्वाचनमा दलित समुदायलाई पार्टीले उच्च प्राथमिकता दिन्छ।’ शाहीले ‘चार सी’ का आधारमा स्थानीय तहको निर्वाचनमा टिकट दिइने बताए।

‘योगदान, निरन्तरता, प्रतिवद्धता र क्षमताका आधारमा पार्टीले टिकट दिन्छ,’ उनले भने, ‘यसतर्फ हामीले तयारी गरिरहेका छौं।’ दलित संघका केन्द्रीय सचिव तथा प्रदेश संयोजक दिपक सोनीका अनुसार शनिबारसम्म सञ्चालन हुने अधिवेशनले नयाँ नेतृत्व चयन गर्नेछ।

प्रकाशित: २७ फाल्गुन २०७८ १३:४४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App