१ जेष्ठ २०८१ मंगलबार
image/svg+xml
राजनीति

राजनीतिक दलहरुलाई जिम्मेवार हुन गाउँपालिकाको आग्रह

राजनीतिक दलहरुले श्रृंखलाबद्ध रुपमा आन्दोलन चकाई रहेका बेला सुनसरीकाे कोशी गाउँपालिकाले जिम्मेवार हुन आग्रह गरेको छ।  

राजनीतिक दलहरुबीच श्रृंखलाबद्ध रुपमा प्रदर्शन गर्ने क्रम चलिरहेकाले बेला गाउँपालिकाले राजनीतिक दलहरुले आफ्नो राजनीतिक धर्म निर्वाह गर्नुको साटो विरोधकै लागि विरोध गरिरहेकाले गर्दा जिम्मेवार हुन अध्यक्ष अयूव अन्सारीले आग्रह गरेका हुन्। तीन दिनअघि सिके राउतले नेतृत्व गरेको जनमत पार्टीले कोशी गाउँपालिकाको लौकहीमा प्रदर्शन गरेको  थियो।

जनमत पार्टीका कार्यकर्ताले स्थानीय सरकारले भ्रष्टाचार गरेको दावी गर्दै गाउँपालिका पुगेका बेला माघ १६ गते अध्यक्ष अन्सारीमाथि दुर्व्यवहार भएको दावी गरिएको  छ।  

जनमत पार्टीका कार्यकर्ताले अनसारीलाई दुर्व्यवहार र गाडी तोडफोडा गरेको भन्दै साताअघि जनमत पार्टीका कार्यकर्तालाई करबाहीको माग राखेर लौकहीमा नेपाली काँग्रेसले प्रदर्शन गरेको थियो। दुई दिनअघि कोशी गाउँपालिका वडा नं. ६ मा आर्थिक अनियमितता भएको भन्दै ज्ञापनपत्र बुझाइएको थियो।  

यसरी श्रृंखलाबद्ध रुपमा आरोप चलिरहेकै बेला अध्यक्ष अन्सारीले आइतबार पत्रकार सम्मेलन गरि संविधानमा उल्लेख गरिएअनुसार सूचनाको हक अन्तर्गत हरेक नेपाली नागरिकले स्थानीय तह वा अन्य स्थानमा भए/गरेका गतिविधिहरुका बारेमा जानकारी भएपनि त्यसविपरीत आन्दोलन चर्काउनु गलत भएको बताए। ‘यदि कहिँकतै अनियमितता वा भ्रष्टाचार भएको पाइएको अवस्थामा सम्बन्धित निकायमा प्रमाणसहित उजुरीका माध्यमबाट त्यस्ता व्यक्तिलाई कानुनी दायरा पुर्‍याउन भूमिका निर्वाह गर्नु हरेक जिम्मेवार नागरिकको समेत दायित्व हो,’ अन्सारीद्वारा जारी विज्ञप्तिमा भनिएको छ।

उनले केही दिनयता कोशी गाउँपालिकाको विभिन्न वडा  र गाउँपालिका कार्यालयमा  जनताको काम अवरुद्द गर्ने, सर्वसाधारण जनता भड्काउने वा आतंकित बनाउने, निर्वाचित जनप्रतिनिधिहरुको व्यक्तिगत चरित्रमाथि प्रहार गर्ने, सार्वजनिक सम्पत्तिमा हानी नोक्सानी गर्ने भएकाले गर्दा जिम्मेवार हुन आग्रह गरेका छन्। जनताबाट निर्वाचित भएपछि आफ्नो नेतृत्वमा कोसी गाउँपालिकामा तीव्र गतिमा भइरहेको विकास निर्माण कार्यका कारण जनस्तरबाट पाएको साथ र समर्थनबाट हतोत्साहित र आश्चर्यचकित भएका विपक्षी राजनीतिक दलहरुले विरोधका नाममा बिरोध गरेको उनले जिकिर गरेका छन्।

प्रकाशित: २३ माघ २०७८ १५:०१ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App