१५ वैशाख २०८१ शनिबार
image/svg+xml
राजनीति

राष्ट्रियसभा निर्वाचनमा एमालेलाई सकस

राष्ट्रियसभा सदस्यको निर्वाचनमा एमाले र सत्ता गठबन्धन दलबीच कडा प्रतिस्पर्धा हुने भएको छ। माघ १२ गते हुने निर्वाचनमा सत्ता साझेदार पाँच दलले एमालेविरुद्ध गठबन्धन गरेकाले कडा प्रतिस्पर्धा हुने भएको हो।

सात महिला, तीन दलित, दुई अपांगता भएका तथा अल्पसंख्यक र सात अन्य क्लस्टर गरी १९ सिटका लागि हुने निर्वाचनमा एमाले एक्लै मैदानमा छ। गठबन्धनका तर्फबाट भने नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, एमालेबाट विभाजित भएर बनेको नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाले संयुक्त उम्मेदवारी दिएका छन्।

सत्ता गठबन्धन दलका कारण एमालेलाई आफ्नो पुरानो सिट सुरक्षित राख्न सकस हुने देखिएको छ। तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध बनेको गठबन्धन अहिले सत्तामा छ। सत्तासीन दलका नेताले राष्ट्रियसभा सदस्य निर्वाचनदेखि स्थानीय तह र संघीय निर्वाचनसम्म गठबन्धन कायमै रहने बताउँदै आएका छन्। यसैकारण राष्ट्रियसभा सदस्य निर्वाचनमा पनि उनीहरूले गठबन्धन गरेका हुन्।

राष्ट्रियसभाका २० सांसद चार वर्षे कार्यकाल पूरा गरी आगामी २० फागुनबाट बिदा हुँदैछन्। निर्वाचन आयोगले माघ १२ गते हुने निर्वाचनको आचारसंहिता जारी गरिसकेको छ। खाली हुन लागेका २० सिटमा १९ निर्वाचनबाट छानिने र एकजना राष्ट्रपतिबाट मनोनीत हुनेछन्।

सबैभन्दा ठूलो दल एमाले भदौमा विभाजित भएपछि प्रदेश र संघमा उसको सांसद संख्या घटेको छ। राष्ट्रियसभा सदस्य निर्वाचनमा दुई हजार २५ मतदाता छन्। प्रदेश सांसद र पालिकाका प्रमुख–उपप्रमुख/अध्यक्ष–उपाध्यक्ष मतदाता हुन्।  

प्रदेश सांसदको ४८ र पालिकाका प्रमुख–उपप्रमुख/अध्यक्ष–उपाध्यक्षको मतभार १८–१८ हुन्छ । प्रदेश १ बाहेक अन्य ६ वटामा सत्ता साझेदार गठबन्धन बलियो देखिएको छ। एमालेले प्रदेश १ मा नतिजा आफ्नो पक्षमा आउने झिनो आशा राखेको छ। 

प्रदेश १ मा जम्मा मतभार नौ हजार तीन सय १२ छ। निर्वाचन आयोगले प्रकाशित गरेको नामावलीअनुसार प्रदेश १ मा ९२ जना प्रदेशसभा सदस्य, पालिकाका अध्यक्ष–उपाध्यक्ष/प्रमुख–उपप्रमुख गरी २७२ जना मतदाता छन। ‘अहिलेको अवस्थामा पुरानो मतभार रहेकाले एमालेलाई केही घाटा हुन्छ नै तर यसले हामीलाई खासै असर गर्दैन, नयाँ जनादेशमा जाँदा परिणाम फरक हुनेछ’, एमाले प्रचार विभाग उपप्रमुख विष्णु रिजालले भने।

एमालेले प्रदेश १ मा खुलातर्फ झापाका देवराज घिमिरे र सुमित्रा भण्डारी तथा अल्पसंख्यकतर्फ सोलुखुम्बुका सोनाम गेल्जेन शेर्पालाई उम्मेदवार बनाएको छ। ‘अहिलेको अवस्था नियाल्ने हो भने प्रदेश १ मा एमालेले राष्ट्रियसभा सदस्यको निर्वाचनमा सफलता हासिल गर्न सक्छ’, रिजालले भने। अन्य प्रदेशमा भने एमालेले खासै आशा गरेको छैन। ‘एमालेसँग प्रतिस्पर्धा गर्नकै लागि राष्ट्रियसभा सदस्य निर्वाचनमा सत्तामा रहेका दलले गठबन्धन गरेका हुन्’, उपप्रमुख रिजालले भने।

