२० वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

माओवादीभित्रको विवादमा ‘विप्लव’ प्रवेश

नेकपा माओवादी केन्द्रभित्रको विवादमा नेत्रविक्रम चन्द ‘विप्लव’ को प्रवेश भएको छ। माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालसँग असन्तुष्ट वरिष्ठ नेता नारायणकाजी श्रेष्ठले बुधबार विप्लवसँग गरेको संवादलाई अर्थपूर्ण मानिएको छ।

संवादमा एकले अर्कोलाई सहकार्यका लागि प्रस्ताव गरेका छन्। यो संवादसँगै माओवादी केन्द्रभित्रको विवाद नयाँ मोडमा प्रवेश गर्न सक्ने अडकलबाजी हुन थालेको छ।

अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) र नेपालबीच भएको अनुदान सम्झौता माओवादी केन्द्रका अध्यक्ष दाहालसमेतको अग्रसरतामा प्रतिनिधिसभाबाट अनुमोदन भएपछि पार्टीभित्र विवाद उत्पन्न भएको छ।

अध्यक्ष दाहालले एमसिसी सम्झौता अनुमोदन गर्न पार्टीले लगाएको ह्विप उल्लंघन गर्ने सात सांसदलाई कारबाही गर्नुपर्ने, एमसिसी सम्झौताको विपक्षमा रहेका नेता श्रेष्ठ पार्टी छाड्न स्वतन्त्र रहेको र पार्टी छोड्दा वामदेव गौतमको जस्तै हालत हुने भनेपछि विवाद बढेको हो। दाहालको यस भनाइले आफ्नो अपमान भएको श्रेष्ठले बुझेका छन्। माओवादी केन्द्र दलीय रुपमा एमसिसी सम्झौताको पक्षमा उभिएपछि श्रेष्ठलगायत केही नेताले त्यसको विपक्षमा अभिव्यक्ति दिएका थिए।

एमसिसी सम्झौता अनुमोदनको विषयलाई लिएर अध्यक्ष दाहालसँग मतभेद उत्पन्न भएपछि नेता श्रेष्ठले मंगलबार आफूनिकट नेताहरूसँग परामर्श गरेका थिए। उनले मंगलबार नै वामदेव गौतम र झलनाथ खनालसँग पनि छलफल गरेको बताइएको छ तर यसको पुष्टि हुन सकेको छैन। पार्टीभित्र आफूनिकट नेताहरूसँग परामर्श गरेको अर्को दिन श्रेष्ठले विप्लवलाई भेटेर सहकार्यको प्रस्ताव राखेका हुन्।

नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लवले पनि विचार मिल्ने र राष्ट्रियताको सवालमा मत मिल्नेसँग सहकार्य हुन सक्ने भन्दै त्यसका लागि श्रेष्ठसँग प्रस्ताव गरेको स्रोतले जनाएको छ। विप्लवको सहकार्यको प्रस्तावप्रति श्रेष्ठले सोच्न सक्ने बताएका थिए।

एमसिसी सम्झौता अनुमोदनपछि पार्टी अध्यक्ष दाहालसँग असन्तुष्ट बनेका श्रेष्ठलाई भेट्न विप्लव उनकै निवास हात्तीवन पुगेका थिए। दाहाल र श्रेष्ठबीचको मतभेदले माओवादी केन्द्रभित्र अन्तरसंघर्ष चुलिने संकेत देखिएका बेला त्यसमा खेल्न विप्लवले श्रेष्ठसँग भेट गरेको स्रोतको दाबी छ।

१० वर्षे सशस्त्र संघर्षमा दाहालसँगै रहेका विप्लव शान्तिप्रक्रियापछि माओवादीसँग अलग भई नेपाल कम्युनिस्ट पार्टी खोलेर भूमिगत भएका थिए। २०७७ फागुन २१ मा तत्कालीन केपी ओली नेतृत्वको सरकारसँग तीनबुँदे सम्झौता गरी शान्तिपूर्ण राजनीतिमा आएका विप्लवले आफ्नो शक्ति बढाउन माओवादी धारका विभिन्न पार्टीका असन्तुष्ट नेताहरूसँग सम्पर्क र भेटघाट बढाउँदै आएका छन्।

एमसिसी सम्झौताको विपक्षमा रहेका विप्लव र श्रेष्ठबीचको भेटघाटमा उक्त सम्झौताबाट मुलुकमा पर्ने सम्भावित असरलगायतका विषयमा छलफल भएको थियो। एमसिसी सम्झौता अनुमोदन गर्न नहुने भन्दै भएका सडक आन्दोलनमा पनि श्रेष्ठ सहभागी थिए। विप्लवले एमसिसी सम्झौता अनुमोदन गरेर सत्ता गठबन्धन दलहरूले राष्ट्रघात गरेको आरोप लगाउँदै आएका छन्।

