coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

शेखरले बढाए सक्रियता

अमेरिकी अनुदान आयोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) का विषयमा सत्ता गठबन्धनमा रहेका राजनीतिक दलबीच चिसो बढ्दै गएका बेला नेपाली कांग्रेसका नेता शेखर कोइरालाले भेटघाट तीव्र बनाएका छन्। शेखरले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र प्रमुख प्रतिपक्षी दलका नेता एवं एमाले अध्यक्ष केपी ओलीसँग भेट गरेका छन्।

दाहालसँग बिहीबार बिहान भेटेका शेखरले एमसिसीका विषयमा माओवादीको स्पष्ट धारणा सार्वजनिक गर्न आग्रह गरे। संसद्बाट एमसिसी अनुमोदन गर्ने विषयले राष्ट्रिय राजनीति विभाजित र प्रभावित भएको उनले बताए। ‘एमसिसीबारे अहिले विकसित परिस्थितिका विषयमा दाहाललाई बताएँ,’ शेखरले दाहालसँगको भेटबारे भने, ‘एमसिसीबारे तपाईंको धारणा प्रस्ट हुनुपर्‍यो, सरकारमा बसेर यसलाई गिजोल्नुभएन भनें।’

एमसिसी संसद्मा टेबुल गर्नुपर्ने धारणा राख्दै शेखरले त्यसपछि संसद् बैठकमा नै छलफल हुँदै जाने बताएको स्रोतको जनायो। शेखर एमसिसी पास गर्नुपर्ने पक्षमा रहेको जानकारी दिँदै दाहाल निकट स्रोतले भन्यो, ‘एमसिसी संसद्मा टेबुल गर्न नै अवरोध गर्नु राम्रो होइन। टेबुल गर्न दिनुपर्‍यो। त्यसपछि छलफल गर्दै पास गर्न सहज हुन्छ भन्ने उहाँको कुरा थियो।’

माओवादी अध्यक्ष दाहालले भने अहिलेकै अवस्थामा संसद्बाट एमसिसी सम्झौता अनुमोदन गर्न नसकिने दोहोर्‍याएका थिए। कांग्रेस सभापतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवासँग आफू छलफलमै रहेको जनाउ दिँदै दाहालले अझै केही समय लिएर मात्र एमसिसीमा टुंगोमा पुग्न सकिने तर्क गरेका थिए। ‘एमसिसीका विषयमा प्रधानमन्त्रीसहित गठबन्धनका शीर्ष नेताहरूबीच छलफल जारी छ,’ दाहाललाई उद्धृत गर्दै स्रोतले भन्यो, ‘निर्वाचनअघि एमसिसी पास गर्न सकिँदैन।’

भेटमा कांग्रेस नेता शेखरले सत्ता सञ्चालनका लागि गठबन्धन रहे पनि वैशाख ३० गतेका लागि तोकिएको स्थानीय तह निर्वाचनसहितका अन्य निर्वाचनमा गठबन्धन गरेर जान नसकिने स्पष्ट पारेका थिए। पार्टी सभापति देउवाले स्थानीय तहसहितका निर्वाचनमा सत्ता गठबन्धनमा रहेका दलहरू तालमेल गरेर जाने बताइरहेका बेला शेखरले निर्वाचनपछि भने फेरि गठबन्धन गरेर सत्ता सञ्चालनका लागि कांग्रेस खुला रहेको बताएका थिए। ‘प्रदेश र प्रतिनिधिसभाको निर्वाचनमा पनि गठबन्धन गरेर जाने अवस्था छैन,’ शेखरले दाहालसँगको भेटमा भनेका थिए, ‘स्थानीय तहको निर्वाचनमा त झनै गठबन्धन हुँदैन। निर्वाचन सकिएपछि चाहिँ गठबन्धन गरेर जान सकिन्छ।’

स्थानीय तहको निर्वाचनमा गठबन्धन गर्दा कुनै पनि राजनीतिक दललाई फाइदा नहुने तर्क गर्दै शेखरले कांग्रेसका नेता कार्यकर्ताले माओवादीसहितका दलका उम्मेदवारलाई भोट हाले पनि उनीहरूले भने आफ्नो पार्टीका उम्मेदवारलाई विगतमा भोट नदिएको सुनाएका थिए। दाहालले भने गठबन्धन गरेर निर्वाचनमा जाँदा गठबन्धनमा रहेका सबै दललाई फाइदा हुने दाबी गरेका थिए। आगामी चुनावमा गठबन्धन गर्दा अहिलेको सरकार पनि बच्ने तथा संविधान र लोकतन्त्रको रक्षाका निम्ति समेत गठबन्धन आवश्यक रहेको दाहालको दाबी थियो।

भेटमा प्रतिनिधिसभा सुचारु गर्नेसहित मुलुकको पछिल्लो राजनीतिक अवस्थाका विषयमा दुई नेताबीच कुरा भएको थियो। यसअघि शेखरले एमाले अध्यक्ष केपी शर्मा ओलीसँग पनि छलफल गरेका थिए। ओलीले एमसिसी धेरै गिजोलिएको भन्दै संसद्मा टेबुल गर्ने वातावरण मिलाउन शेखरसँग आग्रह गरेका थिए।

प्रकाशित: २८ माघ २०७८ ०४:१५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App