२३ भाद्र २०८१ आइतबार
image/svg+xml
राजनीति

स्थानिय तह निर्वाचनमा जुट्न कांग्रेस नेताहरूको आग्रह

नेपाली कांग्रेस विराटनगर महानगर समितिले आयोजना गरेको विचार गोष्ठिमा सहभागि नेताहरू। तस्बिरः चुमन बस्नेत/नागरिक

नेपाली कांग्रेसका नेताहरूले स्थानिय तहको निर्वाचन तोकिएको समयमै हुने भएकाले निर्वाचनको तयारीमा जुट्न आग्रह गरेका छन्। शनिबार नेपाली कांग्रेस विराटनगर महानगर समितिले आयोजना गरेको वर्तमान परिस्थितिमा नेपाली कांग्रेसको भूमिका विषयमा विचार गोष्ठिमा केन्द्रिय नेताहरूले स्थानिय तहको निर्वाचनको तयारीमा जुट्न नेता कार्यकर्ताहरूलाई आग्रह गरेका हुन्।

कार्यक्रममा  नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले स्थानिय तहको निर्वाचन तोकिएकै समयमा हुनेमा ढुक्क हुन र चुनावको तयारीमा लाग्न आग्रह गरे। ‘तोकिएकै मितिमा स्थानिय तहको निर्वाचन हुन्छ’ डा. कोइरालाले भने ‘तपाईहरू ढुक्क भएर निर्वाचनको तयारीमा लाग्नुहोस्।’ कोइरालाले गठबन्धनका विषयमा बारम्बार प्रश्न उठ्ने गरेको भन्दै विशेष परिस्थितिमा बनेको गठबन्धन चुनाव सम्मका लागि मात्रै भएको स्पष्ट पारे। उनले एमसीसीका विषयमा नेपाली कांग्रेस सरकार वा प्रतिपक्ष दुवै परिस्थितिमा पास गर्नुपर्छ भन्ने पक्षमा रहेको बताए। उनले पार्टीलाई एक ढिका बनाउने विषयमा सभापति शेरबहादुर देउवा र आफ्नो  समान धारणा रहेकाले आफूहरूबीच कुनै किसिमको तिक्तता नरहेको स्पष्ट पारे। कांग्रेस उपसभापति धनराज गुरूङले कांग्रेस हात्ती भएकाले कुकुर भुक्दैमा हात्ती लम्कन नछाड्ने बताए। उनले कम्युनिष्टहरूसँग चुनावी तालमेल कहिलै नहुने भन्दै चुनावी मैदानमा कांग्रेस एक्लै जाने स्पष्ट पारे। उनले हात्तीको ठूलो कानमा टाँसिए गन्तव्यमा सजिलै पुग्ने सपना नदेख्न गठबन्धनका नेताहरूलाई आग्रह समेत गरे। उनले भने ‘हात्तीको ठूलो कानमा टाँसिएर गन्तव्यमा सजिलै पुग्ने सपना देख्नुभएको छ भने त्यस्तो सपना देख्न छाडिदिनुस्।’

कांग्रेस महामन्त्री गगन थापाले तोकिएकै समयमा निर्वाचन हुने बताए। उनले बैशाख ३० गते तोकिएको स्थानिय तहको निर्वाचन तोकिएकै मितिमा हुने दाबी गरे। संघिय निर्वाचन चाँडै गर्नुपर्ने अवस्था सृजना भए पनि स्थानिय तहको निर्वाचन तोकिएकै समयमा गर्न कांग्रेस जिम्मेवार भएर उभिने थापाको भनाई छ। उनले भने ‘संसदको गतिरोध खोल्न समय अघि नै संघिय निर्वाचन गर्नुपर्ने परिस्थिति बने पनि बैशाख ३० लाई तोकिएको निर्वाचनको मिति तल माथि हुँदैन।’ थापाले नेपालमा माले, मसाले र मण्डले प्रबृत्ती  घातक भएको बताए। जनतालाई भ्रममा राखेर उत्तेजनाको दोकान चलाउन कम्युनिष्ट नेताहरू लागि परेको बताउँदै उनले उत्तेजनाको दोकान चलाएर संधै जनतालाई भ्रममा पार्न नसक्ने स्पष्ट पारे।

नेपाली कांग्रेसका नेता डा. मिनेन्द्र रिजालले १४ औं महाअधिवेशन पछि नेपाली कांग्रेस युवाको पार्टी बनेको दाबी गरे। केन्द्रिय समितिमा निर्वाचित पदाधिकारीलाई हेर्दा नेपाली कांग्रेस अब, युवाको उर्जावान पार्टी बनेको उनको भनाई छ। विचार गोष्ठिमा धारणा राख्दै नेताहरूले कांग्रेसले जनतालाई परिवर्तनको अनुभुति गराउनु पर्नेमा जोड दिएका थिए।

प्रकाशित: २१ फाल्गुन २०७८ १४:०२ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App