१७ असार २०८१ सोमबार
image/svg+xml
राजनीति

धरानको कार्यपालिका बैठक एमालेका जनप्रतिनिधिद्वारा बहिष्कार गरेपछि स्थगित

धरान उपमहानगरपालिका। तस्बिरः नागरिक

धरान उपमहानगरपालिका नगर कार्यपालिकाको बैठक नेकपा एमालेका जनप्रतिनिधिहरुले बहिष्कार गरेपछि स्थगित भएको छ।

कार्यपालिका बैठक आज (शुक्रबार) बिहान ८ बजे बोलाइएको थियो। तर, एमालेबाट निर्वाचित वडाध्यक्ष एवं कार्यपालिका सदस्यहरु बैठकमा उपस्थित नभएपछि गणपुरक संख्या नपुगेर बैठक स्थगित भएको हो। प्रमुख प्रशासकीय अधिकृत लक्ष्मीप्रसाद पौडेलले गणपुरक संख्या नपुगेको कारण बैठक स्थगित भएको बताए।

उनले एमालेका जनप्रतिनिधिहरुले बैठक बहिष्कार गरेको बिषय आफूलाई थाह नभएको पनि बताए। ‘बैठक बहिष्कार गरेको भन्ने थाह भएन। गणपुरक संख्या नपुगेर बैठक स्थगित भयो,’ उनले भने।

एमालेका जनप्रतिनिधिहरुले मेयर तिलक राईले कार्यपालिका बैठकको एजेण्डाबारे आवश्यक छलफल र समन्वय नगरी एकलौटी ढंगले अघि बढेको कारण बहिष्कार गरेको बताएका छन्। एमालेबाट निर्वाचित उपमेयर मञ्जु भण्डारी सुवेदीले बैठकको एजेण्डाबारे छलफल र समन्वय नगरेको बताइन्।

धरानमा कोरोना संक्रमण तीव्र गतिमा फैलिइरहँदा पनि बैठकको एजेण्डा नराखिएको उनको भनाइ छ। उपमहानगर आर्थिक संकटमा परेको तर आयस्रोत बढाउनतर्फ मेयरले ध्यान नदिएको उनको भनाइ छ। ‘बैठकको एजेण्डाबारे छलफल, समन्वय नै भएन। कोरोनाको यत्रो जोखिम छ, बैठकको एजेण्डामा त्यो नै छैन। नगरपालिका आर्थिक संकटमा छ, आयस्रोत कसरी बढाउने भन्ने पनि ध्यान छैन,’ उनले भनिन्।

मेयर राईले पनि गणपुरक सदस्य नपुगेर बैठक स्थगित भएको तर एमालेका जनप्रतिनिधिहरुले बहिष्कार गरेको थाह नभएको बताए। उनले भने, ‘बैठकमा गणपुरक संख्या पुगेन र स्थगित भएको हो। एजेण्डा २, ३ दिनअघि नै सबैलाई दिइएको थियो। सबै कार्यपालिका सदस्यहरु किन नआउनु भएको थाह छैन।’ बैठकको एजेण्डामा स्थानीय तहको स्वमूल्यांकन प्रतिवेदन, रैथाने वाली प्रवर्द्धन, जरिवाना छुट र बजेट संशोधनको एजेण्डा समावेश थियो।

धरानमा मेयर, उपमेयर र २० वडाध्यक्षसहित ३० जना कार्यपालिका सदस्य छन्। ती मध्ये कांग्रेसबाट मेयर र ५ वडाध्यक्षसहित ६ जना कार्यपालिका सदस्य छन् भने एमालेबाट उपमेयरसहित २१ जना छन्।

नेकपा एकीकृत समाजवादीको एक जना र माओवादी केन्द्रको एक जना छन्। एमालेका एक जना कार्यपालिका सदस्यको निधन भएपछि रिक्त छ।

प्रकाशित: ७ माघ २०७८ १२:०५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App