नेपाली कांग्रेसको १४औं महाधिवेशनअन्तर्गत नयाँ नेतृत्वका लागि भएको निर्वाचनबाट सभापतिको कुनै पनि उम्मेदवारले आवश्यक मत प्राप्त गर्न असफल भएका छन्। मध्यरातमा सम्पन्न निर्वाचनलगत्तै भएको मतगणनामा सभापतिका पाँचमध्ये कुनै पनि उम्मेदवारले विधानको व्यवस्थाअनुसार ५० प्रतिशतभन्दा बढी मत प्राप्त गर्न असफल भएका हुन्।
सोमबार राति ११ बजे मतदान सकिएको थियो। जम्मा ४ हजार ६ सय ७९ मत खस्दा ६४ जना भने अनुपस्थित रहे। बिहानदेखि थालिएको मतगणनाको परिणामअनुसार ४६८१ मतसंख्या रहेकाे थियाे भने शेरबहादुर देउवाले २२५८ डा.शेखर कोइराला १७२९ विमिलेन्द्र निधि २४९, प्रकाशमानसिंह ३७१ कल्याण गुरुङले २० मत प्राप्त गरेका छन्।
सभापतिमा प्रत्यासी वर्तमान सभापतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवाले विधानको व्यवस्था गरेअनुसारको मत पाउन असफल भएका छन्। अब सभापतिका अर्का उम्मेदवार शेखर कोइरालले दोस्रो मत पाएका छन्। विमलेन्द्र निधि, प्रकाशमान सिंह र कल्याण गुरुङले क्रमशः तेस्रो, चौथो र पाँचौ बनेका छन्। धेरै मत प्राप्त गर्ने देउवा र शेखरबीच मंगलबार फेरि निर्वाचन हुने भएको छ। दुईमध्ये जसले धेरै मत प्राप्त गर्छन्, उनैले कांग्रेसको चार वर्षका लागि पार्टीको मूल नेतृत्व सम्हाल्नेछन्। धेरै जना उम्मेदवार हुँदा मत धेरैतिर बाँडिदा कुनै पनि प्रत्यासी विजयी हुन नसकेका हुन्।
दोस्रो चरणमा हुने मतदानमा प्रतिस्पर्धाबाट बाहिरिएका सिंह, निधिको भूमिका महत्त्वपूर्ण रहनेछ। निधिको समर्थन शेखरलाई हुनेछ तर सिंहले भने शेखरलाई साथ दिने सम्भावना कमजोर रहेको निकटहरू बताउँछन्।
उमेरले शेखर ‘सिनियर’ भए पनि राजनीतिमा ‘जुनियर’ रहेको भन्दै सिंहले आफूलाई आफ्नो विचार समूहबाट अन्याय भएको बताउँदै आएका छन्। महाधिवेशनको प्रतिस्पर्धाले उनीहरूमा बढाएको तिक्तताले सिंहको रोजाइ शेखरभन्दा देउवा नै हुने विश्लेषण गरिएको छ। देउवालाई विगतदेखि नै नेता मान्दै आएको र १३औं महाधिवेशनबाट पनि सभापतिमा चुनिएकाले नेतृत्व स्वीकार गर्न सहज हुने सिंहको बुझाइ छ। त्यसका साथै निवर्तमान उपसभापति विमलेन्द्र निधिलाई बढी च्यापेको भन्दै सिंहले १२औं महाधिवेशनमा देउवाको साथ छाडेका हुन्। उनी त्यतिबेला सुशील कोइराला समूहबाट महामन्त्रीको प्रत्यासी बन्दै निर्वाचित भएका थिए। अहिले निधि देउवा समूहबाट बाहिरिएका छन्। तर, अहिले फेरि देउवासँग सिटौला जोडिएका छन्। सिटौला र निधिबीचको सम्बन्ध सुमधुर भने छैन।
निर्वाचनको परिणाम आफ्नो पक्षमा पार्न शेखरलाई सिंह र निधि दुवैको समर्थन चाहिन्छ। देउवाका लागि एउटाको समर्थनले पनि परिणाम आफ्नो पक्षमा पर्न सहज हुने आकलन गरिएको छ। तर, सिंह र निधि दुबैले पाएको मत देउवा वा शेखरको पक्षमा उनीहरु खुल्दैमा ती मत सबै ट्रान्सफर हुने सम्भावना पनि कम छ। दोस्रो चरणमा जाँदा महाधिवेशन प्रतिनिधिहरू नेतृत्व चयनमा स्वतन्त्र हुने नेताहरुको बुझाइ छ।
तर पनि सम्भव भएन
