८ वैशाख २०८१ शनिबार
राजनीति

गुटको नाममा धेरै विरोध गर्नु उचित होइन: कांग्रेस नेता गिरी

पत्रकार भेटघाटमा बोल्दै कांग्रेस नेता एवम् पूर्वमन्त्री दीपक गिरी। तस्बिरः नागरिक

नेपाली कांग्रेसका नेता एवम् पूर्वमन्त्री दीपक गिरीले पार्टीभित्र विरोधका नाममा विरोध गर्न नहुने बताएका छन्। चुनावको समयमा एउटा गुट बनेपनि सधैंभरी गुट खडा गरेर नेतृत्वको विरोध गर्न नहुने उनको भनाई छ।  

नेपाल प्रेस युनियन बाँकेले मंगलबार नेपालगन्जमा गरेको पत्रकार भेटघाटमा कांग्रेस केन्द्रीय सदस्य गिरीले भने, ‘१४ औं महाधिवेशनबाट शेरबहादुर जी पार्टी सभापति हुनुहुन्छ, उहाँले गुटको होइन कि सबै कांग्रेसको सभापति भएर काम गर्नुपर्छ र अरुले पनि विरोधका नाममा विरोध गर्ने होइन।’ नेता गिरी १४ महाधिवेशनमा संस्थापन इतर (शेखर कोइराला) प्यानलबाट केन्द्रीय सदस्यमा निर्वाचित भएका थिए। कोइराला पक्षले सभापति देउवाको कार्यशैलीको चर्को विरोध गरिरहेका बेला उनको फरक धारणा आएको हो।  

चुनाव लड्दा आफू पनि कुनै समूहबाट लडेको स्मरण गराउँदै नेता गिरीले अब आफू समग्र कांग्रेस पार्टीको ग्रुपमा रहेको स्पष्ट पारे। कांग्रेसलाई एकताबद्ध गराउन पार्टीभित्र धेरै समयसम्म गुट बनाउन नहुने उनको भनाई छ। ‘शेरबहादुर जीले राम्रो काम गरेको कुरामा गुटको नाममा धेरै विरोध गर्नु उचित होइन भन्छु म, यो समय संवेदनशिल समय हो, आज उहाँले गरेको उचित कुराको म कदर गर्छु,’ गिरीले भने, ‘गलत काम गर्नुभयो भने विरोध पनि गर्छु।’ तर, अहिले नै नेतृत्वको आलोचना गर्ने समय नआएको बताए।  

पार्टीमा अहिले खारिएको व्यक्ति सभापति र युवाहरु पनि आएको भन्दै देउवाले उचित ढंगले पार्टी चलाउनेमा आफू विश्वस्त रहेको बताए। स्थानीय तहको निर्वाचनबारे पार्टी सभापतिले केन्द्रीय समिति वा पदाधिकारी बैठक राखेर निर्णय गर्दा उचित हुने सुझाव दिए। मुलुकमा संवैधानिक संकट आउँदैन भने ऐन/नियमलाई बदलेर भएपनि तीन तहको निर्वाचन एकै पटक गराउनुपर्ने धारणा राखे। ‘ऐन नियम बदल्न मिल्छ भने तीन वटै निर्वाचनसँगै गर्दाखेरी नेपाललाई भार कम हुन्छ, मुलुकलाई क्षति हुँदैन, राष्ट्रलाई क्षति हुँदैन भने संसदको निर्वाचन पहिले त्यसपछि स्थानीय निर्वाचन गर्दापनि बेटर हुन्छ,’ गिरीले भने। वर्तमान सत्तारुढ पाँच दलीय गठबन्धन नभएको भए कांग्रेसले राष्ट्रिय चुनाव जित्ने सम्भव नै नहुने भन्दै गठबन्धन आवश्यक रहेको उनले बताए।  

अर्को प्रसंगमा नेपाल–भारत सीमा समस्यालाई प्रधानमन्त्री र परराष्ट्रमन्त्री स्तरबाट वार्ता गरेर समाधान गर्नुपर्ने सुझाव दिए। तर भारतलाई गाली गरेर मात्र राष्ट्रवादी नहुने उनको बुझाई छ। केवल चर्चामा आउनका लागि कतिपयले भारतलाई गाली गरेको र भारतको पैसा खानेले नै भारतलाई गाली गर्ने गरेको पूर्वमन्त्री गिरीको आरोप छ।

‘भारतलाई गाली गरेर मात्र राष्ट्रवादी भइन्न, चर्चाका लागि बोलेर मात्रै केही हुँदैन,’ उनले भने, ‘पैसा पनि खाने, भारतलाई गाली गर्ने पनि छन्, यहाँ।’संसदीय प्रणालीमा जनताप्रति जिम्मेवारी लिने संसद भएपनि एमालेका कारण संसद लामो समयदेखि चल्न नसकेको टिप्पणी गरे। ‘केपी ओली संसदप्रति जवाफदेही हुनुपर्छ, एमाले पार्टी पनि संसदप्रति जवाफदेही हुनुपर्यो, सरकारमा रहेका पार्टीहरु पनि संवेदनशिल हुनुपर्छ,’ केन्द्रीय सदस्य गिरीले भने। मुलुकका विधमान समस्या समाधान गर्नमा पार्टी सभापति एवम् प्रधानमन्त्री देउवालाई कांग्रेसका नेताहरुले सहयोग गर्नुपर्ने बताए।

प्रकाशित: ११ माघ २०७८ १५:२७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App