१२ असार २०८१ बुधबार
image/svg+xml
राजनीति

प्रदेश १ माओवादी अधिवेशनः पदाधिकारी टुंगो लगाउन सकस

नेकपा (माओवादी केन्द्र) प्रदेश १ को अधिवेशनले प्रदेश समितिमा पदाधिकारी टुंगो लगाउन सकेको छैन। मंसिर २५ गतेदेखि सुरू भएको अधिवेशनमा प्रदेशका सदस्यहरू र राष्ट्रिय सम्मेलनमा प्रतिनिधिहरू चयन गरेपनि पदाधिकारीमा धेरै जना आकांक्षी देखिएपछि टुंगो लाग्न नसकेको हो।

माओवादी प्रदेश १ को प्रथम अधिवेशन मोरङको विराटचोकमा आयोजना गरिएको थियो। अधिवेशनले पदाधिकारी टुंगो लगाउन नसकेपछि सदस्य र राष्ट्रिय अधिवेशन प्रतिनिधिमात्रै टुंगो लगाएको छ। पदाधिकारी विराटनगरमै टुंगो लगाउने तयारी गरिएको नेकपा (माओवादी केन्द्र)का नेता कुलप्रसाद साम्बाले जानकारी दिए। उनका अनुसार अधिवेशनले २ सय ५९ जना प्रदेश समिति सदस्य र ९६ जना राष्ट्रिय सम्मेलन प्रतिनिधि चयन गरेको छ।

प्रदेशमा सदस्य बाहेक ९ जना पदाधिकारी हुने व्यवस्था भए पनि पदाधिकारी टुंगो लाग्न नसकेको साम्वाले बताए। प्रदेश १ को पदाधिकारीमा आकाँक्षी धेरै भएर सहमति नभएपछि निर्वाचन प्रक्रिया सुरू गर्ने तयारी भए पनि केन्द्रीय समितिले हस्तक्षेप गरी सहमतिका आधारमा पदाधिकारी चयन गर्न निर्देशन दिएपछि प्रदेश १ मा सोमबार विहान ८ बजेदेखि मतदान गरेर पदाधिकारी छनोट गर्ने कार्यतालिका प्रभावित भएको थियो।

प्रदेश निर्वाचन समितिले आइतबार पदाधिकारी निर्वाचनको कार्यतालिका सार्वजनिक गरेको थियो। प्रदेश अध्यक्षका लागि सुरेशकुमार राई (हिमाल), इन्द्रबहादुर आङ्बो, हेमराज भण्डारी र सुदन किराँतीले दाबी गर्दै आएका थिए।

प्रकाशित: २७ मंसिर २०७८ १३:३० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App