२१ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

गठबन्धन सरकारको मन्त्री र नेताद्वारा दोस्रो अन्तर्राष्ट्रिय विमानस्थलको निरीक्षण

नेपाली कांग्रेसको सभापति शेरबहादुर देउवा नेतृत्व सरकारका तीन जना मन्त्री र सरकारमा सहभागी बनेका दलका नेताहरू सहभागी टोलीले मंगलबार दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल टाँगिया बस्तीको निरीक्षण गरेका छन्।

पूर्व प्रधानमन्त्री तथा नेकपा समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालको नेतृत्वमा आएको टोलीमा नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेल, वन मन्त्री तथा जसपाका नेता रामसहायक यादव, श्रम मन्त्री किसान श्रेष्ठ, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम आले मगर र बाग्मती प्रदेशका मुख्य मन्त्री राजेन्द्र पाण्डे लगायतका टोलीले टाँगिया बस्तीको निरीक्षण गरेका हुन्।

टाँगिया बस्तीमा आयोजना गरिएको कार्यक्रममा पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले स्थानीयहरूले दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल निर्माण गर्न कार्यमा अनावश्यक मागहरू नराखी जायज मागहरू राख्नुपर्ने सुझाव दिएका छन्।

कांग्रेसका नेता रामचन्द्र पौडेलले पूर्व प्रधानमन्त्री गिरिजाप्रसादको कार्यकालदेखि नै टाँगिया बस्तीमा दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल निर्माण गर्न प्रक्रिया सुरु गरिएको र यसलाई ढिलो नगरी निर्माण सुरु गर्नुपर्ने बताए।

कार्यकम्रमा वन मन्त्री रामसहायक यादव, श्रम मन्त्री किसान श्रेष्ठ, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम आले मगर र बाग्मती प्रदेशका मुख्य मन्त्री राजेन्द्र पाण्डेले टाँगिया बस्तीलाई हस्तान्तरण गरेर सरकारले यसको निर्माण कार्य सुरु गर्ने आश्वासन दिएका छन्।

दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल आयोजना कार्यान्वयन एकाई कार्यालयले टाँगिया बस्तीलाई स्थान्तरण नगरीकन विमानस्थलको निर्माण कार्य सुरु नै हुन नसकिने अवस्था रहेको र टाँगियाबस्ती स्थानान्तरणका लागि गृहकार्य भैरहेको जनाएको छ।

दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल आयोजना कार्यान्वयन एकाई कार्यालयका प्रमुख विजय यादवले टाँगियाबस्ती स्थान्तरणमा प्रगति नदेखिए पनि अन्य कामहरूको भैरहेको दावी गरेका छन्। टाँगिया बस्तीले ओगटेको ऐलानी जग्गा हजार बिघाभन्दा बढी रहेको र त्यसलाई स्थानान्तरण गर्न मुख्य चुनौती रहेको यादवले बताए।

टाँगिया बस्तीमा निर्माण गर्न लागिएको दोस्रो अन्तर्राष्ट्रिय विमानस्थलले ओगट्ने नम्बरी जग्गा, त्यसमा रहेका घर–टहराको मुआब्जा वितरण, नदी नियन्त्रण र तारबार गर्ने लगायतको कार्यमा अन्तिम चरणमा पुगेको यादवको भनाइ छ।

विमानस्थलले ओगट्ने एक सय १० बिघा नम्बरी जग्गामध्ये ७० बिघा जतिको मुआब्जा वितरण गरिएको र बाँकी रहेको नम्बरी जग्गाको जग्गा धनीहरूलाई मुआब्जा वितरण गर्ने कार्य अन्तिम चरणमा रहेको यसको निर्माणमा खटेका अधिकारीहरूले जनाएका छन्।

अहिलेसम्म मुआब्जा वितरण, नदी नियन्त्रण र तारबार गर्ने लगायतको कार्यमा ८२ करोडभन्दा बढी खर्च समेत गरिएको प्रमुख यादवले बताए।

विमानस्थलका लागि अधिग्रहण गरिएको लगभग ६७ बिघा  जग्गाको १४४ जना जग्गा धनीहरूलाई ४४ करोड ६३ लाख जति मुआब्जा वितरण गरिएको बताएका छन्।

बाँकी रहेका नम्बरी जग्गा धनीहरूलाई पनि मुआब्जा वितरण गर्ने प्रक्रिया अगाडि बढाइएको यादवले बताए।

दोस्रो अन्तर्राष्ट्रिय विमानस्थलले ओगट्ने ऐलानी तथा निजी जग्गालाई सुरक्षित राख्न गरिएको तारबार र तटबन्ध कार्यमा लगभग ३३ करोड ५० लाख जति खर्च गरिएको प्रमुख यादवले बताए।

विमानस्थलको क्षेत्रफल ६३ किलोमिटरमा फैलिएको र यसले ११ हजार आठ सय ७५ बिघा जग्गा ओगटेको र ६३ किलोमिटर क्षेत्रफलमध्ये अधिकांश क्षेत्रफलमा तारबार गरिएको र बाँकी क्षेत्रफलको तारबार गर्ने कार्य अन्तिम चरणमा रहेको उनले बताए।

निर्माण हुन लागेको दोस्रो विमानस्थलका लागि अधिग्रहण गरिने जग्गामध्ये एक सय १० विघा मात्रै व्यक्तिहरूको नम्बरी पर्ने यकिन गरिए पनि अहिले नम्बरी जग्गाको क्षेत्रफल घटबढ हुने सम्भावना समेत रहेको आयोजनाका अधिकारीहरूले बताएका छन्।

प्रकाशित: ४ फाल्गुन २०७८ ०२:५५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App