१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

सरकार छाड्ने, समर्थन कायमै

पाँचदलीय गठबन्धनलाई राष्ट्रियसभाको निर्वाचन हुँदै संघीय संसद्को निर्वाचनसम्म लैजाने सहमतिसहित सरकारका सहभागी भएका नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी (नेकपा एस) एमसिसी किचलोका कारण सत्ताबाट बाहिरिने निष्कर्षमा पुगेका छन्।

प्रधानमन्त्रीको जोडबलमा संसद्मा एमसिसी टेबुल भएको छ। प्रधानमन्त्री शेरबहादुर देउवा र उनको दल नेपाली कांग्रेस संसद्मा छलफल गरी एमसिसी पारित गराउने पक्षमा उभिएका छन्। तर सत्ता साझेदार माओवादी केन्द्र र नेकपा एसले सदनमा एमसिसी निर्णयार्थ प्रस्तुत भए विपक्षमा मत दिने निर्णय गरेका छन्। सरकारमै बसेर सरकारकै प्रस्तावको विपक्षमा उभिनु नैतिक मूल्य र मान्यताविपरीत हुने भएकाले ती दुई दल भावी दिनमा गठबन्धन कायम रहनेगरी सरकारबाट बाहिर निस्कने निष्कर्षमा पुगेका हुन्।

‘सरकारमै बसेर सरकारले ल्याएको प्रस्तावको विपक्षमा मत दिनु उपयुक्त होइन। एमसिसीमा मतदान हुने अवस्था आए सरकारबाट बाहिरिने निष्कर्ष निकालेका हौं’, माओवादी केन्द्रका एक उच्च नेताले भने। माओवादी केन्द्रले एमसिसी सदनमा निर्णयार्थ पेस भए विपक्षमा मतदान गर्ने निर्णय गरिसकेको छ

सरकारबाट बाहिरिएर विपक्षमा मतदान गर्ने तयारी यी दुई दलको रहेको माओवादीका ती नेताले बताए। तर नेकपा एसका प्रवक्ता एवं उपमहासचिव जगन्नाथ खतिवडाले यस्तो निर्णय नभइसकेको बताए। ‘पार्टीले एमसिसीको विपक्षमा मतदान गर्ने निर्णय गरेको छ।

तत्काल सरकारबाट बाहिरिने विषयमा केही निर्णय भएको छैन। एमसिसी पास गर्ने विषयमा धेरै प्रक्रिया बाँकी छन्। मतदान गर्नु केही मिनेटअघि मात्रै सरकारबाट बाहिरिने निर्णय हुनसक्छ,’ खतिवडाले भने।

स्रोतका अनुसार सरकारबाट बाहिरिए पनि माओवादी र नेकपा एस दुवैले सरकारलाई दिएको समर्थन कायमै राख्ने भएका छन्। ‘प्रधानमन्त्री जसरी पनि एमसिसी पास गर्ने मुडमा पुग्नुभयो। सरकारमै बसेर सरकारकै प्रस्तावप्रति असहमति राख्ने अनि त्यही सरकारमा बसिरहनुको कुनै औचित्य देखिएन। त्यसकारण पनि सरकारबाट बाहिरिनुको विकल्प छैन,’ माओवादी केन्द्र पूर्व स्थायी कमिटीका एक सदस्यले भने।

माओवादी केन्द्रभित्र नारायणकाजी श्रेष्ठ, देव गुरुङ, हरिबोल गजुरेल, वर्षमान पुन, लीलामणि पोखरेललगायतका नेता एमसिसीको विपक्षमा उभिएपछि अध्यक्ष पुष्पकमल दाहाल पनि त्यही लाइनमा पुगेका हुन्।

‘सरकारबाट बाहिरिँदा समर्थन फिर्ता गर्नुपर्छ भन्ने छैन’, नेकपा एसका प्रवक्ता खतिवडाले भने, ‘सरकारबाट बाहिरिए पनि हाम्रो समर्थन रहिरहन्छ। तत्काल सरकारबाट बाहिरिने विषयमा केही निर्णय भएको छैन। बाहिरिनुपर्ने अवस्था आउन सक्छ।’ दुवै पार्टीका शीर्ष नेताले आन्तरिक दबाब थेग्न नसकेपछि एमसिसी अनुमोदन नगर्ने बरु सरकारबाट बाहिर आएर विपक्षमा मत दिने निर्णय लिएका हुन्।

सत्ता गठबन्धनमा एमसिसीमा एकैमत नभएपछि प्रधानमन्त्री देउवाले एमालेको साथ लिन अध्यक्ष केपी ओलीसँग पनि संवाद गरिरहेका छन्। देउवाले ओलीसँगको संवादलाई निरन्तरता दिएपछि माओवादी केन्द्र र नेकपा एसका अध्यक्षबीच पनि बेग्लै कुराकानी भएको थियो।

दुई अध्यक्षबीच कुराकानी भएपछि सरकारबाट बाहिरिएर एमसिसीको विपक्षमा मत हाल्ने निर्णय भएको हो। माओवादी र नेकपा एसलाई सरकार छाड्न कार्यकर्ता पंक्तिबाट चर्को दबाब परेको छ। नेकपा एसबाट मन्त्री भएका प्रेम आलेलगायतले भने एमसिसी पास गरेर जानुपर्ने धारणा राखिरहेका छन्। सोही पार्टीका झलनाथ खनाललगायतले एमसिसी यथास्थितिमा पास गर्न नहुने बताइरहेका छन्।

प्रकाशित: १३ फाल्गुन २०७८ ००:४१ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App