८ वैशाख २०८१ शनिबार
राजनीति

नयाँ संसद् आउँदा तयार होला त भवन?

संसदीय निर्वाचन २०७४ साल मंसिरमा भएकाले संसद्को पाँच बर्से कार्यकाल सकिन अझै एक वर्ष बाँकी छ। संसद्का दुवै सदन प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक बस्न नयाँ बानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रलाई भाडामा लिएर प्रयोग गरिँदै आएको छ।

व्यवस्थापिका राज्यको एउटा अभिन्न अंगको रूपमा संविधानले व्यवस्था गरेकाले अब संसद्को स्थायी संरचनाको आवश्यकता देखिन्छ। संसद् सचिवालय सिंहदरबारमा रहेकाले संसद् बैठकको दिन कर्मचारीलाई कागजपत्र ओसार्ने झण्झट हुँदै आएको छ।

संसद् बैठक सकिएपछि नयाँ बानेश्वरमा रहेको भवनलाई तालाचाबी लगाएर कर्मचारी फेरि सिंहदरबारमै फर्किने गर्दछन्। यतिबेला संसद् नहुँदा नयाँ बानेश्वरमा तालाचाबी लगाइएको छ। यस्तो अवस्थाले कति दिन चल्ने भन्ने बहस धेरै भएपछि २०७६ देखि नयाँ संसद् भवन बनाउने विषयमा निष्कर्षमा पुगी निर्माणको ठेक्का दिइएको थियो।

२०७६ असोजमा संसद् भवन निर्माणको शिलान्यास भएको थियो। ठेक्का बमोजिम सिंहदरबारको पुतली बगैंचामा दुई वर्षदेखि संसद्को आफ्नो भवन बनाउने क्रम जारी छ। २०७७ मंसिर ३० गते संसद्को विकास तथा प्रविधि समितिले ‘तीन वर्षको अवधिमा निर्माण सम्पन्न गर्नेगरी सम्झौता भएको नयाँ संघीय संसद् भवन निर्माणको हालसम्मको भौतिक प्रगतिको गति सन्तोषजनक नदेखिएकाले निर्धारित मितिमा सम्पन्न हुनेगरी आवश्यक कार्ययोजना तत्काल बनाई कार्यान्वयन गर्न र उक्त कार्ययोजना समितिलाई समेत उपलब्ध गराउन भन्दै निर्देशन दिएको थियो।

सरकारले सिंहदरबारस्थित पुतली बगैंचामा १ सय ७३ रोपनी ८ आनामा संघीय संसद् भवनको निर्माण गरिरहेको छ। २०७६ असोज १६ गते टुंडी एसएचइसी जेभीलाई पाँच अर्र्ब ६७ करोड २७ लाख ६१ हजारमा यो भवनको निर्माण ठेक्का दिएको हो।

निर्माण भइरहेको भवनको योजना तथा वास्तुकलाको जिम्मा इन्गर कन्सल्टेन्सीले प्रालिले पाएको छ भने विस्तृत संरचनाको डिजाइन डिगीकोन इन्जिनियरिङ कन्सल्ट प्रालिले पाएको छ। सम्झौता अनुसार निर्माण सुरु भएको ३ वर्षभित्र भवन बनिसक्नुपर्नेछ। अर्थात् उक्त संसद् भवनको आर्थिक वर्ष २०७५/२०७६ मा निर्माण गरी आव २०७८/७९ मा सम्पन्न गर्नुपर्दछ।

कोरोना संक्रमणले गर्दा अहिले छ महिना पर धकेलिने अवस्था देखिएको स्रोतले बतायो। तर, कोरोना माहामारीका कारण गत चैतबाट निर्माणमा निकै प्रभावित भएको छ। अहिले पनि कोरोनाका कारण निर्माणमा सुस्तता आउन थालेको छ।

जसबाट नयाँ संसद्को निर्वाचनपछि आउने संसद्को बैठक बसाल्न कठिनाइ बन्दै गएको छ देखिएको संसद् सचिवालयको अनुमान छ। आगामी वर्ष संसद् बैठक यही भवनमा बसाल्ने उद्देश्यले संसद् सचिवालयले पनि बेला बेलामा संसद् भवन छिटो सम्पन्न गर्न ताकेता गर्दै आएको छ।

सिंहदरबारभित्र रहेको संसद् भवनमा संविधानसभाबाट निर्वाचित र मनोनितबाट आउने ६०१ सभासद नअटाउने भएपछि २०६५ सालमा पहिलो संविधानसभाको बैठक अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा बसेको थियो। त्यसपछि अहिलेसम्म सोही ठाउँमा संसद् बैठक बस्दै आएको छ।

संसद् सचिवालय र अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र विकास समितिबीच भाडाको लागि २०६५ देखि भएको सम्झौता १० प्रतिशत भाडा वृद्धि हुँदै अहिलेसम्म निरन्तर जारी छ। भाडा वृद्धि हुँदै जाँदा गत पुस २८ गते दुवैबीच भएको सम्झौतामा वार्षिक भाडा १६ करोड ५० लाख संसद् सचिवालयले बुझाउने उल्लेख छ।

प्रकाशित: १३ माघ २०७८ ०१:०७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App