नेपाली कांग्रेसको १४औं महाधिवेशनअन्तर्गत नयाँ नेतृत्वका लागि भएको मतदान सोमबार राति अबेर सकिएको थियो। विभिन्न २९ प्रकारका मतपत्र छपाइमा ढिला हुँदा पौने चार घन्टा ढिला गरी सोमबार बिहान ११ः४५ बजे मात्र मतदान सुरु भएको थियो। पूर्वमहामन्त्री कुलबहादुर गुरुङले आगामी चार वर्षका लागि पार्टीको नयाँ नेतृत्व छनोटका लागि भएको निर्वाचनमा पहिलो मत दिए।
सभापतिसहित १३ पदाधिकारी र १ सय २१ केन्द्रीय सदस्यका लागि ४ सय ९० जना प्रतिस्पर्धामा छन्। प्रदेश २ बाट आनन्दप्रसाद ढुंगाना र रमेश रिजाल र्निविरोध निर्वाचित भएकाले सोमबार १ सय ३२ पदका लागि निर्वाचन भएको छ। मतपत्र छाप्न ढिलाइ हुँदा, पटकपटक मतदान रोकिँदा रातिसम्म कांग्रेस महाधिवेशन प्रतिनिधि मतदान गर्न लाइनमा बस्नुपरेको थियो।
सोमबार राति सम्पन्न निर्वाचनमा सभापतिको प्रतिस्पर्धामा शेरबहादुर देउवा, शेखर कोइराला, विमलेन्द्र निधि, प्रकाशमान सिंह र कल्याण गुरुङ छन्। सभापतिका पाँच उम्मेदवारमध्ये प्रधानमन्त्रीसमेत रहेका देउवा बलिया त देखिए तर निर्वाचित नै हुन सकेनन् । देउवाले पहिलो चरणमै विधानको व्यवस्थाअनुसार आवश्यक मत ल्याउने आकलन गरिएको थियो। कांग्रेस सभापतिमा निर्वाचित हुन धेरै भोट ल्याएर मात्र पुग्दैन। दुईभन्दा बढी उम्मेदवार हुँदा कुनै पनि सभापतिको उम्मेदवारले ५० प्रतिशतभन्दा बढी मत ल्याउनुपर्ने हुन्छ। कुल ४ हजार ७ सय ४३ मतमध्ये सभापतिमा निर्वाचित हुन कम्तीमा २ हजार ३ सय ७२ मत ल्याउनुपर्ने हुन्छ।
१३औं महाधिवेशनमा दोस्रो चरणमा भएको निर्वाचनबाट मात्र देउवा सभापतिमा निर्वाचित भएका थिए। तर, दोस्रो कार्यकालका लागि प्रतिस्पर्धामा उत्रिएका देउवाका लागि उनका समकक्षी एवं नेता रामचन्द्र पौडेल नेतृत्वको प्रतिस्पर्धाबाट बाहिरिँदा सभापतिमा पुग्न सहज हुने देखिएको छ। देउवाइतर समूहबाट साझा उम्मेदवार बनाउने प्रयास असफल भएपछि पार्टीको चार वर्षका लागि भएको निर्वाचनमा पनि पौडेल सहभागी भएनन्। देउवाइतर समूहबाट सभापतिको प्रत्यासी बनेका शेखर कोइराला र प्रकाशमान सिंह दुवैका पक्षमा पौडेल खुलेनन्। त्यसको लाभ पनि देउवालाई नै पुगेको थियो।
कोइराला परिवारको लिगेसीसहित शेखर सभापतिको प्रत्यासी बनेको बताइए पनि निवर्तमान महामन्त्री एवं विपी पुत्र शशांक कोइराला पनि खुलेनन्। सभापतिको आकांक्षी शशांक देउवाको विकल्प दिन पौडेललाई इतर समूहबाट साझा उम्मेदवार बनाउनुपर्ने पक्षमा देखिएका थिए। तर, सिंह र शेखर दुवै आफ्नो अडानबाट पछि नहटेपछि शशांकले दाजु शेखरका पक्षमा पनि खुलेनन्। बरु, दुवै गुटले आफूलाई माया गरेर केन्द्रीय समितिको सूचीमा नाम राखेको प्रतिक्रियामा सीमित बने। आफ्नै समूहका नेताहरूप्रति असन्तुष्ट रहेका नेता पौडेललाई देउवाले उनकै निवासमा पुगेर भेटेर मन जित्ने प्रयास गरे। उनले शशांकलाई पनि सरकारी निवास बालुवाटारमा बोलाएर भेटे। पौडेल र शशांक सभापतिको कुनै पनि उम्मेदवारको पक्षमा नखुल्दा त्यसको लाभ देउवालाई नै पुगेको थियो।
