१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

प्रदेश २ नामांकन सकसः प्रदेशसभामा तीन नाम प्रस्ताव

लोकतान्त्रिक समाजवादी पार्टीले वार्ता टोली नै गठन गरी प्रदेश २ को नाम ‘मधेस प्रदेश’ प्रदेशसभा सदस्यलाई एकमत बनाउने प्रयास थालनी गरे पनि सम्भव हुन सकेन। बिहीबार प्रदेशसभाको आठौं अधिवेशनको दोस्रो बैठकमा मधेस प्रदेशबाहेक तीन नाम प्रस्ताव गरिएको छ ।

‘मधेस प्रदेश’को प्रस्तावमा जनता समाजवादी पार्टी (जसपा), नेकपा माओवादी केन्द्र र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)एकमत छन्। बिहीबारको प्रदेशसभा बैठकमा जसपाका नेता शैलेन्द्रकुमार यादव, नेकपा माओवादी केन्द्रका सांसद भरत साहले ‘मधेस प्रदेश’ नाम प्रस्ताव गरेका छन्।

विपक्षी दल लोसपाका सांसद रानीकुमारी तिवारीले मधेस प्रदेशको प्रस्तावलाई समर्थन जनाइन्। प्रदेशसभामा जसपाका सांसद शैलेन्द्रकुमार यादवले यस प्रदेशका जनताको पहिचान मधेस नै भएकाले प्रदेशको नाम मधेस राख्नुपर्ने बताए।

आन्तरिक मामिला तथा सञ्चारमन्त्रीसमेत रहेका माओवादीका सांसद साहले मधेस प्रदेश बनाउन सफल भए खस अहंकारले ग्रसितका लागि सवक हुने बताए। लोसपा सांसद रानी तिवारीले प्रदेशको नाम मधेस नामकरण भए सहिदको सपना साकार हुने तर्क राखेकी थिइन्।

नेपाली कांग्रेसका सांसद शिवचन्द्र चौधरी प्रदेशको नाम ‘मिथिला भोजपुरा’ प्रस्ताव गरे। मधेसभन्दा मिथिला भोजपुराको इतिहास त्रेतायुगदेखिको रहेकोले इतिहासलाई जगेर्ना गर्नुपर्ने उनको तर्क थियो। पारि भारतमा वारिकै जस्तो संस्कृति भए पनि उनीहरू मधेसी नकहलिने तर यहाँ बलजफ्ती रूपमा मधेसको कोट लगाइदिन खोजिएको उनको जिकिर थियो। छलफल गरेर सबैको भावना समेटिने गरी प्रदेशको नाम छनोट गर्नुपर्ने उनको भनाइ छ।

कांग्रेसकै अर्का सांसद राजेश्वरप्रसाद साहले प्रदेशको नाम ‘मध्य मधेस’ प्रस्ताव गरे। पौराणिक, राजनीतिक, सामाजिक, भौगोलिक दृष्टिकोणबाट हेर्दा मध्यमधेस प्रदेश राख्नु उपयुक्त रहेको उनको तर्क छ। मधेस आन्दोलन हुँदा ‘समग्र मधेस, एक प्रदेश’को आवाज आउँथ्यो। मधेस आठ जिल्ला मात्रै होइन। मधेस २२ जिल्ला हो। मेचीदेखि महाकालीसम्मको बीच अर्थात् मध्यमा यो प्रदेश भएकाले सबैको मान सम्मान हुने गरी मध्य मधेस राख्नुपर्ने उनको धारणा छ।

नेकपा एकीकृत समाजवादी पार्टीका सांसद प्रमोदकुमार यादवले प्रदेशको नाम ‘जानकी’ प्रस्ताव गरेका छन्। प्रदेशसभामा ७ जना सांसद रहेको नकेपा एमालेका एकजना सांसद पनि बिहीबारको प्रदेशसभामा उपस्थित नभएकाले सो दलबाट प्रदेशको नाम प्रस्ताव भएन।

सभामुख सरोज यादवले शारदा थापाले नामकरण सम्बन्धमा पेस गर्ने भनिएको प्रस्ताव कार्यसूचीबाट हटाइएको जानकारी दिए। प्रदेशसभाको बिहीबारको बैठकमा प्रदेशको स्थायी राजधानीको विषयमा पनि छलफल भएको छ। छलफलमा भाग लिने अधिकांश सांसद जनकपुरधामलाई राजधानी बनाउनुपर्नेमा एकमत छन्।

प्रदेश २ को प्रदेशसभामा एक सय ४ जना सदस्य छन्। प्रदेशसभामा जनता समाजवादी पार्टीका ३९, लोकतान्त्रिक समाजवादी पार्टीका १६, माओवादी केन्द्रका ८ सांसद छन्। प्रदेशसभाबाट नाम पारित हुन प्रदेशसभाको दुईतिहाइ अर्थात ६९ सांसदको समर्थन आवश्यक पर्छ।

जसपा, लोसपा र माओवादी केन्द्रको समर्थनले मात्र प्रदेशसभाबाट मधेस नाम पारित हुने सम्भावना देखिन्न। यसयघि नामकरण र स्थायी राजधानी तोक्ने प्रस्ताव प्रदेशसभामा दुईतिहाइ नपुग्दा असफल भइसकेको छ।

प्रकाशित: ९ पुस २०७८ ०६:५७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App