१५ वैशाख २०८१ शनिबार
image/svg+xml
राजनीति

प्रदेश १ को नाम पहिचानको आधारमा राख्न गाह्रो : मुख्यमन्त्री राई

प्रदेश नं १ का मुख्यमन्त्री राजेन्द्र राईले प्रदेशको नामाकरण पहिचानको आधारमा राख्न आफू तयार भएपनि प्रदेशसभामा पहिचान पक्षधरहरुको संख्या कम भएकोले पारित हुन नसक्ने बताएका छन्। किरात राई यायोक्खा सुनसरीको ९ औं जिल्ला अधिवेशन उद्घाटन समारोहलाई सम्बोधन गर्दै मुख्यमन्त्री राईले प्रदेशसभामा पहिलो पार्टी एमाले र दोस्रो पार्टी कांग्रेस पहिचानको विपक्षमा भएकोले पहिचान पक्षधरहरुको उपस्थिति कमजोर भएको बताए।

उनले प्रदेशको नाम पहिचानको आधारमा राख्ने भनेर प्रस्ताव सांसदहरुले लैजान सक्ने भएपनि पारित हुने आधार भने संख्यात्मकरुपमा कमजोर भएको बताए। यद्यपि उनले आफू एक्लै भए पनि संसदमा पहिचानको पक्षमा उभिने प्रतिवद्धता जनाए। ‘कांग्रेस र एमाले दुवै पार्टी पहिचानको पक्षमा नभएकोले दुई तिहाई पुर्याएर पास गर्न सजिलो छैन, निक्कै मेहनत गर्नुपर्ने हुन्छ। म गठबन्धनमा रहेकोले कांग्रेससँग कुरा गर्छु, एमालेसँग पनि कुरा गर्छु,’ मुख्यमन्त्री राईले भने।

यायोक्खाले प्रदेश १ को नाम किरात प्रदेश राख्नुपर्ने माग गरिरहेको छ। मुख्यमन्त्री राईले उक्त मागप्रति सकरात्मक धारणा व्यक्त गर्दै प्रदेश नं १ को भूमिमा किरातीहरुको हकदाबी लाग्ने पनि बताए।

भाषा, संस्कृति, जातिको उपस्थितिलाई लिएर नाम राख्ने चलन रहेको उदाहरण दिँदै उनले कोशी किनारमा सभ्यताको शुरुवात गर्ने सबैभन्दा पहिला बसोबास गर्ने भएकोले पनि किरातीहरुको प्रदेशमा हक लाग्ने जिकिर गरे।

मुख्यमन्त्री राईले मानव सभ्यताहरु नदी किनारबाट नै शुरुवात भएको तर नदीले नभै मानिसहरुले नै सभ्यताको शुरुवात गराएको बताए। प्रदेशको नाम कोशी नदीको नामबाट हुनुपर्ने मागप्रति उनले कोशी सभ्यता भए पनि उक्त सभ्यताको शुरुवात त्यहाँ बसोबास गर्ने मानिसहरुबाट भएको बताए।

कार्यक्रममा मुख्यमन्त्री राईसहित विभिन्न क्षेत्रमा योगदान पुुर्याएका ५ जनालाई सम्मान पनि गरिएको थियो। मुख्यमन्त्री राईलाई किराती संस्कार अनुसार फेटा गुथेर र सम्मान पत्र प्रदान गरिएको थियो।

यस्तै, उद्योग, पर्यटन वन तथा वातावरण मन्त्रालयका सचिव सञ्जिव राई, नेपाल टेलिभिजिनका इटहरी शाखा प्रमुख पुष्पहरि क्याम्पा राई, नेपाल पत्रकार महासंघ सुनसरीका अध्यक्ष जनकऋषि राई र यायोक्खालाई सहयोग गर्ने धुर्पीमाया राईलाई पनि सम्मान गरिएको थियो।

यायोक्खा जिल्ला अध्यक्ष वलराम राई र विशिष्ट अतिथि एवं केन्द्रीय सचिव दोर्पध्वज राईले सम्मान पत्र प्रदान गरेका थिए।

प्रकाशित: २४ मंसिर २०७८ १३:३५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App