१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

आउने निर्वाचनमा कांग्रेसलाई जिताउने अभियानमा लाग्नुस्ः सह–महामन्त्री राठौंर

नेपाली कांग्रेसका सह–महामन्त्री किशोरसिंह राठौंरले आउने निर्वाचनमा पार्टीलाई जिताउने अभियानमा लाग्न कार्यकर्तालाई निर्देशन दिएका छन्। निर्वाचनको विषयमा पार्टीको केन्द्रीय समितिले चाडै टुंगो लगाउने उनको भनाई छ।  

कांग्रेस नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर २ कार्यसमितिले शनिबार आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै नेता राठौरले अहिलेसम्म निर्वाचनबारे कुनै टुंगो नलागेपनि छिट्टै बस्ने केन्द्रीय समितिले निक्र्यौल गर्ने बताए।  

‘तीनै तहको निर्वाचन एकै चोटी गर्ने कि भन्ने कुराहरु पनि उठिरहेको छ, वैशाखमा गर्ने कि भन्ने कुरा भइरहेको छ, यस विषयमा केन्द्रीय समितिले कुनै टुंगो लगाएको छैन,’ उनले भने, ‘छिट्टै केन्द्रीय समितिको बैठक बस्छ, केन्द्रीय समितिको बैठकमा छलफल हुन्छ, विचार र दृष्टिकोणहरु आउँछन्।’  

आसन्न निर्वाचनमा पार्टी एक्लै जाने कि मिलेर जाने भन्ने कुरा चलिरहेको भन्दै सह–महामन्त्री राठौंरले गठबन्धन नगर्ने भनि चर्को कुरा गरेर मात्र केही नहुने बताए। ‘गठबन्धनले गर्दाखेरी कांग्रेसभित्र दुःख पाएका नेता युवराज शर्मा राष्ट्रिय सभाको माननीय हुनु भएको छ, यो उपलब्धि हो कि होइन?’, राठौंरले प्रश्न गर्दै भने, ‘अहिले गठबन्धन नभएको भए युवराज शर्मा राष्ट्रिय सभा सदस्य बन्न सक्नु हुन्थ्यो? त्यसैले चर्का र पपुलर कुरा गर्न सबैलाई आउँछ, सत्य कुरा गर्नलाई मुटु चाहिन्छ मुटु।’  

कांग्रेसले एक्लै जित्न सक्ने अवस्था सिर्जना गर्न सकेमा गठबन्धनको आवश्यकता नपर्ने नेता राठौंरले बताए। उनले थपे, ‘त्यही भएर संगठन गर्नुस्, वडामा एक्लै जान सक्ने अवस्था सिर्जना गर्नुस्। गठबन्धन किन गर्नुपर्यो? देशभर कांग्रेसका साथीहरुले एक्लै जित्न सक्ने अवस्था सिर्जना गर्न सक्नु भयो भने गठबन्धनको आवश्यकता छैन।’  

अहिलेसम्म गठबन्धनमै सरकार चलेको र राष्ट्रिय सभा निर्वाचनमा पनि गठबन्धन गरेरै उपलब्ध प्राप्त गरेको भन्दै सह–महामन्त्री राठौंरले भने, ‘गठबन्धन गरेर जाने कि एक्लै जाने कि त्यो तपाईहरुमा निर्भर हुन्छ, तपाईहरुले संगठन बलियो बनाउनु भएन भने गठबन्धन हुन्छ, अहिले पाँच जनाले अवसर पाउनु भएको छ भने भोलि एक जनाले मात्र पाउनुपर्ने अवस्था पनि सिर्जना हुन्छ, त्यसकारण संगठन गर्न लाग्नुस्।’  

पार्टीको केन्द्रीय समितिले गरेको निर्णयलाई कार्यकर्ताले बोकेर हिँड्नुपर्ने तर बहस गर्न आवश्यक नरहेको उनको भनाई छ। पार्टीभित्र रहेका कमी कमजोरीलाई सच्याएर मजबुद बनाउन सबै कार्यकर्ता अग्रसर रहनुपर्ने बताए। त्यसका लागि केन्द्रीय स्तरबाट आवश्यक सहयोग गर्न आफू तयार रहेको प्रतिबद्धता जनाए।  

कांग्रेस हुनका लागि क्रियाशील सदस्य हुन जरुरी नभएको बताउँदै सह–महामन्त्री राठौंरले भने, ‘कांग्रेस हुनलाई क्रियाशील सदस्य हुनुपर्छ भन्ने छैन, मतदाता भएर, साधारण सदस्य भएर पनि कांग्रेस हुन पाइन्छ, तर क्रियाशील सदस्य भईसकेपछि पार्टीको काम गर्दा मलाई फुर्सद छैन भन्न पाइन्न।’  

पार्टीले मलाई के दियो भन्नुभन्दा पनि पार्टीलाई मैले के दिए वा के दिन सक्छु भन्ने सोचको विकास कार्यकर्तामा हुनुपर्ने बताए। मुलुकमा अन्य कुनैपनि पार्टीले वडादेखि केन्द्रसम्म भब्य महाधिवेशन नगरेको र त्यो कांग्रेसले मात्र गरेको दाबी गरे। पार्टीभित्रको आन्तरिक संघर्ष समाप्त भइसकेकाले अब पार्टीको संगठन निर्माणमा सबै लाग्नुपर्ने बताए।

प्रकाशित: १५ माघ २०७८ १४:०७ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App