४ पुस २०८१ बिहीबार
image/svg+xml
राजनीति

विवाद समाधान गर्न बनेको समितिद्वारा एमाले अधिवेशनको टुंगो

नेकपा एमाले सुनसरीमा पार्टी अध्यक्ष केपी शर्मा ओली पक्षधर र दस बुँदे सहमतिका पक्षधरबीच सुनसरीमा लामो समय विवाद चर्केर समाधान गर्न गठन गरिएको समितिले पुस २३ गते जिल्ला अधिवेशन गर्ने भएको छ।

एमालेको सातौँ जिल्ला अधिवेशन पुस २३ गते सुरु भएर दुई दिनसम्म चल्ने बिहीबार इटहरीमा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो। ओली पक्षधर र दस बुँदे सहमतिका पक्षधरबीच लामो समय विवाद चर्केर उत्कर्षमा पुगेपछि कात्तिक २४ गते विवाद समाधान गर्न नेता खेमराज पोखरेल संयोजक रहेको महाधिवेशन आयोजक समिति गठन गरिएको थियो। सदरमुकाम इनरुवा स्थित जेल फिल्ड (खेलमैदान) मा हुने अधिवेशनमा २ हजार प्रतिनिधि सहभागी हुने पत्रकार सम्मेलनमा जानकारी दिइयो।

अधिवेशनमा जिल्ला कमिटीको आगामी कार्यकालका लागि नेतृत्व निर्माण र राजनीतिक एवम् सांगठानिक अवस्थाको विचार, विमर्श र विश्लेषण गर्ने संयोजक पोखरेलले बताए। अधिवेशनले अध्यक्ष, उपाध्यक्ष, सचिव र उप सचिवसहित १३५ सदस्य जिल्ला कमिटीको चयन गर्नेछ। अधिवेशन गर्न २० लाख खर्च हुने अनुमान एमालेले गरेको छ। एमालेले जिल्ला अधिवेशनको लोगो पनि सार्वजनिक गरेको छ। लोगोमा कोशीटप्पु वन्यजन्तु आरक्षमा संरक्षित अर्ना प्रयोग गरिएको छ।  

सुनसरी एमालेमा २०७६ पुस ५ गते पार्टी अध्यक्ष केपी शर्मा ओलीले सांसद विघटन गरेर भएको विकसित राजनीतिक घटनाक्रमपछि ओली पक्षबाट रेवतीरमण भण्डारीलाई अध्यक्ष बनाएर गतिविधि सञ्चालन गरिँदै आएको थियो। अर्को समूहको नेतृत्व भने रमेश बस्नेतले गरेका थिए। जसले गर्दा बस्नेत र भण्डारी कुन समूह आधिकारिक भन्नेमा विवाद रहँदै आएको थियो।

विवाद समाधान गर्न पोखरेल नेतृत्वमा गठन गरेको समितिप्रति शुरुवातमा बस्नेत नेतृत्व समूह असन्तुष्ट भएपनि पछिल्लो समय केही नरम देखिएको छ।

प्रकाशित: १५ पुस २०७८ १३:०२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App