४ जेष्ठ २०८१ शुक्रबार
image/svg+xml
राजनीति

कनकासुन्दरीमा केन्द्र विवाद कायमै, आठौँ गाउँसभा स्थगित

जुम्लाको कनकासुन्दरी गाउँपालिकामा केन्द्र विवाद कायमै छ। अहिलेसम्म न केन्द्रको टुंगो लागेको छ, नत केन्द्रको लागि जग्गा नै पास हुन सकेको छ। जबसम्म केन्द्र विवाद टुंगिएर अघि बढ्दैन तबसम्म गाउँसभा हुन नदिन गाउँसभा सदस्यहरुले अडान लिएका छन्।

गाउँपालिका केन्द्र विवाद समाधान नभएको भन्दै बिहीबार आयोजना गरीएको कनकासुन्दरी गाउँपालिकाको आठौँ गाउँसभा आधा चलेर स्थगित भएको छ। आठौँ गाउँसभाबाट १० भन्दा बढि ऐन कानुन पारीत गर्ने कार्यसुची बनेको थियो। गाउँसभा सदस्यहरुले तत्काल गाउँपालिका केन्द्रको टुंगो लगाउन माग राखेका छन्।

गाउँसभा सदस्य पदमबहादुर रोकायाले जबसम्म गाउँपालिका केन्द्रको टुंगो लाग्दैन तबसम्म गाउँसभा चल्न नदिने बताए। उनले भने,‘हाम्रो पाँच वर्षे कार्यकाल सकिन लागिसक्यो। पाँच पाँच वर्षसम्म पनि गाउँपालिका केन्द्र्रको टुंगो नलाग्नु लाजमर्दो कुरा हो। अब सबै मिलेर केन्द्र टुंगो लगाएर जग्गा पास गर्ने वातावरण बनाएर मात्र गाउँसभा गर्ने तिर लागौँ।’

यही कार्यकाल भित्र गाउँपालिका केन्द्रको विवाद समाधान नगर्ने हो भने जनताले हामीलाई सराप्नेछन, ती वडासदस्यले भने, ‘गाउँपालिका केन्द्र नतोकेर अघि बढ्ने हो भने गाउँसभा गर्नुको कुनै तुक छैन।’ गाउँ कार्यपालिकाले गाउँसभा मार्फत् केही कानुन पारित गराउन थालेको छ। तर केन्द्र विवाद नहुँदासम्म कानुन पारित हुँदैन। जबसम्म निर्धक्क पुर्वक काम गर्ने वातावरण बन्दैन। तबसम्म कानुन पारित गरेर पनि केही हुनेवाला छैन। अर्का गाउँसभा सदस्य सिंहराज सार्कीले भने,‘हामी गाउँसभा रोक्छौँ। तर गाउँपालिका केन्द्र तोक्न दबाव दिन्छौँ।’

केन्द्र तोक्ने विषय गाउँसभामा छलफलको विषयवस्तु बनाइनु पर्ने माग राख्दै प्रकाश खत्रीको अध्यक्षतामा ३० जनाले हस्ताक्षर गरेर गाउँसभामा पेश गरेका छन्। गाउँपालिकाको केन्द्र कनकासुन्दरी ५ मै हुनुपर्छ भनेर सभामा निवेदन पेश भएकोछ, उनले भने,‘सभामा बृहत छलफल गरेर बहुमतको हिसाबले केन्द्र तोकिनुपर्छ।’

पहिलो चरणमा सहमतिको प्रयास गर्न दबाव दिदै सभासदस्यहरुले सहमतिको संभावना नभएको खण्डमा निर्वाचनका माध्यमबाट भएपनि केन्द्र तोकिनु पर्नेमा जोड दिएका छन्। गाउँसभामा प्रमुख कार्यसुचीका रुपमा गाउँपालिकाको केन्द्र नहुँदा सम्म सभा चल्न नदिने अडान सभासदस्यहरुले गरेका छन्।

जबसम्म गाउँ पालिकाको केन्द्र विन्दु तोकिदैन तबसम्म गाउँसभाबाट कुनै पनि योजना तथा ऐन कानुन पास हुने छैनन्। गाउँसभामा प्रमुख प्रशासकीय अधिकृत तिर्थराज कठायतले सभामा केही कानुन पारीतको लागि पेश गरेका थिए।

उनले कानुन पारित गर्न आग्रह गरेपछि सभा सदस्यले यो गाउँसभामा केन्द्र तोक्ने बाहेकको विषय प्रवेश गर्न नहुँने भन्दै गाउँसभा रोक्न सुझाव दिएका थिए। गाउँसभा पुनः शुक्रबार गर्ने कनकासुन्दरी गाउँपालिकाले जनाएको छ। गाउँसभामा हुन सक्ने विवादलाई मध्येनजर गर्दै सदरमुकाम खलंगादेखि ठूलो मात्रमा सशस्त्र प्रहरी परिचालन गरिएको छ।

प्रकाशित: ६ फाल्गुन २०७८ ०६:४९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App