राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेलले मुलुकमा प्रतिगमनको खतरा कायम रहेकाले पाँच दलिय गठबन्धनलाई निरन्तरता दिनुपर्ने बताएकी छन्।
आइतवार नेकपा (माओवादी केन्द्र) को आठौँ राष्ट्रिय महाधिवेशनको उद्घाटन समारोहमा सम्बोधन गर्दै उपाध्यक्ष पौडेलले दुई पटक विघटन भएको प्रतिनिधि सभा अहिले पनि अवरुद्धको अवस्थामा रहेको भन्दै प्रतिगमनको खतरालाई सानो ठान्नु नहुने बताईन्।
उनले विगतमा प्रतिगमनका विरुद्धमा लडेका राजनीतिक दलहरु एक हुनुपर्ने आजको राष्ट्रिय आवश्यकता भएको उल्लेख गरिन्। उनले प्रतिगमन विरोधी शक्तिहरु एकजुट भएर अगाडी जान नसकेमा देश फेरी प्रतिगमनतर्फ जाने र राजनीतिक दलहरुको भुल हुने बताईन्। प्राप्त भएको राजनीतिक उपलब्धीलाई संरक्षण गर्नु दायित्व भएको उनको भनाई छ।
उनले राष्ट्रियताको सम्बन्धमा सबै राजनीतिक दलहरु एक भएर जानुपर्ने बताईन्। उपाध्यक्ष पौडेलले माओवादी केन्द्रले गठबन्धन कायम राख्ने सम्बन्धमा पनि महाधिवेशनबाट निर्णय लिनुपर्ने बताईन्। उनले महाधिवेशनले एमसीसीलाई खारेज गर्न महाधिवेशनले निर्णय लिने पनि विश्वास व्यक्त गरिन्।
प्रकाशित: ११ पुस २०७८ ११:३४ आइतबार