एमालेका खाली हुने आठ सिटमा सत्तागठबन्धन दलले कांग्रेसलाई तीन, जनता समाजवादी पार्टीलाई दुई, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र राष्ट्रिय जनमोर्चालाई एक–एक सिट बाँडेर उम्मेदवारी दिएका छन्। प्रदेश १ मा गठबन्धन दलका तर्फबाट कांग्रेसले गोपालकुमार बस्नेत, नेकपा एकीकृत समाजवादीका तर्फबाट जयन्ती राईले उम्मेदवारी दिएका छन्। प्रदेश २ मा महिलातर्फ माओवादीकी उर्मिला अर्याल र एमालेकी विना साहले प्रतिस्पर्धा गर्दैछन्।

यस प्रदेशमा एमालेबाट खुलातर्फ धनुषाका असर्फी भिनवार यादव उम्मेदवार छन्। यहाँ एमालेको जसपाका उम्मेदवारसँग प्रतिस्पर्धा हुनेछ। वाग्मती प्रदेशमा खुलातर्फ गठबन्धनका तर्फबाट कांग्रेसका कृष्णप्रसाद पौडेल र नेकपा एकीकृत समाजवादीका तर्फबाट गोमा तिमल्सिना उम्मेदवार छन् । पौडेल र तिमल्सिनासँग एमालेबाट उम्मेदवार बनेका ललितपुरका गोपाल शाक्य र सिन्धुलीकी निरकुमारी कुँवर (निरु) दर्लामीले प्रतिस्पर्धा गर्नेछन्। दर्लामी नेकपा माओवादी केन्द्रबाट एमालेमा आएकी हुन्।

यसैगरी गण्डकीमा गठबन्धनका तर्फबाट कांग्रेसकी कमला पन्त र एमालेबाट उम्मेदवार बनेकी नवलपुरकी लीला पोखरेल थनेतबीच प्रतिस्पर्धा हुनेछ। गण्डकीमै एमालेले खुला पुरुषतर्फ कास्कीका पुण्यप्रसाद पौडेल र दलित कोटामा बाग्लुङका गोविन्दबहादुर नेपालीलाई उम्मेदवार बनाएको छ। गण्डकीमा गठबन्धनका तर्फबाट माओवादीले खुलामा सुरेश आलेमगर र दलित कोटामा भुवन सुनुवारलाई उम्मेदवार बनाएको छ।

लुम्बिनी प्रदेशमा गठबन्धनका तर्फबाट कांग्रेसका युवराज शर्मा र एमालेका रामदयाल गुप्ता उम्मेदवार छन्। लुम्बिनीमै गठबन्धनका तर्फबाट नेकपा एकीकृत समाजवादीकी राजेन्द्रलक्ष्मी गैरेसँग एमाले उम्मेदवार भारती खनालले प्रतिस्पर्धा गर्दैछिन्। लुम्बिनीमा दलित कोटामा एमालेले गुल्मीका कृष्णबहादुर सुनारलाई उम्मेदवार बनाएको छ।

त्यस्तै कर्णाली प्रदेशमा गठबन्धनबाट खुलातर्फ नेकपा एकीकृत समाजवादीका उदय बोहरा र एमालेका चूडामणि शर्मा तथा महिलातर्फ कांग्रेसकी दुर्गाकुमारी गुरुङ र एमालेकी गंगा थापा महतले उम्मेदवारी दिएका छन्। अल्पसंख्यक कोटामा गठबन्धनका तर्फबाट माओवादीका राजकुमार साहसी र एमालेका पदमबहादुर माझीबीच प्रतिस्पर्धा हुनेछ।

सुदूरपश्चिम प्रदेशमा गठबन्धनबाट कांग्रेसका नारायण मिश्र र एमालेका डिल्लीराज भट्ट तथा महिलातर्फ मदनकुमारी शाह (गरिमा) र एमालेकी सन्तोषकुमारी शर्माबीच प्रतिस्पर्धा हुनेछ। दलित कोटामा एमालेले बैतडीका नरेश विकलाई उम्मेदवार बनाएको छ।

सबै प्रदेशमा एमालेभन्दा गठबन्धन दलका उम्मेदवारहरू मतभारका हिसाबले बलिया देखिएका छन्। त्यसैले यसपटक राष्ट्रियसभामा एमालेलाई आफ्नो स्थान सुरक्षित गर्न अप्ठेरो हुने भएको हो। गठबन्धनमा आबद्ध नेकपा एकीकृत समाजवादी र माओवादी केन्द्रका नेताले गठबन्धन तीनै तहको आगामी निर्वाचनसम्म कायम रहने बताइरहेका छन्। कांग्रेसका केही नेताले भने गठबन्धनको भविष्य अनिश्चित रहेको बताउँदै आएका छन्।

प्रकाशित: २८ पुस २०७८ ००:३२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App