दुई नेता खुलेर शेखर वा सिंहको पक्षमा नखुले पनि उनीहरूले संस्थापन इतरका अन्य नेताहरूलाई टिममा मात्र होइन, निर्वाचनमा पनि समेटेर अघि बढ्न सकेका थिएनन्। पार्टीका प्रभावशाली नेताहरू रामशरण महत, अर्जुननरसिंह केसी, बलबहादुर केसीसहितका नेता शेखर वा सिंहको प्यानलमा अटाउन सकेनन्। त्यति मात्र होइन, उनीहरू पनि शेखर र सिंहको पक्षमा खुलेनन्। अर्का नेता महेश आचार्य दुवै उम्मेदवारसँग नजोडिईकन उपसभापतिको उम्मेदवार बने। त्यसो हुँदा शेखरको समूहबाट उपसभापतिमा चन्द्रकान्त भण्डारी र धनराज गुरुङ उम्मेदवार बने। गिरिजाप्रसाद कोइराला पुत्री सुजाता सिंहको समूहबाट उपसभापतिको प्रतिस्पर्धामा उत्रिइन्।
सिंहले अर्को उपसभापतिमा कसैलाई पनि जोड्न सकेनन् भने महामन्त्रीमा युवा नेता विश्वप्रकाश शर्मा मैदानमा खडा भए। तर, सिंहले अर्को महामन्त्रीको पनि उम्मेदवार दिएनन्। शेखरले मीनेन्द्र रिजाल र गगन थापालाई महामन्त्रीमा अघि सारे। रिजाल र थापा शेखरको सहारा त बन्यो तर उपसभापतिमा बलियो उम्मेदवार नभएको निकटहरूको बुझाइ छ। सिंहले एक उपसभापति र महामन्त्रीमा बलियो उम्मेदवार दिए तर प्यानल बनाउन असफल भए। दुवै नेताले एकले अर्कालाई रोक्ने इगोको लाभ देउवालाई पुग्ने विश्लेषण गरिएको थियो।
देउवा विपीदेखि सुशील कोइरालासम्म सँगै काम मात्र गरेका होइनन्, उनी सत्ताका माहिर खेलाडी पनि हुन्। पाँचौंपटक मुलुकको कार्यकारी प्रमुखको जिम्मेवारीमा रहेका देउवाका लागि पार्टी नेतृत्वमा पुग्न त्यो पनि सहारा बन्ने देखिएको थियो। निकट भविष्यमा हुने तीन तहको निर्वाचनमा टिकट वितरणदेखि सरकारले गर्ने विभिन्न नियुक्तिको आश्वासनले पनि केही मतदातालाई आफ्नो पक्षमा उभ्याउन देउवाका लागि सहज आकलन गरिएको थियो । त्यसका साथै १३औं महाधिवेशनबाट तेस्रो धारका रूपमा उदाएको कृष्णप्रसाद सिटौला समूहले पनि उनै देउवालाई सहयोग गरेको थियो। पछिल्लो चार वर्षमा विभिन्न पार्टी छाडेर कांग्रेस प्रवेश गरेका विजयकुमार गच्छदार, सुनिल थापासहितको समर्थन देउवालाई नै छ।
देउवानिकट उपसभापति विमलेन्द्र निधिले विद्रोह गर्दै सभापतिमा उम्मेदवारी दिएका छन्। तर, अन्य पार्टीबाट आएकाको समर्थन र सहयोगले त्यसको क्षतिपूर्व हुने उनीहरूको बुझाइ छ। महेन्द्रनारायण निधिका छोरा विमलेन्द्रले देउवालाई चुनौती दिँदै सभापतिको प्रतिस्पर्धामा त उत्रिए तर उपसभापति र महामन्त्रीमा एकएक जनालाई मात्र मैदानमा खडा गरे। त्यो पनि बलियो उम्मेदवार दिन नसक्दा देउवाले निधिबाट धेरै ‘थ्रेट’ महसुस गरेका थिएनन्।
उपसभापतिमा निर्वतमान महामन्त्री पूर्णबहादुर खड्का र उपसभापति गच्छदारलाई फेरि मैदान उतारेका छन्। कर्णालीका खड्का र प्रदेश १ का गच्छदार शेखर समूहबाट उपसभापति बनेकाभन्दा बलिया र प्रभावशाली नेता हुन्। त्यसले पनि देउवालाई परिणाम आफ्नो पक्षमा पार्न बल पुग्ने देखिन्छ। महामन्त्री सिटौलासँग जोडिएका प्रदीप पौडेल र प्रकाशशरण महतलाई अघि बढाएका छन्। पौडेललाई महामन्त्रीमा अघि बढाउँदा सिटौला समूहसँग रहेको भोट देउवासँग जोडिएका थिए। पौडेललाई महामन्त्रीमा अघि बढाउँदा देउवानिकटका अन्य आकांक्षीहरूमा केही असन्तुष्टि देखिएको छ। महामन्त्रीका आकांक्षी बालकृष्ण खाँण, ज्ञानेन्द्रबहादुर कार्की र एनपी साउद थिए। गृहमन्त्रीसमेत रहेका खाँणले महामन्त्रीको उम्मेदवार हुन नपाएकोमा आफू दुःखी नभएको बताएका थिए।
प्रकाशित: २८ मंसिर २०७८ ०३:२८ मंगलबार