नेपाली काँग्रेसका नवनिर्वाचित उपसभापति धनराज गुरुङले प्रधानमन्त्री तथा पार्टी सभापति शेरबहादुर देउवाको दोस्रो इनिङ सुरु भएको बताएका छन्। शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रममा उपसभापति गुरुङले पार्टीमा सभापति देउवाको दोस्रो इनिङ शुरु भएको बताएका हुन्। उनले सभापति देउवाले दोस्रो इनिङमा सेन्चुरी हान्न नसकेपनि अर्धशतक हान्ने दाबी गरे। उपसभापति गुरुङले पार्टीलाई विधिसम्मत बनाउने ठाउँमा आफू पुगेको भन्दै अब पार्टी विधि र पद्धतिअनुसार चल्ने बताए। उनले यो अग्निपरीक्षा भएकोले यसमा खरो उत्रिनु आफ्नो कर्तव्य भएको पनि बताए।
उपसभापति गुरुङले भने, ‘क्रिकेट कहिलेकाहीँ म पनि हेर्छु, यहाँहरुले पनि हेर्नुहोला? क्रिकेट म्याचमा टेस्ट म्याच भन्ने हुन्छ एउटा, त्यसमा एउटै ब्याट्सम्यानले दुईपल्ट ब्याटिङ गर्नुपर्छ। पहिलो इनिङ्स, दोस्रो इनिङ्स। भलै श्रद्धेय नेता शेरबहादुर देउवाको पहिलो इनिङ्स राम्रो भएन होला। क्रिकेटमा पहिलो इनिङ्समा नकआउट हुने ब्याट्सम्यानले पनि दोस्रो इनिङ्समा सेञ्चुरी हानिरहेको हुन्छ। हो, त्यस्तै गरेर हाम्रो शेरबहादुर देउवाज्यूको पहिलो इनिङ्स त्यति राम्रो हुन नसकेपनि दोस्रो इनिङ्स सुरु भयो। यसमा हामी पनि छौँ नि ब्याट्सम्यान। तर हामी आशा गरौँ, हाम्रो प्रिय, श्रद्धेय सभापति सेञ्चुरी नहाने पनि हाफ सेञ्चुरी पक्कै हान्नुहुनेछ। त्यो ठाउँमा हामी पुर्याउँछौँ। विधि बमोजिम चल्ने पार्टी बनाउँछौँ। विधान बमोजिम चल्ने पार्टी बनाउँछौँ। हामी अग्निपरीक्षामा छौँ। रुपान्तरित भनेको विधि, पद्धतिबाट चल्ने पार्टी हामी बनाउँछौँ।’
नव–निर्वाचित उपसभापति गुरुङले महाधिवेशनमा आफूहरुले ४० प्रतिशत मत प्राप्त गरेको भए पनि ६०–४० जसरी पहिलेको झैँ भाग खोज्न नजाने बताए। उनले भागबण्डा खोज्दा पार्टीको स्तर गुमेको अनुभवबाट अब पार्टीलाई भागबण्डारहीत बनाइ पुरातन र परम्परावादी सोच नराख्ने स्पष्ट पारे।
प्रकाशित: २ पुस २०७८ १३:१३ शुक्रबार