१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

मधेस प्रदेशमा एमाले–लोसपा सहकार्य

राष्ट्रियसभा सदस्य निर्वाचनमा मधेस प्रदेशमा नेपाल कम्युनिस्ट पार्टी (एमाले) र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) ले सहकार्य गर्ने भएका छन्। एमाले र लोसपाबीचको यो सहकार्य राष्ट्रियसभा निर्वाचनका लागि मात्र नभई पछिसम्म पनि रहने संकेत देखिएको छ।

केपी ओली प्रधानमन्त्री भएका बेला एमाले तथा तत्कालीन जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष महन्थ ठाकुर र नेता राजेन्द्र महतो पक्षबीच सम्बन्ध राम्रो थियो। ठाकुर र महतोले ओलीलाई सहयोग गरेको विषयलाई लिएर जसपामा विवाद भयो। जसपाका ठाकुर, महतो, शरत्सिंह भण्डारी, अनिल झालगायतका नेता पार्टी फुटाउन तयार भए तर उनीहरू ओलीसँगको सम्बन्ध टुटाउन तयार भएनन्। अन्ततः जसपा फुट्यो।

जसपाबाट अलग भएर ठाकुर, महतोलागयतले लोसपा गठन गरे। ओली प्रधानमन्त्री भएका बेला जसपाको ठाकुर–महतो पक्ष सरकारमै गयो। ओली प्रधानमन्त्रीबाट हटेपछि पनि ठाकुर, महतोलगायतका नेताले उनीसँगको सम्बन्ध कायमै राखे। बेलाबेलामा ओलीलाई भेट्न ठाकुर, महतोलगायत नेता बालकोट पुगिरहन्छन्। ओलीलाई प्रधानमन्त्रीमा टिकाउन ठाकुर र महतोले अन्तिम समयसम्म प्रयास गरेका थिए।

ठाकुर, महतोलगायतले छाडेपछि उपेन्द्र यादवले नेतृत्व गरेको जसपा अहिले सत्तामा छ। तत्काल जसपासँग लोसपाको सहकार्य हुने सम्भावना छैन। यस्तो बेला लोसपाका ठाकुर, महतोलगायतका नेताले एमालेसँगको सहकार्य बलियो बनाउन खोजेका छन्।

लोसपा स्रोतका अनुसार यो सहकार्य आगामी निर्वाचनसम्म जाने प्रबल सम्भावना छ। ‘पाँचदलीय गठबन्धनमा नभएका दलले अर्को गठबन्धन गर्न सक्छन्। यो स्वाभाविक पनि हो,’ लोसपा कार्यकारिणी समितिका सदस्य केशव झाले भने, ‘त्यसैले आगामी चुनावसम्म एमाले र लोसपाबीच सहकार्य हुने सम्भावना छ ।’ तर आगामी चुनावसम्म सहकार्य गर्ने सहमति भने भइनसकेको उनले बताए।

‘अहिले मधेस प्रदेशमा राष्ट्रियसभा सदस्य चुनाव प्रयोजनका लागि हामीले सहकार्य गर्ने भएका छौं। यो सहकार्य पछिसम्म जाने अवस्था छ,’ उनले भने।

पछिल्लो समय मधेसमा विभिन्न गतिविधि गर्दै आएको जनमत पार्टीका अध्यक्ष सिके राउत पनि एमाले र लोसपाबीचको अघोषित गठबन्धनसँग नजिकिएका छन्। राउतका कार्यकर्ताले सार्वजनिक रुपमा लोसपाका कार्यकर्ताको विरोध गर्दैनन्।

राउतले पनि सार्वजनिक रुपमा लोसपाका शीर्ष नेताहरूको विरोधमा कुनै अभिव्यक्ति दिएका छैनन्। तर जसपा र जनमत पार्टीबीचको सम्बन्ध पछिल्लो समयमा निकै चिसिएको छ। एकले अर्कोलाई सार्वजनिक रुपमै धम्की दिने गरेका छन्। जसपासँग राम्रो सम्बन्ध नभएपछि राउत एमाले र लोसपाको गठबन्धनसँग नजिकिएको स्रोतको दाबी छ।

लोसपा नेता झाले मधेसमा आफ्नो पार्टी र जनमत पार्टीका कार्यकर्ताले एकले अर्कोलाई अप्ठेरोमा पार्ने काम नगरेको बताए। ‘हामी (लोसपा र जनमत) बीच एकले अर्कोलाई अप्ठेरो पार्ने काम भएको छैन,’ झाले भने, ‘त्यसैले कुनै वैरभाव छैन।’ आगामी चुनावमा जनमत पार्टीसँग पनि सहकार्यको सम्भावना रहेको झाले बताए।

मधेसमा आफ्नो प्रभाव बढाउन जनमत पार्टीले बेलाबेलामा हिंसात्मक गतिविधि पनि गर्दै आएको छ। जनमत पार्टीको हिंसात्मक गतिविधिको मारमा जसपाका कार्यकर्ता नै बढी पर्ने गरेका छन्। एमालेले पनि लोसपा र जनमत पार्टीसँग सहकार्य गरेर मधेस प्रदेशमा आफ्नो प्रभाव जमाउन खोजेको छ।

प्रकाशित: १२ माघ २०७८ ०२:५७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App