श्रेष्ठले पार्टीअध्यक्ष दाहालमाथि महाधिवेशनको कार्यादेशविपरीत एकलौटी ढंगले काम गरेको आरोप लगाएका छन्। दाहालले व्याख्यात्मक टिप्पणीसहित एमसिसी सम्झौता अनुमोदन गर्नुपर्ने निर्णय लिएपछि त्यसविरुद्ध श्रेष्ठले असन्तुष्टि व्यक्त गरेका थिए। उनले एमसिसी सम्झौता सदनबाट अनुमोदन भएको दिनलाई देशभक्त नेपालीले कालो दिनका रूपमा सम्झिने टिप्पणी गरेका थिए।

एमसिसी सम्झौता अनुमोदन भएको अर्को दिन सोमबार पत्रकार सम्मेलन गरी अध्यक्ष दाहालले श्रेष्ठको व्यवहारप्रति असन्तुष्टि जनाउँदै उनले पार्टी छाडेर गए पनि फरक नपर्ने आशयको अभिव्यक्ति दिएका थिए। व्याख्यात्मक टिप्पणीसहित एमसिसी सम्झौता अनुमोदन गर्न पार्टीले लगाएको ह्विप सात सांसदले उल्लंघन गरेका थिए।

माओवादी केन्द्रभित्र एमसिसी सम्झौता अनुमोदन गर्न नहुने आवाज उठिरहेका बेला दाहालले आफ्ना सांसदलाई प्रतिनिधिसभामा उपस्थित हुन संसदीय दलका सचेतक देव गुरुङलाई ह्विप जारी गर्न लगाएका थिए। दाहालले आफूसँग चिढिएका श्रेष्ठलाई भेटेर दायाँ–बायाँ नसोच्न, एमसिसीबारे आफ्नो मत पार्टीभित्रै राख्न र अन्य विषयमा एकताबद्ध भएर अघि बढ्न आग्रह गरेका थिए।

दाहालले श्रेष्ठलाई असन्तुष्टिका कुरा केन्द्रीय समितिमा राख्न भनेका छन्। केन्द्रीय समितिको बैठक २० गते बस्ने तय भएको छ। श्रेष्ठ पूर्वएकता केन्द्र ब्युँताउने तयारीमा रहेको स्रोतको दाबी छ। दाहालले मंगलबार राति श्रेष्ठलाई भेटेर पार्टी विभाजन नगर्न र एकताबद्ध भएर अघि बढ्न आग्रह गरेका थिए।

अध्यक्ष दाहालबाट अपमानित भएको महसुस गरेका श्रेष्ठलाई उनीनिकट नेताहरूले माओवादी केन्द्रको सदस्यबाट तत्काल राजीनामा दिनुपर्ने, फागुन २० बाट बोलाइएको केन्द्रीय समिति बैठकमा जान नहुने र नयाँ ढंगले पार्टी पुनर्निर्माणमा लाग्न सुझाव दिएको स्रोतको दाबी छ। यस्तो बेलामा उनले विप्लवसँग गरेको कुराकानीले नयाँ मोड लिनसक्ने अनुमान माओवादी नेताहरूको छ।

एमसिसी सम्झौता अनुमोदन महाधिवेशनको कार्यादेशविपरीत भएको र अध्यक्ष दाहाल स्वेच्छारी ढंगले अघि बढेको भन्दै श्रेष्ठ पक्षका नेताले अनुशासनको कारबाही गर्नुपर्ने बताउन थालेका छन्। श्रेष्ठ निकट गिरिराजमणि पोखरेल, लीलामणि पोखरेल, अन्जना विसंखेलगातका नेता दाहाललाई कारबाही हुनुपर्ने पक्षमा छन्।

कृष्णबहादुर महरा, जयपुरी घर्ती, रेखा शर्मा, यशोदा गुरुङ सुवेदी र अमृता थापाले एमसिसी अनुमोदन गर्न बसेको प्रतिनिधिसभाको बैठक बहिष्कार गरेका थिए। उनीहरूले एमसिसीको पक्षमा मतदान गर्न नसक्ने भन्दै बैठक बहिष्कार गरे पनि गिरिराजमणि र अन्जना विशंखेले बैठकमै उपस्थित भएर विपक्षमा हात उठाएका थिए। पार्टी ह्विप नमान्नेलाई कारबाही गर्नुपर्ने आवाज पनि उठेको छ।

प्रकाशित: १९ फाल्गुन २०७८ ००:४७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App