८ वैशाख २०८१ शनिबार
राजनीति

गाउँपालिका अध्यक्षले त्यागे एमाले

एमाले बागमती प्रदेश सदस्य तथा राष्ट्रिय प्रतिनिधि परिषद् सदस्य केदार क्षेत्रीले एमाले परित्याग गरेका छन्। जिल्लाको बलेफी गाउँपालिकाको अध्यक्ष रहेका उनले बुधबार सदरमुकाम चौतारामा पत्रकार सम्मेलन गर्दै एमाले त्यागेको घोषणा गरेका हुन्।

२०७४ को स्थानीय तह चुनावमा क्षेत्री एमालेबाट गाउँपालिका अध्यक्ष निर्वाचित भएका हुन्। एमालेमा सामन्तवादी  सोच र व्यक्तिवादी प्रवृत्ति हाबी हुँदै गएकाले आफूले ४० वर्षदेखि क्रियाशील पार्टी त्यागेको उनले बताए। ‘एमालेबाट मूक्त भएको घोषणा गर्दा मलाई खुसी लागेको छ,’ उनले भने।  

पार्टी केन्द्रीय महासचिव शंकर पोखरेलले चौतारामा एमाले सिन्धुपाल्चोकको नवौ जिल्ला अधिवेशनबाट नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरुलाई पदको सपथ खुवाइ रहँदा क्षेत्रीले नजिकै अर्को ठाउँमा पत्रकार सम्मेलन गर्दै एमाले त्यागेको घोषणा गरेका हुन्। हालै सम्पन्न जिल्ला अधिवेशनमा उनले अध्यक्ष पदमा दाबी प्रस्तुत गरेका थिए।  

तत्कालीन जिविस सदस्यसमेत भएका क्षेत्री एमाले भित्र चर्चित नेतामा पर्थे। निर्वाचन क्षेत्र नं. १ मा राम्रो जनाधार भएका उनको बर्हिगमनले एमालेलाई ठूलो धक्का पुगेको चर्चा राजनीतिक बृतमा हुन थालेको छ। एमालेमा रहँदा उनी तत्कालीन बरिष्ठ नेता माधव नेपालसँग नजिक थिए। नेपाल एकीकृत समाजवादी दल गठन गरेर त्यता गए पनि क्षेत्री एमालेमै बसेका थिए।  

एमाले त्यागे पनि राजनीति नत्यागेको प्रष्ट पार्दै क्षेत्रीले केही समयभित्रै कुनै राजनीतिक पार्टीमा आवद्ध हुने बताए। तर उनले कुन पार्टी भन्ने चाहीँ खुलाएनन्। माधव नेपाल नेतृत्वको समाजवादीमा जान लाग्नु भएको हो भन्ने प्रश्नमा उनले भने, ‘राजनीतिमा नहुने केही छैन।’ क्षेत्री निकट स्रोतले भने उनी समाजवादीमा प्रवेश गर्ने तयारी भइसकेको बतायो। एमालेमा रहँदा उनले लामो समय नेपाल निकट रहेर काम गरेका थिए।  

एक महिनाअघि मात्र एमाले पूर्वसचिव तथा पूर्वसांसद सुभास कर्माचार्य पनि ठूलो संख्यामा नेता, कार्यकर्ता लिएर समाजवादीमा प्रवेश गरेका थिए। एमालेमा रहेर जिल्ला हाँकेका कर्माचार्य, क्षेत्रीलगायत नेताको प्रवेशले समाजवादीले पनि आकार बढाउँदै लगेको छ। उनीहरुको पार्टी परित्यागले नजिकिँदो स्थानीय चुनाव एमालेलाई धक्का पुग्ने चर्चा जिल्लाको राजनीतिक बृतमा हुन थालेको छ।  

स्थानीय तह निर्वाचनमा सात पालिका, दुई प्रदेश र एक प्रतिनिधिसभा निर्वाचन क्षेत्र जितेको एमाले सिन्धुपाल्चोकमा सबैभन्दा ठूलो दल हो। सिन्धुपाल्चोक तत्कालीन एमाले नेता माधव नेपालको पक्कड भएको जिल्लामा चिनिन्थ्यो। तर पार्टी विभाजनमा एमालेमै रहेका नेता, कार्यकर्ता अहिले भने क्रमशः नेपाल नेतृत्वकै समाजवादीमा प्रवेश गरिरहेका छन्।

प्रकाशित: ४ फाल्गुन २०७८ १३:४२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App