१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

‘राप्रपा र विवेकशील मिलाएर नयाँ पार्टी बनाऔं’

विवेकशील साझा पार्टीका अध्यक्ष रवीन्द्र मिश्रले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेन र महामन्त्री धवलशम्शेर राणासँग भेटेर दुवै पार्टी मिलाएर नयाँ पार्टी बनाउन प्रस्ताव गरेका छन्। शुक्रबार राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन र महामन्त्री धवलशमसेर राणासँगको भेटमा उनले पार्टी एकताको विषयमा छलफल गरेका थिए।

छलफलका क्रममा विवेकशील साझा पार्टीका अध्यक्ष मिश्रले दुवै पार्टी मिलाएर अघि बढ्न प्रस्ताव गरेको राप्रपा महामन्त्री राणाले बताए। ‘सकभर एकीकरण गरौं, नभए दुवै पार्टी मिलाएर नयाँ पार्टी बनाऔं भन्ने उहाँको प्रस्ताव थियो,’ उनले भने, ‘समान विचार भएका पार्टीसँग एकता गर्ने हाम्रो पार्टीको नीति नै छ।

विवेकशील साझासँग एकीकरणका विषयमा पनि छलफल भयो।’ राप्रपाले विचार मिल्ने पार्टीहरूसँग एकीकरण गर्न महामन्त्री राणाको नेतृत्वमा समिति बनाएको थियो। सो समितिले विभिन्न पार्टीसँग छलफल चलाइरहेको छ।

संवैधानिक राजतन्त्रको वकलात गर्दै आएको राप्रपाले हिन्दूराष्ट्र घोषणा र संघीयता खारेज हुनुपर्ने माग राख्दै आएको छ। विवेकशील साझाका अध्यक्ष मिश्र धर्मनिरपेक्षका विषयमा जनमत संग्रह र संघीयता खारेज हुनुपर्ने पक्षमा पेश गरेको ‘मार्ग परिवर्तनः विचारभन्दा माथि देश’ शीर्षकको दस्तावेजलाई केन्द्रीय समितिले पारित गरिसकेको छ। सो दस्तावेज पारित भएसँगै विरोधमा उत्रिएका विवेकशील साझाका संयोजक मिलन पाण्डेलाई कारबाही गरिएको थियो।

राप्रपा अध्यक्ष लिङदेन र महामन्त्री राणासँगको भेटपछि विवेकशील साझाका अध्यक्ष मिश्रले सामाजिक सञ्चालमार्फत् आशाजनक संवाद भएको जानकारी गराएका थिए। ‘राप्रपाका नवनिर्वाचित अध्यक्ष राजेन्द्र लिङदेन तथा महामन्त्री धवलशम्शेर राणासँग राजनीति, समाज र यो देशको भविष्यबारे चिन्तापूर्ण तर आशाजनक संवाद भयो,’ उनले लेखेका थिए।

उनले विवेकशील साझा राप्रपामा प्रवेश गर्न वा राप्रपा विवेकशील साझामा आउन नसकेपनि दुबैको सहमतिमा विकल्पसहितको नयाँ शक्ति सिर्जना गर्न सकिने विषयमा छलफल भएको जानकारी दिएका थिए।

प्रकाशित: १७ पुस २०७८ ०६:५५ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App